२०८१ मंसिर २७, बिहिवार , ०४:०१:११ बजे

Sajhamanch
'

काँकडभिट्टामा रिडर्स फेस्टिबलको तयारी तीब्र

बिहिवार, मंसिर १३, २०८१

मेचीनगर । यही मंसिर महिनाको अन्तिम साता झापाको काँकडभिट्टामा गरिने रिडर्स फेस्टिवलको पहिलो संस्करण गर्न आयोजकहरुले तीब्र तयारी गरिरहेका छन् ।

“सभ्य समाज र समृद्ध जीवनका लागि अध्ययन” भन्ने नारासहित पठन संस्कृतिको विकास र प्रवर्धन गर्ने उद्देश्यले गठित रिडर्स अभियान नेपालले मंसिर २८, २९ र ३० मा पहिलो फेस्टिवल आयोजना गर्न लागेको हो ।

अभियानका अध्यक्ष सन्तोष आचार्यले दिएको जानकारी अनुसार फेस्टिवलको तीन दिन विभिन्न पुस्तकका लेखक र पाठकहरुले सघन अन्तरक्रिया गर्नेछन् । यो समाचार तयार पार्दैगर्दा भएको अपडेट अनुसार सहभागिताका लागि विद्यालयहरुमा वितरण गरिएको फारम कलेक्सन गरिँदै छ भने हालसम्म ५० वटाभन्दा बढी विद्यालय र प्रतिष्पर्धीहरु पनि ५० भन्दा बढी भएका अध्यक्ष आचार्यले जानकारी दिए ।

‘नेपालमा भइरहेका कला–साहित्य उत्सवहरुको अहिलेसम्मको चलन हेर्दा लेखक बढी बोल्ने, पाठकले सुन्ने हुँदै आएको देखिएको’ अध्यक्ष आचार्यको बुझाई छ । तर ‘हाम्रो फेस्टिवलमा लेखकभन्दा पाठकहरु बढी प्राथमिकतामा हुनेछन्, उनले प्रष्ट्याएका छन् ।

झापाको पूर्वी सीमान्त सहर काँकडभिट्टाको मेची सामुदायिक भवनमा हुन लागेको पहिलो रिडर्स फेस्टिवलमा कोशी प्रदेशसहित नेपालका विभिन्न भागबाट, भारत, भुटान लगायतका लेखक तथा पाठकहरु सहभागी हुने विश्वास गरिएको छ । ‘फेस्टिवलमा पाठकहरुबाट प्रस्तुति दिन संकलित पुस्तकका लेखकहरु सम्भव भएसम्म बोलाउने हाम्रो तयारी छ, जुन कुरा फारमहरु संकलन भइसकेपछि मात्र टुंगो हुनेछ’ अध्यक्ष आचार्यले थपे, ‘मंसीर १५ बेलुकासम्म फारम लिइसकेपछि लेखकहरु बोलाउने टुंगो गरिनेछ ।’

फेस्टिवलमा सूचना प्रविधिको प्रभाव र बदलिँदो पठनशैली विषयमा प्यानल डिस्कसन एवम् सम्भाषण गरिनेछ भने नेपाल भित्रै पढ्ने उपयुक्त शैक्षिक प्रतिष्ठान र वातावरण नपाएर नेपाली युवा विदेशिएका हुन् त ! भन्ने विषयमा केन्द्रित रहेर शिक्षाको भू–अर्थ राजनीति विषयमा गहकिलो छलफल गराउने तयारी रहेको रिडर्स अभियान नेपालका अध्यक्ष आचार्यले साझामञ्चलाई सुनाए ।

‘पठन संस्कृतिको विकास र प्रवद्र्धनका लागि लक्षित क्षेत्र र वर्ग भनेकै विद्यार्थीहरु हुन् । उनीहरुमा सुरुदेखि नै अध्ययन संस्कृति विकास गर्न सकियो भने मात्र पठन संस्कृतिको विकास सम्भव हुन्छ’ रिडर्स अभियान नेपालको संस्थापनाको पृष्ठभूमि केलाउँदै उनले थपे, ‘यसो भएकाले पनि लेखन–पठन तथा चिन्तनका विभिन्न विषयमा फेस्टिवलमा विमर्शहरु पनि गरिनेछ ।’

तीन दिने उत्सवमा परिवर्तित अध्ययन शैली र पठन संस्कृतिलाई उत्प्रेरित र प्रोत्साहित गर्ने गरी मावि तथा क्याम्पस स्तरका विद्यार्थी र खुल्लारुपमा अनौपचारिक अध्ययनमा लागेकाहरुलाई समेटेर फेस्टिवलमा प्रतिस्पर्धात्मक प्रस्तुति गरिने आयोजकको तयारी छ ।

सो कार्यक्रममा स्थानीय लेखक/सर्जकका कृतिहरुलाई विशेष महत्व दिइएको जनाउँदै आयोजकहरुले लेखक सर्जकहरुले आफ्ना कृतिहरु पाठकलाई सहज उपलब्ध गराउने व्यवस्था मिलाएर आफ्नो कृतिको प्रबर्धनमा सहयोग सलनसकिने पनि जनाएको छ ।

सम्बन्धित खबर