२०८१ असोज २४, बिहिवार , ०६:१३:५८ बजे

Sajhamanch
'

बिर्तामोडमा किताब मेला शुरु, उपहारमा किताब नै दिउँ कि !

मङ्गलवार, असोज ८, २०८१

बिर्तामोड । घर–घरमा पठन संस्कृतिको विकास गर्न, मायाको चिन्होका रुपमा पुस्तक प्रदान गर्ने बानीको विकास गर्न एवम् मिनी लाइब्रेरी स्थापना गर्न प्रेरित गर्न उद्देश्यले झापाको बिर्तामोडमा १५ दिने किताब मेला भइरहेको छ ।

असोज ७ गते सोमबारबाट शुरु भएको किताब मेला आगामी असोज २३ गतेसम्म चल्ने मेला आयोजक संस्था वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिए ।

विशेष गरी झापाली साहित्यकारहरूले प्रकाशन गरेका पुस्तकहरुको प्रदर्शनी तथा बिक्री एवम् उहाँहरुसँग साक्षात्कार गराउने किताब मेलाको उद्देश्य रहेका संयोजक सिग्देलको भनाई छ ।

वर्तमान अवस्थामा मानिसहरूमा किताब पढ्ने बानी हराउँदै गएकाले पठन संस्कृतिको विकास गराउनु पनि मेलाको उद्देश्य रहेको जनाइएको छ ।

दशैंंमा आफन्तजनलाई किताब उपहार दिने प्रचलनको विकास गर्नु मेलाको अर्को महत्वपूर्ण उद्देश्य रहेकाले चाडपर्व लक्षित मेला आयोजना गरिएको इशा बुक्सका प्रोपाइटर केशव मैनालीले बताए ।

दशैँमा पुस्तक उपहार दिइयो भने त्यसले छुट्टै महत्व राख्ने मैनालीको धारणा छ । मेला अवधिभर विभिन्न साहित्य सम्बन्धी अन्तरसंवादका कार्यक्रमहरू आयोजना गरिने कार्यक्रम बनाइएको छ ।

किताब मेलामा पाठकहरुको उत्साहजनक उपस्थिति रहेको एवम् पुस्तक बिक्री पनि भइरहेको इशा बुक्सका प्रोपाइटर मैनालीले बताए । क्रेताहरुलाई पुस्तक हस्तान्तरण गरेको तस्वीर खिच्ने र खरिदकर्ताको विवरण लक्की ड्र गरी पुरस्कार प्रदान गर्न कुपन वितरण पनि गरिँदै आएको मैनालीले बताए ।