नेकपाका तल्ला कमिटीमा दुई पदाधिकारी र जनसंगठनमा धेरै

June 26, 2018 1:20 pm

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी राख्ने गरी एकताका लागि गठित कार्यदलले गृहकार्य अघि बढाइरहेको छ ।

नेकपाले प्रदेशका लागि सात र जनसंगठनका लागि २२ वटा तथा प्रवास कमिटीहरूको एकीकरणका लागि छुट्टै कार्यदल बनाएर एकताको गृहकार्य गरिरहेको छ ।

केन्द्रभन्दा तलका कमिटीमा दुईजना मात्र पदाधिकारी रहने गरी विधान बनेको छ । केन्द्रमातहत प्रदेश, जिल्ला, संघीय र प्रदेश निर्वाचन क्षेत्र, महानगर/उपमहानगर/नगर/गाउँपालिका, वडा र प्रारम्भिकसहित ६ तहका कमिटी बन्नेछन् ।

ती सबै तहका कमिटीमा अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने गरी विधानमा प्रस्ताव गरिएको नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसालले बताए । ‘केन्द्रभन्दा तलका कमिटीमा अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने व्यवस्था प्रस्ताव गरिएको छ,’ भुसालले भने, ‘एकताको भावनाअनुसार सन्तुलन मिल्ने गरी एउटा पक्षको अध्यक्ष भए अर्को पक्षबाट सचिव रहने गरी तल्लो तहसम्म एकीकरण सम्पन्न हुनेछ ।’ तल्ला तहका कमिटीका लागि गठित कार्यदलहरूले अहिले गृहकार्य गरिरहेका छन् ।

प्रदेशमा ‘सिनियर’ नेता अध्यक्ष

सातवटा प्रदेश कमिटीमध्ये तत्कालीन एमाले र माओवादी केन्द्र दुवैतर्फको सन्तुलन मिल्ने गरी नेतृत्वको बाँडफाँड गर्ने र ‘सिनियर’ नेतालाई अध्यक्ष बनाउने तयारी छ । विधानमा कसलाई बनाउने उल्लेख नभए पनि स्थायी समिति सदस्यमध्येबाट अध्यक्ष बनाइने एक सचिवालय सदस्यले बताए । तर, इन्चार्ज राख्ने कि नराख्ने विषय नेतृत्वले नै टुंगो लगाउने ती नेताले बताए ।

जनसंगठनमा धेरै पदाधिकारी राख्ने तयारी

नेकपाले २२ वटा जनसंगठन रहने गरी विधान बनाए पनि पदाधिकारीको संख्या र संरचनामा स्वायत्तता दिएको छ । पार्टीको नीति अँगाल्ने, तर पेसागत र सामुदायिक मुद्दा उठानका लागि जनसंगठनलाई स्वायत्तता दिएकाले जनसंगठन एकताका लागि गठित सबै कार्यदलले संख्या र संरचनाबारे स्वतन्त्र तरिकाले नयाँ विधानको गृहकार्य गरिरहेका छन् ।

                                                                                                                                                                                 नयाँपत्रिका दैनिक

          June 26, 2018 1:20 pm | राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: