२०८१ कार्तिक २३, शुक्रवार , ०८:०५:२७ बजे

Sajhamanch
'

मदन भण्डारी मार्गको कमलखोला–माइखोला खण्ड महेन्द्र राजमार्गमा नजोड्न जनप्रतिनिधि र स्थानीयको माग, सडक निर्माणमा वन क्षेत्र बाधक !

बुधवार, कार्तिक १४, २०८१
  • सरोज भट्टराई

झापा । निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली गाउँपालिकाको कमलखोलादेखि माइ नगरपालिकाको भूगोलभित्र सडक निर्माणको काम सञ्चालन गरिने भएको छ । मंगलबार शिवसताक्षी नगरपालिकाको दूधेमा मदन मण्डारी राजमार्ग आयोजना अन्तर्गत उक्त क्षेत्रको आईईई प्रतिवेदन सार्वजनिक गरेपछि यस्तो निश्कर्ष आएको हो ।

वि. सं. २०७५ साल जेठ ६ गते मन्त्रिपरिषद बैठकको निर्णय अनुसार चुरेक्षेत्र र भित्री मधेशका उपत्यकाहरु जोड्नका लागि मदन भण्डारी राजमार्गको अवधारण ल्याएको हो । झापाको बाहुनडाँगीदेखि भित्री मधेशका प्रमुख शहरहरु धरान, गाइघाट, सिन्धुलीमाढी, हेटौंडा, भरतपुर, तम्घास, घोराई, तानसेन, सुर्खेत हुँदै डडेलधुरासम्मको राजमार्गका रुपमा यो सडक सुरु भएको आयोजनाले जनाएको छ ।

हाल चुलाचुलीको कमल खोलासम्म सडक निर्माणको काम सुरु भएपनि कमलदेखि माइनगरपालिकासम्मको काम सुरु हुन सकेको छैन । विभिन्न राजनीतिक कारणहरुका बावजुत आयोजनाले ४ वर्ष अघि गरेको डिपिआर अनुसार सडक नबन्ने भएपछि सम्बन्धित पालिका र स्थानीयबासीहरुले खबरदारी गर्दै आएका थिए ।

कमल खोलादेखि माइनगरपालिकाको माइखोलासम्मको २५ दशमलव ३०२ किलोमिटर सडक निर्माणका लागि आईईई प्रतिवेदन सार्वजनिक गरिएको हो । उक्त सडक शिवसताक्षी नगरपालिका वडा नं. ११ उत्तर सतासीधाम खानेपानी ट्यांकीबाट दक्षिण दूधे बजारमा जोडी माइधारसम्म महेन्द्र राजमार्गमा ओभरल्याप गर्ने गरी आईईई प्रतिवेदन तयार भएको होमल्याण्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका परामर्शदाता मिन थापाले जानकारी दिए । उनले सडक क्षेत्राधिकार भित्र पर्ने स्थानमा प्रारम्भिक वातावरण परीक्षणको सान्दर्भिकता, भौतिक विवरण, जैविक वातावरण सम्बन्धी सम्पूर्ण प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

उक्त प्रतिवेदन माथि छलफलका क्रममा चुलाचुली गाउँपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुखहरु, मदन भण्डारी राजमार्ग संघर्ष समिति र स्थानीयबासीले उक्त सडक पानीट्यांकीबाट दूधे बजार नजोडी पुरानै डिपिआरमा कायम गर्नुपर्ने धारणा राखे । उनीहरुले मदन भण्डारी राजमार्ग वैकल्पिक सडकका रुपमा रहेकाले यसमा राजनीतिकरण नगरी साविकको डिपिआर भएको चुलाचुलीको कान्छी चोकबाट कमलखोला, सताक्षीधाम मन्दिर, सतासीधाम खानेपानी ट्यांकी हुँदै चुरेको फेदबाट दोमुखा जोड्नु पर्ने धारणा व्यक्त गरे ।

सो कार्यक्रममा मदन भण्डारी राजमार्ग आयोजना दमकका इन्जिनियर सुवास दत्तले मदन भण्डारी राजमार्ग दूधे बजारमा ल्याएर जोड्ने कुरा आयोजना कार्यालय अनविज्ञ रहेको बताए । ‘आईईई प्रतिवेदन आयोजनाको केन्द्रीय कार्यालय काठमाडौले हेर्ने भएकाले हामी यसमा जानकार छैनौं’ उनले भने ‘सार्वजनिक सुनवाइमा अएका सुझावहरुलाई केन्द्रीय कार्यालयमा पठाउने कुरामा चाहिँ म प्रतिवद्ध छु ।’

प्रतिवेदन अनुसार मदन मण्डारी राजमार्ग कमलदेखि माइखोलासम्मको क्षेत्रमा ४९४ वटा रुखहरु कटान हुने छन् । हालसम्म राजमार्गको ७७ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर दत्तले जानकारी दिए । आयोजनाका अनुसार सडकको रेखाङ्कन अनुसार पूर्वमा सुनसरीको सार्दु खोलदेखि झापाको पाटापुरसम्म १२७ दशमलव ८ किलोमिटरमा हाल ९५ दशमलव ८ किलोमिटर सडक ठेक्का लागिसकेको छ । जसमा कमल खोलादेखि सुखानी शहादत स्थलसम्म र चतरादेखि सार्दु खोलासम्म गरी ३२ किलोमिटर सडक ठेक्का लाग्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

सडक ठेक्का व्यवस्थापन भएको ७ वटा ठेक्का मध्ये एउटा ठेक्का सम्पन्न भई हाल ६ ओटा ठेक्का चालु आवस्थामा रहेको सार्वजनिक सुनवाईमा जानकारी दिइयो । जसमा ३७ वटा पूल ठेक्का लागेकोमा २२ वटाको निर्माण कार्य सम्पन्न भएको जनाइएको छ ।

सडक निर्माणमा वन क्षेत्र बाधक भएको इन्जिनियर दत्तले जानकारी दिए । हाल सडक निर्माण हुँदै गरेको मोरङ्ग जिल्लामा रुख कटान ढिलाई हुँदा सडकले पूर्णता पाउन नसकेको उनको भनाई छ । इन्जिनियर दत्तका अनुसार वन मन्त्रालयबाट अब छिटै मोरङ्ग सडक खण्डमा रुख कटानका लागि अनुमति प्राप्त हुने छ ।

त्यस्तै इलाम र झापामा उक्त सडकमा पर्ने रुख कटानका लागि वन विभागमा फाइल पुगिसकेको समेत उनले जनाए । धरानदेखि मेचीनगरसम्मको वन क्षेत्रमा पर्ने १३ हजार थान साना ठूला रुख कटान हुने आयोजना कार्यालयले जनाएको छ ।

आईईई प्रतिवेदन सार्वजनिकमा शिवतसाक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्ग, गाउँपालिका उपाध्यक्ष दिलु लावती, शिवसताक्षी वडा नं. १० का वडाध्यक्ष हर्क सिगु, ९ का वडाध्यक्ष डिल्लीलाल फेम्बु, ११ वडाध्यक्ष बहादुर आङ्गबो, मदन भण्डारी राजमार्ग संघर्ष समितिका संयोजक सुबास आङ्गथुपो लगायतले सुझाव राखेका थिए ।

सम्बन्धित खबर