
काठमाडौं । एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनोटमा चीनलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ । मलेशियाको बायोमास ओभलमा आज भएको समूह ‘बी’ को खेलमा नेपालले चीनलाई १९ रनले हरायो ।
नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रनमात्र बनाउन सक्यो । चीनकी मिङए झुले ३० रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनायो । नेपालकी पूजा महतोले ६३ रन बनाइन् । चीनकी मा रुइकेले २ विकेट लिइन् ।
योसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इन्डोनेशियासँग खेल्नेछ ।
प्रतियोगितामा आजै भएको समूह ‘ए’ को खेलमा थाइल्यान्डले मलेशियालाई ७ विकेटले हरायो ।
६ वटा टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एशियाली खेलकुदका लागि छनोट हुनेछन् ।


