२०८० फागुन १७, बिहिवार , ०१:४४:४९ बजे

Sajhamanch
'

विपी प्रतिष्ठानको हालत, समस्याप्रति एमालेको चासो, अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र, शिक्षक र चिकित्सक कल्याण समाजले पनि ओलीलाई गराए ध्यानाकर्षण

बुधवार, माघ २४, २०८०

झापा । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि पहल गरिदिन नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ ।

उपमहानगर कमिटीको अगुवाइमा मंगलबार झापा आएर नेताहरुले यो समस्याको समाधानका लागि पहल लिइदिन अनुरोध गर्दै ध्यानाकर्षण पत्र ज्ञापन पत्र पनि बुझाएका छन् ।

पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डारीको नेतृत्वमा पुगेको टोलीले बुझाएको ध्यानाकर्षण पत्र लिनासाथ नेकपा एमालेका अध्यक्ष ओलीले प्रतिष्ठानका कुलपति, प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर प्रतिष्ठानको समस्याबारेृ जानकारी लिएका थिए ।

प्रधानमन्त्री दाहालले दुई–तीन दिन भित्रै समस्याको समाधान खोज्ने प्रतिवद्धता एमाले अध्यक्ष ओलीसँग राखेको प्रतिनिधिमण्डललाई जानकारी गराए ।

कोशी र मधेस प्रदेशको मुख्य स्वास्थ्य उपचारको केन्द्रको रुपमा रहेको र देशकै उत्कृष्ट चिकित्सा शिक्षा अध्ययन अध्यापन हुने प्रतिष्ठान लामो समयदेखि समस्यग्रस्त छ । यतिबेला अस्पतालका सिनियर डाक्टहरु आन्दोलनमा छन् । केही समय अघि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आन्दोलनकारीलाई समर्थन गर्दै प्रतिष्ठानमा तालाबन्दी गरेका थिए । तर अदालतले अस्पतालमा ताला लगाउन रोक लगाएपछि डाक्टहरु आन्दोलनमा उत्रिएका हुन् ।

खासगरि सत्तारुढ दलहरुको स्वार्थका कारण प्रतिष्ठान राम्रोसँग सञ्चालन हुन नसकेको एमालेले जनाएको छ । पछिल्लो समय प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरुले बृत्ति विकास, बढुवा तथा अनुसन्धान सम्बन्धी विषयलाई उठाएर गरिरहेको आन्दोलन जायज भएको बताउदैं तर अस्पताल सेवा, शैक्षिक कार्यक्रम र अनुसन्धानका कार्यहरु अवरोध गर्न नहुने एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंङ एभेङले बताए ।

हरेक पदाधिकारीहरु भ्रष्ट्राचारमा मुछिने, निर्माण तथा खरिद कार्यहरुमा अनियमितता हुने, कर्मचारी नियुक्ति तथा आन्तरिक काम बाँडफाँडमा राजनीतिकरण हुने गरेकाले आज प्रतिष्ठान कमजोर अवस्थामा पुगेको एमालेको ठहर छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छः ‘प्रतिष्ठानको समस्या समाधान गर्न हाम्रो पार्टीको विषेश पहल नहुँदा सत्तारुढ दलहरुको अस्वभाविक गतिविध समेत बढ्दै गएको छ । ठूलो र जनताको पार्टी भएका कारण पनि प्रतिष्ठानको समस्या समाधानमा नेकपा एमालेको भूमिकालाई आम धरानबासीले नियालिरहेका छन् ।

प्रतिष्ठानमा हाल देखिएको शिक्षक, कर्मचारी तथा विद्यार्थीको आन्दोलनलाई सम्बोधन गर्न र प्रतिष्ठानको अस्पताल सेवा, शैक्षिक कार्यक्रम, अनुसन्धानजस्ता कार्यहरुलाई गुणस्तरीय बनाउन सरकार समक्ष विषेश पहल गरिदिनु हुन अनुरोध गर्दछौं ।’

अध्यक्ष ओलीसँगको भेटमा प्रदेशसभा सदस्य रमेश बस्नेतले प्रतिष्ठानका समस्याबारे अवगत गराउँदै प्रधानमन्त्रीसँग बसेर कुरा गर्दामात्र विपी प्रतिष्ठानको समस्या समाधान गर्न सकिने अध्यक्ष ओलीलाई जानकारी गराएका टोलीमा सहभागी पत्रकार देवेन्द्र कार्कीले जानकारी दिए ।

एमाले धरानको प्रतिष्ठानप्रतिको चासो र चिन्ता

धरानको एकमात्र गहना प्रतिष्ठान धरासायी बन्दैगर्दा नेकपा एमालेले चासो र चिन्ता चुलिएको छ । प्रतिष्ठानको समस्या समाधानका लागि पदाधिकारी, शिक्षक, कर्मचारी लगायतसँग पटक पटक छलफल र परामर्श गरेको सुनसरी क्षेत्र नं. १ का इञ्चार्ज तथा प्रदेश सभा सदस्य विजयकुमार राईले बताएका छन् ।

एमालेकै नेतृत्वमा धरानमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुले प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री मोहनकुमार बस्नेतलगायतलाई काठमाडौ पुगेर ध्यानाकर्षण गराएको थियो । तर समस्या सुल्झाउन कुनै चासो नदेखाए पछि प्रतिष्ठामा झन समस्यामा बढ्दै गएको हो ।

प्रतिष्ठानका समस्या समाधानका लागि सरोकारवाला, नागरिक समाजसँग पनि एमालेले छलफल गर्दै आएको छ । तर कुनै निकास नआए पछि केन्द्रीय नेतृत्व नै गम्भीर बन्नुपर्ने आवश्यकता देखिएकाले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको केन्द्रीय सदस्य मञ्जु भण्डारीले बताइन् ।

शिक्षक र चिकित्सक कल्याण समाजले पनि ओलीलाई ध्यानाकर्षण गराए

विपी प्रतिष्ठान शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज खानको नेतृत्वमा आएको अर्को प्रतिनिधि मण्डलले पनि प्रतिष्ठानको
समस्या, चिकित्सकहरुको समस्याबारे लिखित ध्यानाकर्षण गराएका छन् । उनीहरुले चिकित्सक र कर्मचारी बढुवाका विषयमा भएको सहमति र लामो समयदेखि बढुवा नहुँदा प्रतिष्ठानमा देखिएको असरबारे अध्यक्ष ओलीलाई अवगत गराएका थिए ।

वृत्ति विकास नहुँदा विज्ञ चिकित्सकहरु पलायन

प्रतिष्ठानमा आवास तथा देश विदेशमा अनुभव आदान प्रदान गर्न जाने अवसर तथा डब्बल सेवा सुविधा पाउने हुँदा चिकित्सकहरु नीजिमा राम्रो सुविधा भए पनि विपीमा काम गरिरहेका थिए । प्रतिष्ठानमा स्वास्थ्य उपचारसँगै शैक्षिक ज्ञान आदनप्रदान पनि हुने गरेकाले धेरै राम्रा चिकित्सक प्रतिष्ठानमा कार्यरत थिए । तर पछिल्लो समय वृत्ति विकास नभए पछि चिकित्सक निरास छन् । शैक्षिक क्यालेण्डर विग्रँदा विद्यार्थीहरुको संख्या पनि घटेको छ भने प्रतिष्ठान छाडेर चिकित्सक अन्यत्र जान क्रम बढेको छ ।

प्रतिष्ठानमा एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिसन प्रोफेसरहरूको सात वर्षदेखि रोकिएको आन्तरिक पदपूर्ति तथा बढुवा प्रक्रिया सात महिनाअघि सुरु भएको थियो । तर, लोकसेवा आयोगले शिक्षक सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०६९ को प्रस्तावित मस्यौदा स्वीकृत गरी आयोगबाट मात्र पदपूर्ति प्रक्रिया अगाडि बढाउन प्रतिष्ठानलाई निर्देशन दिएपछि शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् ।

सो पछि प्रतिष्ठानमा कार्यरत १३० जना फ्याकल्टी शिक्षक र करिब १२ सय कर्मचारीको आन्तरिक बढुवा रोकिएको छ । वृत्ति विकास नै नभए पछि राम्रा चिकित्सक अन्यत्र पलायन भएका हुन् । १० वर्षको अवधीमा झण्डै ८० जना विशेषज्ञ चिकित्सकले प्रतिष्ठान छाडेको तथ्याङ्क छ ।

सम्बन्धित खबर