२०८० फागुन २०, आइतवार , ०७:५४:४४ बजे

Sajhamanch
'

यमनको होडेडाहमा अमेरिका र बेलायती लडाकु विमानको हवाई हमला

मङ्गलवार, माघ २३, २०८०

अडेन । संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह सहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टीभीले जनाएको छ ।

होडेडाह सहरको रणनीतिक रेड सी बन्दरगाहलाई निसाना बनाई अल–काथीब क्षेत्रमा दुई हवाई बमबारी भएको जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार आक्रमणमा सर्वसाधारणको मृत्यु भएको छ । केही घाइतेलाई तत्काल चिकित्सा उपचारका निम्ति नजिकैका अस्पतालहरूमा लगिएको छ ।

पछिल्लो हवाई आक्रमण जनवरी १२ देखि वासिङटन र लन्डनद्वारा जारी सैन्य प्रतिक्रियाको एक हिस्सा हो । साना र अरू उत्तरी प्रान्तहरूको हुथी–नियन्त्रित क्षेत्रलाई लक्षित गर्दै आक्रमण जारी राखिएको छ ।

अन्तर्राष्ट्रिय कारबाही लालसागरमा व्यापारिक ढुवानीमा हुथी आक्रमणको बदलाका रूपमा गरिएको बताइएको छ ।

गएको नोभेम्बरदेखि लालसागर, बाब अल–मन्डब स्ट्रेट र अडेनको खाडीमा सैन्य कारबाहीमा संलग्न हुथीहरूले इजरायली र इजरायल जाने जहाजहरूलाई निसाना बनाएको दाबी गरिएको छ ।

गाजामा अक्टोबरदेखि चलिरहेको युद्धको पृष्ठभूमिमा यी कार्य विकास भएको हो । स्थिति तनावपूर्ण बन्दै गएको छ । तर, दुवै पक्षले तनाव कम गर्ने कुनै संकेत देखाएको छैन ।

सम्बन्धित खबर