२०८० फागुन १९, शनिवार , ११:३५:२९ बजे

Sajhamanch
'

शिवसताक्षीमा नौमति बाजाको संरक्षण र प्रवर्धनका लागि तालिम सञ्चालन

बुधवार, माघ २४, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नौमति बाजाको संरक्षण र प्रवर्धनका लागि कार्यक्रम सुरु गरेको छ । नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला शिवसताक्षी नगरपालिकाबाट नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलाहरुलाइ नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको छ ।

तालिमको उद्घाटनका क्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्राले आधुनिक बाजाको प्रभावले नेपाल र नेपालीको मौलिकता ओझेलमा परिरहेको महशुस गरि मौलिक बाजाको प्रशिक्षण मार्फत सास्कृतिक जगेर्नाको कार्यथालनी गरिएको बताए । पछिल्लो समय नौमती बाजा कुनै एउटा समुदायले मात्रै बजाउने प्रचलन हट्दै सबै समुदायले यसको संरक्षण र प्रयोग गर्न थालेको उनको भनाई थियो ।

नौमतीबाजा सबै जातजाती, सबै क्षेत्र, सबै वर्ग, सबै धर्ममा आफ्नो संस्कृति अनुसार प्रयोग गरि हर्षउल्लासका साथ आपसी सद्भावको आदान प्रदान गर्ने माध्यम हो । धातु, निर्दिष्ट वनस्पतीको काठ र जिवको छालाबाट तयार गरि ध्वनीको माध्यमबाट सकारात्मक तरंगहरुको प्रवाहले वातावरण नै उल्लासमय हुने विषय अहिले भौतिक विज्ञानले समेत स्विकारेको छ । अतः बाजा हाम्रो संस्कृति हो । संस्कृति भनेको हाम्रो दायित्व हो । हाम्रो संस्कृति भनेको हाम्रो पहिचान हो। हाम्रो संस्कृति नभए हाम्रो नगर, प्रदेश र राष्ट्रको अस्तित्व रहँदैन । नगरले यस संस्कृतिको महत्व बुझी यसको संरक्षण, प्रवर्धनमा आवश्यक कार्य गर्नुपर्ने नगरको दायित्व भएकोले नगरपालिको यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम अधिकृत महेश लामिछानेले बताए ।

महिलासँग उपमेयर कार्यक्रम अन्तरगत गृहिणी महिलाहरुलाई आवश्यक ज्ञान सीप र प्रविधि समेत प्रदान गरी नेपाली मौलिकताको जगेर्ना गर्दै आर्थिक विकासमा महिलाहरुको योगदान निर्दिष्ट गरी स्वावलम्बी बनाउने उदेश्यकासाथ यो कार्यक्रम वार्षिक कार्यक्रममा समावेस गरिएको नगर उपप्रमुख नगरमाया कार्कीले जानकारी दिइन् ।

कार्यक्रमा नगरपालिकाका २ लाख ५० हजार र सहभागीहरुबाट ६५ हजार लागत सहभागिता सहित २० जना सहभागीहरुलाइ १५ दिवसिय प्रशिक्षण तालिम पश्चात एक सेट नौमतीबाजा प्रदान गर्ने कार्यक्रम रहेको र यसको प्रशिक्षण झापाकै श्रीदेवी पञ्चकन्या नौमती बाजा महिला सस्थाका तालिम प्राप्तबाट प्रशिक्षण गरिने योजना शाखा प्रमुख प्रकाशचन्द्र चौधरीले बताए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता शिवसताक्षी नगरपालिका वडा नं ११ का वडाध्यक्ष श्री बहादुर आङ्बोले गरेका थिए । कार्यक्रम सतासी सामुदायिक अध्ययन केन्द्र दुधेमा संचालन गरिएको थियो । वडा सदस्य, स्थानीय नागरिक, स्थानीय पत्रकार, लगायतको उपस्थितिमा पञ्चेबाजाको गडगडाहट उल्लासमय धुनमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

बुधवार, माघ २४, २०८० | विविधा, समाज

सम्बन्धित खबर