२०८१ मंसिर २७, बिहिवार , ०४:१२:३० बजे

Sajhamanch
'

शिक्षासेवी तथा साहित्यकार सरोज ओलीको निधन

शुक्रवार, कार्तिक १६, २०८१

झापा । अग्रज साहित्यकार तथा शिक्षासेवी झापाका सरोजकुमारओलीको ८४ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ । तेह्रथुम जिल्लाको छातेढुङ्गा याखा गाउँमा वि.सं. १९९८ असार २३ गते जगतमुनि ओली तथा सरस्वता ओलीको साइँलो छोराको रुपमा जन्मिएका उनको आज दिउँसो ३ः५७ बजे निजी निवास अर्जुनधारा ८ मा निधन भएको हो ।

सुगर र प्रेसरबाट ग्रसित उनलाई पछिल्लोपटक निमोनिया भएको थियो । बी एण्ड सी अस्पताल बिर्तामोडको आईसियु र भेन्टिलेटरमा राखेर १७ दिनसम्म उनको उपचार गरिएको थियो तर उक्त प्रयास सफल भएन ।

साहित्य लेखनमा चर्चित ओलीले २०५३ र २०७२ मा गरी दुईपटक राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले उनलाई दीर्घ साहित्य सेवा पुरस्कारबाट सम्मानित गरेको थियो ।

शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएका उनले शनिश्चरे माध्यमिक विद्यालयमा ३३ वर्षसम्म अध्यापन गरेका थिए । ओलीले झापाको दोस्रो पुरानो हाइस्कुल शनिश्चरे माध्यमिक विद्यालयमा २०२९ सालदेखि ३३ वर्षसम्म शिक्षा सेवा गरेका थिए ।

सेवा निवृत्त भएपछि पनि शनिश्चरे माविको व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा दिएका थिए भने शनिश्चरे बहुमुखी क्याम्पसको उनी संस्थापक अध्यक्ष हुन् । उनले क्याम्पसमा ३ कार्यकाल सेवा प्रदान गरेका थिए ।

उनका दुई छोराहरु निरजकुमार र शार्दुलहाङ तथा एक छोरी सुम्निमा ओली थपलिया छन् । ओलीको पार्थिव शरीरलाई भोलि शनिबार कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

साहित्याकाशमा सरोज ओली

नेपाली साहित्य क्षेत्रमा उनको अतुलनीय योगदान रहेको छ । उनका १६ वटा कृति प्रकाशित छन् । निबन्ध संग्रह, कविता संग्रह, उपन्यास र कथा संग्रह प्रकाशित छन् । उनी नेपाल प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य र झापा अध्यक्ष भएका थिए ।

साहित्यकार ओलीका ‘विद्रोह र मुक्ति’ (कविता संग्रह), ‘सरोज ओलीका कविता’, ‘तम्मर नदीको धुन’ (कविता संग्रह), ‘मुटु छुने कथा’ (कथा संग्रह), ‘स्टेथिस सागरदेखि हिमालसम्म’ (कथा संग्रह), ‘हड्तालै हड्ताल जुलुसै जुलुस’ (उपन्यास), ‘माटोको माया’ (उपन्यास), ‘पथिक कवि लक्ष्मी आचार्य’ (जीवनी परिचय), ‘आत्मपरक निबन्धहरु’ (निबन्ध संग्रह) लगायत कृपितहरु प्रकाशित छन् ।

सम्बन्धित खबर