२०८० फागुन १७, बिहिवार , ०३:५३:०४ बजे

Sajhamanch
'

लेबनान–इजरायल सीमामा भिडन्त : दुईजनाको मृत्यु, दुई घाइते

सोमवार, माघ २२, २०८०

काठमाडौं । दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । दुई सर्वसाधारण घाइते भएका छन् ।

सिभिल डिफेन्स र मुस्लिम स्काउट एसोसिएसनका आधिकारिक स्रोतका अनुसार, हवाई हमलाबाट चार भवन पनि ध्वस्त भएको छ । गाउँका अरू घरहरूमा आंशिक क्षति पुगेको छ । लेबनानी सैन्य स्रोतले इजरायली लडाकु विमानहरूले गएको २४ घण्टामा सीमा क्षेत्रका ‘लक्ष्य’हरूमा २१ आक्रमण गरेको बताएको छ ।

दक्षिणी लेबनानको २५ सहर र गाउँहरूमा धेरै आक्रमण गरिएको जनाइएको छ । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली लडाकु विमानहरूले अल–तैबेहमा एक हिजबुल्लाह सैन्य भवन र मिसाइलहरूको भन्डारणस्थललाई ध्वस्त पारेको बताएका छन् ।

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इरोन र एविभिमको इजरायली बस्ती र त्यहाँका अरू धेरै ‘साइट’हरूमा आक्रमण गरेको जनाएको छ । हिज्बुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा अघिल्लो दिन इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा अक्टोबर ८ देखि तनाव बढेको हो ।

हिजबुल्लाह र इजरायलबीचको भिडन्तमा लेबनानी पक्षका २४४ जनाको मृत्यु भएको छ । तीमध्ये १७६ हिजबुल्लाह सदस्य र ३९ नागरिक हुन् ।

सम्बन्धित खबर