२०८३ जेठ १० आइतवार , ०३:३६:०१ बजे

Sajhamanch
'

माईजोगमाई प्रशासकीय अधिकृत बस्नेत गए, आचार्यलाई स्वागत

आइतवार, जेठ १०, २०८३

इलाम । इलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् ।

पालिकामा ३३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका कुमार बस्नेत सूचना तथा प्रविधि मन्त्रालय काठमाडौं सरुवा भएका छन् भने मालपोत कार्यालय उदयपुरमा कार्यरत केशबप्रसाद आचार्य पालिकामा कार्यभार सम्हाल्न आइपुगेका छन् ।

स्थानीय तह अन्तर्गत पहिलो पटक प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका आचार्यलाई गाउँपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ । सोही कार्यक्रममा सरुवा भएर जान लागेका कुमार बस्नेतलाई बिदाइ गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई, कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

बिदाइ मन्तव्यका क्रममा कुमार बस्नेतले आफ्नो कार्यकालमा भएका कामहरूको प्रगति विवरण प्रस्तुत गर्दै साविक गाविसदेखि स्थानीय तहमा रूपान्तरण हुँदासम्म रहेको २९ करोड बेरुजु घटेर १४ करोडमा झरेको जानकारी दिए ।

उनले आफ्नो कार्यकालमा विभिन्न विपद्का अवस्थालाई सहज रूपमा व्यवस्थापन गरिएको तथा पालिका विभिन्न समयमा विवादमा पर्दा पनि समन्वय र सहजीकरण मार्फत पालिकाको गरिमा जोगाउन सफल भएको दावी गरेका थिए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत बनेर आएका केशबप्रसाद आचार्यले स्थानीय तह आफ्नो लागि नयाँ अनुभव भए पनि नीति, नियम र विधि–प्रक्रिया पूरा भएका कामलाई सहज, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कर्मचारीका तर्फबाट मानबहादुर पौडेलले कर्मचारीबीच सहकार्य र समन्वयको वातावरण निर्माण गरेको भन्दै कुमार बस्नेतलाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यस्तै जनप्रतिनिधिका तर्फबाट यामकुमार कार्कीले बस्नेतको कार्यशैलीको प्रशंसा गर्दै आगामी कार्ययात्राको शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख गोकुल संजेलले गरेका थिए ।

सम्बन्धित खबर