२०८१ माघ ९, बुधवार , ०९:०२:०६ बजे

Sajhamanch
'

लोक धून बचाइरहेका गन्धर्बहरुलाई जीवन चलाउनै कठिन

बुधवार, पौष १७, २०८१
  • द्रोण अधिकारी

भद्रपुर । कला छ, गला छ तर जीवन चलाउन निकै मुस्किल परिस्थितिको सामना गरिरहनु पर्ने बाध्यता पहाड भएर सधैं खडा छ । पूर्वी दक्षिणी झापाको कचनकवलका गन्धर्बहरू पूर्वका गाउँ, बस्ती, शहरदेखि भारतका नेपाली भाषी समुदाय भएका ठाउँसम्म जीवन चलाउन कला र गला भँजाइरहेका छन् । तर पनि आम्दानीको कमीका कारण उनीहरूको जीवनशैली समयानुकुल परिवर्तन हुन सकिरहेको छैन ।

सारङ्गी बजाएर गाउँ बस्ती तथा शहर बजारमा धुम्नु र त्यहीँबाट संकलित रकम र जिन्सि सामानले जीवनको गति बढाउन पुस्तौंनी पेशा धानिरहेका कचनकवलका गन्धर्ब परिवार नेपाली लोक धून भने पुस्तौंदेखि बचाइरहेका छन् ।

केही समय अगाडि सार्वजनिक भएको नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीमा मूल कथा उठाइएको सुनेर चलचित्रहलमा आएर हेर्दा भ्रममात्र राखिएको गन्धर्वहरू टिप्पणी गर्दछन् ।

नेपालकै होचो स्थानको पहिचान बनाएको कचनकवल वडा नम्वर २ मा रहेका ४७ घर परिवारका गन्धर्ब पुरूषहरूले सारङ्गी बोकेर लोक धून सुनाउँदै आय आर्जनको बाटो मार्फत नेपाली मौलिक पहिचानसमेत बचाइरहेका हुन् ।

पुस्तौंदेखि उनीहरू सारंगी रेट्दै गाउँटोल घुमेर जीविका चलाइरहेका छन् । उनीहरूले बजाएको सारंगीको सुरिलो धुन सुनेर धेरैले मनोरन्जन लिन्छन् भने कतिले थोरबहुत सहयोग पनि गर्छन् तर पनि संगीत सर्जकसमेत मानिने गन्धर्बहरूको अवस्था भने आर्थिक रूपमा दयनीय नै देखिन्छ ।

जातीय पेशाको रुपमा रहेको सारंगी बजाउने कामलाई अझै पनि धेरैले निरन्तरता दिइरहेका छन् । सारङ्गी बजाउँदै भेटिएका कृष्ण गन्धर्बले भने ‘हाम्रो आर्थिक, सामाजिक र शैक्षिक अवस्था अहिले पनि निकै कमजोर छ । सरकारी पक्षबाट खासै उत्थानका काम भएका छैनन् । यसैकारण पनि जीविकोपार्जनका लागि सारङ्गी बजाउन विभिन्न ठाउँ घुम्नै पर्छ ।’

नेपाल र भारतका विभिन्न नेपाली भाषी बाहुल्य गाउँ शहरसम्म पुगेर उनीहरू सारंगीको मिठो धुन सुनाउँछन् । गन्धर्ब गाउँबाट तीन पुस्तादेखि गन्धर्वहरू सारंगी रेट्दै हिडिरहेको बताउँछन्  । तर, आर्थिक रूपमा हजुरबुबा पुस्तामा जस्तो अवस्था थियो नाति पुस्तामा आइपुग्दा पनि अवस्था उस्तै रहेको उनीहरूको भनाई छ ।

‘समय फरियो होला तर हाम्रो अवस्था जस्ताको त्यस्तै छ’ कृष्णले भने ‘पहिला हाम्रा बाबु, बाजेको भन्दा केही फरक जस्तो देखिए पनि आर्थिक हैंसियत र सामाजिक हालत पनि उस्तै छ ।’

गन्धर्बहरू नेपाल बाहिर जहाँजहाँ नेपालीहरूको बसोबास छ, त्यहाँ पुग्ने गरेका छन् । उनीहरूका अनुसार नेपालतिर भन्दा भारततिर सारङ्गीको धूनसित गीत मन पराउने मानिस बढी छन् । त्यसकारण कमाइ पनि राम्रो हुने हुँदा धेरैजसो भारततिर गीत गाउन र सारङ्गी बजाउन जाने बढ्न थालेका छन् । पछिल्लो समय नेपालका विभिन्न शहरहरूमा मेला र महोत्सवमा सारङ्गीले महत्व पाउन थालेपछि त्यस्तो समयमा नेपालमा पनि कमाइ ठिकै हुने अनुभव उनीहरूसँग छ ।

तराइमा बसिरहेको भए पनि पहाडे दलित समुदायमा पर्ने गन्धर्ब समुदायलाई ‘गाइने’ उपनामले चिन्ने गरिन्छ । तर, गाइने शब्द उनीहरूलाई मन पर्दैन । होच्याउनेहरूले गाइने भनेको उनीहरूको बुझाई छ । कम जनसंख्या भए पनि सरकारले लोपोन्मुख जातिमा नराखेकोमा अझै दुःख छ ।

गन्धर्बहरूको उद्गम थलो पश्चिम नेपालको कास्कीको बाटुलेचौर मानिन्छ । तर यो समुदाय पूर्वको झापादेखि सुदुरपश्चिमसम्म छरिएर बसेको उनीहरू बताउँछन्  ।

झापामा वि सं २०२७ सालदेखि जंगल फाँडेर गन्धर्बहरूले स्थायी बसोबास सुरू गरेको उनीहरूको भनाई छ । झापा अहिले जस्तो थिएन । सबै जंगलले ढाकेको थियो । औलोको माहामारी थियो । त्यो बेला झोडा फाँडेर बसोबास गर्नेहरू बहादुर ठानिन्थे । त्यही कठिन समयसित लड्दै गन्धर्ब जातिले पूर्वी दक्षिणी झापामा बस्न थालेको ज्येष्ठ गन्धर्बहरु बताउँछन् ।

यिनीहरूको पेशा भनेकै सारंगी बजाउनु हो । सारंगीबाटै धेरैको गुजारा चलेको छ । उनीहरू खेती किसानी र मजदुरी पनि गर्छन् । आफ्नो जमीन कम भएकै कारण अर्काको अधियाँ जमीन खनजोत गरेर जीवनयापनमा सहजता खोज्न थालेका छन् ।

गन्धर्व समुदायको उत्थान गर्ने उद्देश्य राखेर २०६७ सालमा पूर्वान्चल गन्धर्व सांस्कृतिक उत्थान समाज नामक संस्था स्थापना पनि गरिएको छ । यो समुदायको आफ्नै भाषा भए पनि लोप हुने अवस्थामा पुगेको छ ।

‘पछिल्लो पुस्ताले भाषा, संस्कृति सबै भुलिसक्न लागेकोमा गन्धर्ब समाजमा चिन्ता छ । उनीहरूको आफ्नै मौलिक लिपि भने छैन । अस्तित्व रक्षाका लागि गन्धर्ब सांस्कृतिक उत्थान समाजको परिकल्पना गरिएको उनीहरूको भनाई छ ।

सम्बन्धित खबर