प्रधानमन्त्री ओलीका अघिल्तिर भारतीय सिनेकर्मीको प्रस्ताव

July 22, 2018 10:59 am

काठमाडौ । प्रधानमन्त्री के. पी. शर्मा ओलीले नेपालमा फिल्मसिटी स्थापना गर्न तत्पर भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिएका छन् ।

हिजो साँझ आफूलाई भेट्न नेपाल आएका एस्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि. का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जयाप्रदालाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरेका हुन् ।

भेटअघि भारतीय समूह फिल्मसिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको थियो ।

अध्ययन पछि जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि. का अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको बताएका छन् ।

उनले ती ठाउँका प्रशंसा गर्दै नेपालमा फिल्मसिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु भइसकेको पनि जानकारी गराए ।

चन्द्राले आउँदो नोभेम्वर–डिसेम्वरमा जी सिने अवार्ड समारोहको आयोजना काठमाडौमा नै गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि एक अवार्डको व्यवस्था गरिने घोषणा समेत गरेका छन् ।

भेटघाटका अवसरमा प्रधानमन्त्रीले जी सिने अवार्ड समारोह कै अघिपछिको मिति पारेर काठमाडौमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणा गरे ।

नेपाली कलाकारहरुसमेतको उपस्थितिमा भएको भेटघाटका अवसरमा प्रधानमन्त्रीले जयाप्रदाले नेपाल भारत सम्बन्धका लागि साँस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको प्रकाश पारेका थिए ।

त्यस अवसरमा वरिष्ठ भारतीय राजनीतिकर्मी तथा राज्यसभा सदस्य अमर सिंहले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल, सुखी नेपालीको ध्येयलाई मूर्त तुल्याउन सकिएको खण्डमा मात्र भारत पनि सुखी र खुसीहुन सक्ने धारणा व्यक्त गरे ।

भेटका अवसरमा नेपालका वरिष्ठ सिने कलाकार नीर शाहले नेपाली फिल्म उद्योगको समग्र अवस्थाको जानकारी प्रस्तुत गर्दै भारतमा नेपाली भाषीहरुको ठूलो जनसंख्या रहे पनि विभिन्न कारणले गर्दा नेपाली फिल्मको प्रदर्शन हुन नसकिरहेको जानकारी गराए ।

भेटमा चन्द्राले सोलुखुम्वुमा आफूले निर्माण गरेको १४० मेघावाट क्षमताको जलविद्य्त आयोजना बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न भएपछि प्रधानमन्त्री ओलीमार्फत नेपाललाई हस्तान्तरण गर्ने घोषणा समेत गरेका छन् ।

यसैगरी चन्द्राले आफ्नो तर्फबाट पशुपति मन्दिर परिसरमा सिसी क्यामेरा र सौर्य बत्ती जडान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

          July 22, 2018 10:59 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: