‘आमसञ्चार पत्रकारिता विश्वविद्यालय’ स्थापनाका लागि डा. मिश्रको दृढ संकल्प

July 15, 2018 5:08 pm

काठमाडौं । २०५८ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा पत्रकारिता तथा आमसञ्चार विषयको पठनपाठन गराउँदै आएको कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनलाई ‘आमसञ्चार पत्रकारिता विश्वविद्यालय’मा रुपान्तरण गर्न सक्रियता देखाइएको छ ।

क्याम्पसका संस्थापक तथा प्रिन्सिपल डा. मञ्जु मिश्रले मुलुकमा विद्यमान जटिल परिस्थितिको सामना गर्नसक्ने तथा सञ्चार क्षेत्रको अनुसन्धान र विश्लेषण गर्न सक्ने सक्षम प्राज्ञिक जनशक्ति तयार गर्न छाता विश्वविद्यालयको रुपमा आफ्नो कलेजलाई रुपान्तरणका लागि अनवरत प्रयास जारी राखेको जनाएकी हुन् ।

                कलेजले आयोजना गरेको एक कार्यक्रममा आफ्ना भनाई राख्दै प्रिन्सिपल डा. मिश्र

कलेजले आयोजना गरेको अन्तरक्रियात्मक पत्रकार सम्मलेनमा डा. मिश्रले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘आमसञ्चार पत्रकारिता विश्वविद्यालय स्थापना गरी नेपालमा आमसञ्चारको विकास केन्द्रको रूपमा स्थापित गराउन तथा दक्षिण एशियाली मुलुकमा विद्यमान यस्ता विश्वविद्यालयहरु मध्ये उदाहरणीय विश्वविद्यालयको रूपमा कलेजलाई रुपान्तरण गर्नु हाम्रो लक्ष्य रहेको छ ।’

स्वायत्त र निजी सञ्चार विश्वविद्यालयको रूपमा यस कलेजलाई उभ्याउन सकेमा हालसम्म उच्च शिक्षामा व्यवस्था नगरिएका विषयहरु जस्तै फोटोग्राफी, एडभरटाइजिङ्ग, ग्राफिक्स, जन–प्रशासन र अन्तराष्ट्रिय सम्बन्धजस्ता विषयहरुलाई समेत पठन–पाठनमा समेटने जमर्को गरिने विज्ञप्तीमा उल्लेख छ ।

प्रस्तावित आमसञ्चार पत्रकारिता विश्वविद्यालय’ विषयगत, गैह्र नाफामूलक, निजी र सम्बन्धन नदिई आफै उत्कृष्ठताको केन्द्रका रुपमा रहने परिकल्पना गरिएको जानकारी गराउँदै डा. मिश्रले भनेकी छन्, ‘हाम्रो अन्तर्राष्ट्रिय सम्पर्क र शैक्षिक आदान प्रदानको क्षमताले विश्वविद्यालयलाई स्थापित गराउन कुनै कठिनाइ पर्ने छैन भने यसलाई स्वीकृति दिए वापत सरकारलाई कुनै आर्थिक भार पर्न दिइने छैन ।’

          July 15, 2018 5:08 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: