पहिरोको डरले तीन महिना गाउँ छाड्छन् ओगुत्ताका वासिन्दा

July 30, 2018 12:27 pm

जाजरकोट । नलगाड नगरपालिका–१३ ओगुत्ताका वासिन्दामा वर्र्षाैंदेखि वर्षायाम सुरु हुन बितिकै घर छाडेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ।

गाउँमाथिबाट पहिरो आउने डरका कारण उनीहरु घर नै छाडेर अर्को जिल्ला गएर बस्न बाध्य भएका हुन्। करिब ५० घरधुरी भएका यस गाउँका वासिन्दा असार, साउन र भदौ गरी तीन महिना आफ्नो घर छाडेर रुकुमको आठबीसकोट नगरपालिकाको अनाहवजारमा बस्दै आएको स्थानीय तेजबहादुर बिकले बताए। पानी पर्न बितिकै घरमाथि रहेको ठूलो पहाडबाट ढुंगा खस्ने र पहिरो आउने डरले छाड्न बाध्य हुनु परेको उनको भनाइ छ।

पानी नपरेको समयमा दिउँसो गएर घरको काम गर्ने तर राति सुत्न भने रुकुम नै आउने गरेको स्थानीय शुक्रराज सिंहले बताए। यस गाउँमा पटक–पटक गएको पहिरोबाट एक दर्जनभन्दा बढी मानिस मृत्यु भइसकेको छ। पहिरोकै कारण स्थानीयहरु घाँस, दाउरा र गाईवस्तु चराउन जान समेत डराउने गरेका छन्।

यहाँ रहेको विद्यालयमा पढाउँदा समेत पहाड हेर्दै पढाउनुपर्ने बाध्यता रहेको शिक्षक भोलिप्रसाद सिंहले गुनासो गरे। भेरी नदीको किनारमा रहेको यो वस्ती जाजरकोटको अति विकट रुपमा मानिन्छ। यहाँ सञ्चार सेवाको समेत सुविधा छैन। गाउँ जोखिममा रहे पनि स्थानीयलाई सुरक्षित ठाउँमा सान पहल नएको स्थानीयको गुनासो छ।

          July 30, 2018 12:27 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: