२०८३ जेठ १० आइतवार , ०७:०९:१७ बजे

Sajhamanch
'

पानी अभावले ह्यात्रुङको सौन्दर्य संकटमा

आइतवार, जेठ १०, २०८३

तेह्रथुम । पहाडको काखबाट सेतो धर्साझैँ तल खस्ने पानी, वरिपरि हरियाली जंगल, चराचुरुङ्गीको मधुर आवाज, पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य ह्यात्रुङ झरना पुग्ने जो– कोहीलाई प्रकृतिको यो अनुपम सौन्दर्यले लोभ्याउँछ ।

समुद्री सतहबाट करिब १ हजार ५ सय मिटर उचाइमा अवस्थित ह्यात्रुङ झरना तेह्रथुमको फेदाप गाउँपालिका–४ को सम्दु र वडा नम्बर ५ को इसिबु गाउँको सिमानामा पर्छ । करिब ३६५ मिटर उचाइबाट झर्ने ह्यात्रुङ झरनालाई नेपालकै दोस्रो तथा एसियाकै चौथो अग्लो झरनाका रूपमा चिनिन्छ । तर पछिल्ला वर्षहरूमा यो चर्चित पर्यटकीय गन्तव्य पानी अभावले संकट झेलिरहेको छ ।

वर्षायाममा गर्जिएर बग्ने झरना सुख्खा मौसममा तिरतिरे धारो जस्तो हुन्छ । झरनामाथिका पानीका मुहान सुक्दै जानु, वर्षाको अनियमितता, जलवायु परिवर्तन र जंगल क्षेत्रमा बढ्दो दबाबका कारण झरनाको बहावमा असर पर्न थालेको स्थानीयको भनाइ छ ।

फेदाप गाउँपालिका–४ की स्थानीय देवी रेग्मी भन्छिन्, ‘पहिले वर्षभरि ठूलै पानी  बग्थ्यो । अहिले सुख्खा मौसममा झरनामा पानी निकै कम हुन थालेको छ ।’

उनका अनुसार पानीका स्रोत संरक्षणमा ध्यान नदिने हो भने भविष्यमा ह्यात्रुङको प्राकृतिक सौन्दर्य नै संकटमा पर्न सक्छ ।

पानीसँगै कमजोर बन्दै आकर्षण

ह्यात्रुङ झरना केवल प्राकृतिक सम्पदा मात्र होइन, पूर्वी नेपालको उदीयमान पर्यटन केन्द्र पनि हो । स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा हालसम्म करिब ८ करोड रुपैयाँ पूर्वाधार निर्माणमा खर्च भइसकेको छ ।

पर्यटकलाई सहज बनाउन सिँढी, रेलिङ, चौतारा र पदमार्ग निर्माण गरिएका छन् । जोखिमयुक्त क्षेत्रमा सुरक्षाका उपाय अपनाइएका छन् । झरनाको आकर्षण बढाउन करिब ३ सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणको काम पनि भइरहेको छ । तर प्रश्न उठ्न थालेको छ– यदि झरनामै पानी कम हुँदै गयो भने संरचनाले मात्र पर्यटन धान्न सक्छ ?

पर्यटन विज्ञहरू दिगो पर्यटनका लागि प्राकृतिक स्रोत संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । केवल पूर्वाधार थपेर मात्र पर्यटन टिकाउ बन्न नसक्ने उनीहरूको निष्कर्ष छ ।

ह्यात्रुङ झरनासम्म पुग्नु आफैँमा रोमाञ्चक अनुभव मानिन्छ । मुख्य सडकबाट झरनातर्फ उकालो–ओरालो बाटो, जंगलबीचको पदमार्ग र सिँढी पार गर्दै पुग्नुपर्छ । अन्तिम चरणमा करिब १५ मिनेट तल झर्नुपर्छ ।

झरनाको आवाज नजिकिँदै जाँदा यात्राको थकान हराउने अनुभव सुनाउँछन् आठराई–१ का तुलसी सिटौला । ‘झरनाको वास्तविक सौन्दर्य त प्रत्यक्ष पुगेपछि मात्रै थाहा हुन्छ । प्रकृतिले यति सुन्दर ठाउँ बनाएको रहेछ भन्ने अनुभूति हुन्छ,’ उनी भन्छन् ।

तर स्थानीयहरूका अनुसार पछिल्ला वर्षहरूमा सुख्खायाममा झरनाको स्वरूप फेरिन थालेको छ । पानीको मात्रा घट्दा पर्यटकको अनुभवमा पनि असर पर्न सक्ने चिन्ता बढेको छ ।

संकट केवल पर्यटनमा होइन, जीवनशैलीमै

पानी अभावले झरनाको सौन्दर्य मात्र संकटमा परेको छैन, स्थानीय बासिन्दाको दैनिकी पनि प्रभावित हुन थालेको छ ।

खेतीपाती, पशुपालन र दैनिक प्रयोगका लागि पानी अभाव हुन थालेको स्थानीयहरूको भनाइ छ । पानीका मुहान कमजोर हुँदा गाउँको जीवनशैलीमै असर देखिन थालेको उनीहरू बताउँछन् ।

स्थानीयका अनुसार झरनामाथिका मुहान संरक्षण, वृक्षारोपण, वन संरक्षण र पानी स्रोतको वैज्ञानिक व्यवस्थापन तत्काल आवश्यक भइसकेको छ ।

ह्यात्रुङ झरनाले स्थानीय अर्थतन्त्रमा नयाँ सम्भावना पनि सिर्जना गरेको छ । पर्यटक आगमनसँगै स्थानीय उत्पादन बिक्री, चिया पसल, साना होटल र होमस्टे सञ्चालनको अवसर बढेको छ । युवा पुस्ताले पनि पर्यटनमा सम्भावना देख्न थालेका छन् ।

फेदाप गाउँपालिका–४ का वडा अध्यक्ष भेषराज चोङबाङका अनुसार ह्यात्रुङलाई दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ ।

झरना हेरेर मात्र फर्किने होइन, पर्यटकलाई लामो समय बस्ने वातावरण बनाउन होमस्टे, स्थानीय खानाका परिकार र सांस्कृतिक पर्यटनसँग जोड्ने योजना पनि बनाइएको छ ।

वर्षायाममा गर्जिएर बग्ने ह्यात्रुङ झरना सुख्खायाममा सुक्दै जाने चिन्ताले भने अहिले स्थानीयलाई पिरोलेको छ । प्रकृतिले दिएको यो अनुपम उपहार जोगाउने कि क्रमश: हराउँदै गएको हेरेर बस्ने भन्ने प्रश्न उठेको छ ।