एक रातको वर्षामै यसरी डुब्यो विराटनगर
विराटनगर। संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के बुधवार बिहानै विराटनगर १० स्थित लर्डबुद्ध कलेज नजिकै आफ्नै घर अगाडीको पानी निकासको लागि कोदालो निएर खन्न निस्किए ।
मंगलवार रातभरी पानी पर्दा उनीसँगै आसपासका केही घरहरु डुबेका छन् । कहिल्यै पानी नपस्ने उनको घरमा गत बर्षको बर्षादेखि पानी पस्न थालेको हो ।
अलिक ठूलो पानी पर्ने वितिकै डुब्न थालेको उनले सुनाए । जमिनको सतह भन्दा माथि नाली बनाइँदा छेउछाउका घरहरु डुवानमा परेका हुन् । यहाँको पानीको निकासको लागि कुनै योजना नबनाईँदा सामान्य पानी पर्दापनि समस्या भएको उनले सुनाए ।
विराटनगरमा सामान्य पानी पर्दापनि अब डुवान हुने हो की भन्ने त्रास जन्माएको छ । गत बर्ष बर्षाको कारण बिराटनगरका अधिकांश क्षेत्र डुवानमा परेको स्मरण हुँदा हुँदैपनि यो बर्ष पनि त्यसबाट बच्ने उपाएको खोजी कतैबाट पनि भएको छैन ।
जिल्ला तह तथा संरचना खारेज भईसकेको अबस्थामा विराटनगर महानगरपालिकाकाले यसको बारेमा चनाखो हुनुपर्ने अबस्थामा अहिले सम्म चासो नदिएको मास्केले आरोप लगाए । विकास निर्माणमा भएको भ्रष्टाचारको कारण अहिले नगरवासीले सास्ती पाउनु परेको उनको गुनासो छ ।
एसियाली विकास बैंकको साझेदारीमा संचालित झण्डै ७ अर्ब परियोजनामा चरम लापरवाहीका कारण समस्या आएको उनको आरोप छ ।
July 25, 2018 3:19 pm | राष्ट्रिय समाचार