थाइल्याण्डको गुफाबाट सकुशल बाहिर निकालिएका सबैजना बौद्ध साधु बन्ने,

July 19, 2018 10:35 am

बीबीसी

‘यो एउटा चमत्कार हो…. म निकै भयभित थिएँ… जब मलाई कस्तो छौ भनेर सोधियो तब मैले सोच्नु पर्यो र मैले भनें म ठिक छु । तर म अत्यन्तै भयभित थिएँ । ’ १४ वर्षका अदुल स्याम–अनले मिडियासँग दुई हप्तासम्म बाढी पसेको गुफामा फस्दाको अनुभव साझा गरे ।

बुधबार बिहान यी बालकहरुले अस्पतालबाट छुट्टी पाए । यी सबैको उमेर ११ देखि १७ वर्षबीचको छ र उनीहरु जुनियर फुटबल टिम ‘वाइल्स बोर्स’ का खेलाडी हुन् । यी सबैले आफ्नो टीमको टी–शर्ट लगाएर पत्रकार सम्मेलनमा भाग लिए । उनीहरुको स्वागतका लागि स्टेज डिजाइन गरिएको थियो र ब्यानमा लेखिएको थियो– ‘वाइल्ड बोर्सको घर फिर्ती ।’

गत हप्ता मात्रै १२ बालकहरु र उनीहरुका प्रशिक्षकलाई थाइल्याण्डको ट्याम लुंग गुफाबाट गोताखोरले सुरक्षित बाहिर निकालेका थिए । अदुलका अनुसार जब बेलायती गोताखोर उनीहरुसम्म पुगेका थिए तब उनीहरुले ‘हेलो’ मात्र भन्न सकेका थिए ।

हामी चेकर्स खेल्थ्यौंः

यी बालकहरुसँग थाइल्याण्ड नेवीका सदस्य पनि थिए जसले उनीहरुलाई बचाउन मद्दत गरेका थिए । जब एक बच्चालाई गुफाभित्र पानीको सहारामा कसरी बस्यौ भन्ने प्रश्न सोधियो तब उनले भने, ‘पानी सफा थियो तर पानी मात्र थियो, खाना थिएन ।’ ११ वर्षका चेनिनले भने, ‘म खानाबारे नसोच्ने कोसिस गर्थे किनभने यसो गर्दा भोक लागेको महसुस हुँदैनथ्यो ।’

यी बालकहरु जून २३ तारिखदेखि हराएका थिए र गोताखोरले उनीहरुलाई जुलाई २ तारिखमा खोज्न सफल भएका थिए । थाई नेवीका गोताखोरले गुफामा उनीहरुसमक्ष खाना र औषधी पुर्याएका थिए ।

यी बालकहरुले बाहिर निस्कनु अघि एक हप्तामा उनीहरु आफ्ना बचाउकर्तासँग निकै घुलमिल भएको बताए । ‘हामीहरु चेकर्स खेल्थ्यौं । बेटोई सधैं जित्थे र गुफाका राजा उनी नै बन्थे ।’

‘अब राम्रोसँग जीवनयापन गर्ने’

यो टीमका २५ वर्षीय प्रशिक्षक इक्कापोल चान्तावांग पनि बच्चासँगै गुफामा फसेका थिए । उनले नेवी सील समन कुननलाई श्रद्धाञ्जली दिए जसको यो अभियानको क्रममा मृत्यु भएको थियो ।

उनले भने, ‘समनले हामीलाई बचाउनका लागि आफ्नो प्राण दिए । म यसबाट निकै प्रभावित छु । जब हामीलाई उनको मृत्युबारे थाहा भयो तब हामी अत्यन्तै मर्माहित भयौं । उनको परिवारको दुःखको कारण हामी भयौं भन्ने लाग्यो ।’

केही बालकहरुले यो घटनाबाट पाठ पढ्ने बताए । एक बालकले भने, ‘अब जीवनबारे थप सावधानी हुनेछु र राम्रोसँग जीवनयापन गर्नेछु ।’ यी बालकहरु केही समयका लागि बौद्ध साधु बन्नेछन् किनभने थाइल्याण्डको रिवाज अनुसार पुरुष कुनै दुर्भाग्यपूर्ण घटनाबाट गुज्रिन्छ भने उनीहरुले यस्तो गर्नैपर्छ । सुरक्षा अभियानका प्रमुख अनुसार बालकहरुलाई बाहिर निकाल्ने अभियानमा कूल ९० गोताखोर समावेश थिए जसमध्ये ४० थाइल्याण्डका र ५० जना अन्य देशका हुन् ।

 

          July 19, 2018 10:35 am | समाज

प्रतिकृयाहरू :

समाचारहरु: