२०८३ जेठ १० आइतवार , ०३:२९:४२ बजे

Sajhamanch
'

चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटक बढे, बाह्य पर्यटक घटे

आइतवार, जेठ १०, २०८३

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । नेपाली पर्यटक बढे पनि सार्क देश तथा तेस्रो मुलुकका पर्यटकको संख्यामा भने कमी आएको छ ।

चालु आर्थिक वर्ष (२०८२/०८३) को वैशाखसम्म २ लाख २६ हजार ८७६ जना स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमा १ लाख ३७ हजार २४६ जना नेपाली, १३ हजार ९९२ जना सार्क देशका र ७५ हजार ६३८ जना तेस्रो मुलुकका पर्यटकहरु छन् ।

गत वर्ष वैशाखसम्म कुल पर्यटकको संख्या २ लाख ४ हजार ५०२ रहेकोमा यस वर्ष २२ हजार ३७४ ले बढेर २ लाख २६ हजार ८७६ पुगेको छ ।

चालु आर्थिक वर्षको २ महिना बाँकी छँदा गत वर्षभन्दा बढी पर्यटकले निकुञ्ज भ्रमण गर्ने देखिएको छ । गत वर्ष २ लाख ३१ जना ३२९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेकोमा चालु वर्षको वैशाखसम्म सार्क मुलुकका १३ हजार ९९२, तेस्रो मुलुकका ७५ हजार ६३८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । सार्क देशबाट ४ हजार ९४१ र तेस्रो मुलुकबाट ६ हजार २५९ जना पर्यटक गत वर्षभन्दा कम आएका छन् ।

यता नेपाली पर्यटकको संख्या भने बढेको छ । गत आर्थिक वर्षको वैशाखसम्म निकुञ्ज भ्रमण गर्ने नेपाली पर्यटक एक लाख तीन हजार ६७२ रहेकामा चालु आर्थिक वर्षमा यो संख्या बढेर एक लाख ३७ हजार २४६ पुगेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । गत वर्षभन्दा ३३ हजार ५७४ जना बढी नेपाली पर्यटकले निकुञ्ज घुमेको थापामगरले बताउनु भयो ।

कार्तिक, पुस, माघ र वैशाखमा सबैभन्दा बढी नेपाली पर्यटकले निकुञ्ज घुमेको देखिएको छ । अघिल्लो वर्ष वैशाखमा १० हजार ७८१ जनाले निकुञ्ज घुमेकोमा चालु वर्षको वैशाखमा मात्रै १८ हजार ४६ जना नेपाली पर्यटक निकुञ्ज पुगेका छन् ।

विदेशी पर्यटकको संख्या माघ र फागुनमा बाहेक हरेक महिना गत वर्षभन्दा घटेको देखिन्छ । नेपाली पर्यटकको संख्या भने हरेक महिना गत वर्षको भन्दा बढेको देखिन्छ ।

नेपालीहरू परिवारसहित घुम्ने संस्कारको विकास, सडक पूर्वाधारहरु पहिलाको भन्दा राम्रो हुनु तथा हप्तामा दुई दिन बिदा हुनुले नेपाली पर्यटकको संख्या बढेको हुनसक्ने पर्यटन क्षेत्रका जानकार हिम्मत पुरीले बताउनु भयो।

उहाँले नेपालमा गत वर्ष भदौमा भएको जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय क्षेत्रमा पारेको असर, मध्यपूर्वमा इरान र अमेरिका–इजरायल बीचको द्वन्द्व र त्यसको मारमा परेका खाडी देशहरुको कारणले विदेशी पर्यटकहरू घटेको हुन सक्ने अनुमान गर्नुभयो ।

पछिल्लो १० वर्षमा सबैभन्दा कम आर्थिक वर्ष २०७२/०७३ मा ८७ हजार ३९१ र कोभिड महामारी फैलिएको आ.व.२०७७/०७८ मा ९८ हजार २२८ पर्यटकले निकुञ्ज घुमेका थिए ।

यस वर्ष निकुञ्जले २५ करोड २७ लाख, ४८ हजार १८ रुपैयाँ राजश्व संकलन गरेको छ । सबैभन्दा बढी पर्यापर्यटनबाट २३ करोड पाँच लाख ५० हजार ६०० राजस्व संकलन गरेको निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो ।

यस्तै काठदाउरा बिक्रीबापत ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत एक करोड ९५ लाख ३१ हजार ७५५, दण्डसजायबाट १० लाख ७१ हजार ९०४ र अन्य शीर्षकबाट १५ लाख २२ हजार ४०५ रकम राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा नेपाली पर्यटकसँग प्रति व्यक्ति १५० रुपैयाँ, सार्क देशकासँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ । पर्यटक सवार जिपको ५ हजार लिइन्छ ।

निकुञ्जमा सबैभन्दा बढी सौराहा क्षेत्रबाट पर्यटकहरु घुम्नका लागि जाने गर्दछन् । चालु वर्षमा मात्रै १ लाख ९५ हजार १७४ जना पर्यटक सौराहाबाट निकुञ्ज पुगेका थिए ।

निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ, भालु, हात्ती, चितल, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरूङ्गी, वनस्पति, सरिश्रृप हेर्नका लागि पर्यटकहरु हेर्न जाने गरेका छन् । जिप सफारी तथा जंगल वाक गरेर पनि पर्यटकहरु निकुञ्ज घुम्ने गरेका छन् ।

सम्बन्धित खबर