‘छिमेकीसँग सहकार्यको वातावरण निर्माण गरेका छौं’ : प्रधानमन्त्री ओली 

June 26, 2018 12:52 pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरुसँगको सम्बन्ध सुधार भएको दाबी गरेका छन् ।

चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउँदै उनले भनेका छन्, भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध सुधारेर विश्वासको वातावरण निर्माण गर्न, समझदारी र सहकार्यको वातावरण बनाउन सरकार सफल भएको छ ।

मंगलबारको संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले छिमेकीहरुसँग समबन्ध सुधारेका छौं । दुवै छिमेकीसँग विश्वासको वातावरण निर्माण गर्न, समझदारी र सहकार्यको वातावरण गर्न सफलता प्राप्त गरेका छौं ।’

प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘क्षणिक हिसाबले कुनै प्रकारणको कार्ड खेल्ने, एकका बिरुद्ध अर्को उचाल्ने, तत्कालिन हितका निम्ति गैरजिम्मेवार हुनेजस्ता काम हामीबाट हुँदैनन् ।’

भारत र चीन दुबैसँग लगानी र विकासका लागि विश्वासयोग्य, भरपर्दो सहयोग र सहकार्यको वातावरण निर्माण भएको उनको दाबी छ ।

आफूले छिमेकीहरुका जायज चिन्ता, चासो र सरोकारलाई बुझेको भन्दै प्रधानमन्त्री ओलीले तिनलाई सम्बोधन गर्दै नेपालको विकासमा दुबै छिमेकीलाई साझेदार बनाउने  विश्वास व्यक्त गरे ।

‘कतिपयले भित्र के हो, कसो हो वा बाहिर के कति हो ? के भयो भन्ने गरेका छन्’ प्रधानमन्त्री ओलीले भने ‘हामी भित्र एउटा वा बाहिर अर्को गर्दैनौं ।’ दुई छिमेकीहरुबीचका समझदारी र सहकार्य विकास गर्न नेपालको योगदान सकारात्मक रहेको उनले बताए ।

‘हामी यता ढल्कने वा उता ढल्कने होइन । पारस्परिक लाभ, सम्मान र  स्वभिमानका आाधारमा, न्यायोचित हित र अन्तराष्ट्रिय दायित्व लिएर अन्तराष्ट्रिय  सम्बन्ध सञ्चालन गर्छौ । हामी शान्ति र समझदारीको पक्षमा छौं, तनावको पक्षमा छैनौं’ प्रधानमन्त्रीले आफ्नो दृष्टिकोण प्रष्ट्याए ।

          June 26, 2018 12:52 pm | मुख्य समाचार,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: