२०८१ मंसिर २७, बिहिवार , ०९:०८:५५ बजे

Sajhamanch
'

भद्रपुरमा छठ पूजासहित गंगा आरती

बिहिवार, कार्तिक २२, २०८१
  • द्रोण अधिकारी

झापा । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततिर भव्यरूपमा छठ पूजा गरिएको छ ।

मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगाली लगायत सबै जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गरिएकोे हो ।

नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छठ पर्वमा एक हजार बढी पूजा स्थल निर्माण गरी ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट सहभागी भएर साझा पर्व मनाइरहेका हुन् ।

पूजा स्थलका लागि नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ति गरिरहेका छन् भने विभिन्न सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको व्यवस्था गरेका छन् ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको पाइएको छ । चार दिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन बिहान उदाउदो सूर्यलाई अर्घ चढाएपछि सम्पन्न हुने गर्छ ।

यो पर्वमा जनसहभागिता नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका पूर्व अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिएका छन् ।

झापामा मेची, निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कनकाइ जस्ता ठूलासाना नदी किनार तथा नहर, कूलो, खोल्सीमा सजावटसहित छठ पूजा गर्ने गरिएको छ । जन सहभागिकाका दृष्टिले भद्रपुरस्थित मेची घाट बढी व्यस्त हुने गरेको छ ।

यसैबीच छठ पर्वको अवसर पारेर मेची घाटमा रहेको छठी माता मन्दिर परिसरमा निर्मित कलात्मक चौतारो उद्घाटन तथा गंगा आरतीको आयोजना गरिएको छ ।

भद्रपुर ५ नम्बर वडा कार्यालयले निर्माण गरेको कलात्मक चौतारोको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशी तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले संयुक्त रूपमा गरेका थिए । भद्रपुर नगरपालिकाले आयोजना गरेको गंगा आरतीको समुद्घाटन राज्यमन्त्री भूमिप्रसाद राजवंशीले गरे ।

कार्यक्रममा कलात्मक चौतारो निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने चौतारोमा कला तथा डिजाइनकर्ता कलाकार सञ्जय प्रधान रहेको जानकारी गराइएको थियो ।

सम्बन्धित खबर