२०८३ जेठ १० आइतवार , १२:५२:११ बजे

Sajhamanch
'

एफआईभीबी वरीयतामा नेपालको पुनरागमन

आइतवार, जेठ १०, २०८३

काठमाडौं । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआईभीबी)ले सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले उल्लेखनीय सुधार गरेको छ ।

लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल सन् २०२३ यता विश्व वरीयताबाट बाहिरिएको थियो । त्यति बेला नेपाल ८६औँ स्थानमा रहेको थियो । काठमाडौंमा जारी ‘काभा महिला भलिबल च्याम्पियनसिप २०२६’मा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले विश्व वरीयतामा फड्को मार्दै ५८औँ स्थान हासिल गरेको हो ।

एफआईभीबीले हिजो सार्वजनिक गरेको वरीयतामा नेपालले दक्षिण एसियाको बलियो टोली भारतलाई समेत पछि पारेको छ । हिजो किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेपछि नेपाल ५८औँ स्थानमा उक्लिएको हो । प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित भए पनि नेपाल ६२औँ स्थानमा समावेश भएको थियो ।

हाल काभा महिला भलिबल च्याम्पियनसिपमा सहभागी टोलीहरूमध्ये कजाखस्तान ३६औँ, इरान ४५औँ, भारत ६४औँ, किर्गिस्तान ६३औँ, मालदिभ्स ६६औँ, बङ्गलादेश ६८औँ तथा श्रीलङ्का ८५औँ स्थानमा रहेका छन् ।

सेन्ट्रल एसिया भलिबल एसोसिएसन काभा महिला च्याम्पियनसिप एफआईभीबी वरीयतामा गणना हुने प्रतियोगिता भएकाले नेपाली महिला टोली लामो समयपछि पुनः विश्व वरीयतामा समावेश हुन सफल भएको हो ।

सम्बन्धित खबर