२०८१ मंसिर २६, बुधवार , ०७:५८:१६ बजे

Sajhamanch
'

शिवसताक्षीमा मिनी मेला र भब्य चासोक तङ्नाम पर्वको तयारी

शुक्रवार, मंसिर १४, २०८१
  • सरोज भट्टराई

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधेमा चासोक तङनाम पर्व भव्यताका साथ मनाइने भएको छ । शिवसताक्षी किरात याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा दुधे रङ्गशालामा आगमी मंसिर २४ गतेदेखि ३० गतेसम्म मिनी मेलासहितको बृहत चासोक तङ्नाम पर्व मनाइने भएको हो ।

दूधे रंगशालामा २४ गतेदेखि २९ गतेसम्म मिनीमेला लाग्ने र ३० गते बृहत चासोक तङ्नाम पर्वको आयोजना गरिएको आयोजक किरात याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिए ।

पछिल्लो समय चासोक तङ्नामलाई जातीय पर्वको रुपमा मात्र नभई सबै भाषा, धर्म र समुदायका मानिसहरु भेला भएर मनाउने गरिएको र यसलाई साझा पर्वको रुपमा मनाउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष जवेगुले बताए ।

उनले चासोक तङ्नाम सप्ताहव्यापी रुपमा मनाइने भएको हुँदा कार्यक्रम आउने आगन्तुकहरुले लगाउनु भएको मौलिक पोशाकको मूल्याङ्कन गरी उत्कृष्ट पोशाक लगाउने दुई जोडीलाई पुरस्कृत गरिने पनि बताएका छन् । त्यस्तै मौलिक खेल, मौलिक खानपिनको स्टल राखिने, मौलिक पोशाकको प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

आयोजक संस्थाले मनाउन लागेको चासोक तङ्नाम पर्व नेपालकै ठूलो हुने दावी गरिएको छ । चासोक तङ्नाम लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको छ ।

चासोक तङ्नाम (न्वागी पूजा) अर्थात उँधौली पूजा पनि भन्ने गरिन्छ । उँधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चडाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बू जातिहरुलार्ई उनीहरूकै भाषामा याक्थुङ्बा भनेर चिनाउने गरेका छन् । किरात समुदायका अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्राइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

कार्यक्रम सबै समुदायको साझा भएकाले च्याबरुङ नाच, सन्थाल नाथ, मारुनी नाच लगायत विभिन्न जात जातिका नाचहरू प्रस्तुत गरिने आयोजकको भनाई छ ।

त्यस्तै मिनी मेलामा नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिका प्रवक्ता सन्तोष थोप्राले जानकारी दिए । थोप्राका अनुसार मेलामा लिम्बू गायकहरुले लिम्बू भाषाका गीतहरु समेत प्रस्तुत गर्नेछन् । त्यस्तै विभिन्न खेल तमासा, रोटेपिङ, बालिबालिकाहरुका लागि खेलहरुका लगायत कानुनले बर्जित नगरिएका खेल तामासाहरु रहने जनाइएको छ ।

चासोक तङ्नाममा अहिले नै खर्चको यनिक नभए पनि देश तथा विदेशमा रहनु भएका दाजुभाइहरुले सहयोग रकम पठाउन सुरु गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मिनी मेलाबाट संकलन भएको रकम समाजिक क्षेत्रमा खर्च गरिने छ ।

सम्बन्धित खबर