२०८० फागुन १७, बिहिवार , ०४:४४:५३ बजे

Sajhamanch
'

एमाले धादिङ विवाद मिलाउने प्रयास, भोलिदेखि अधिवेशन सञ्चालन गर्ने तयारी

सोमवार, माघ २२, २०८०

काठमाडौं । नेकपा (एमाले)को धादिङ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवाद मिलाउने प्रयास गरिएको छ । विवाद मिलाउन केन्द्रबाटै पहलकदमी लिइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनसँग सम्बन्धित दुवै पक्षलाई बालकोटमा बोलाएर छलफल गरेका थिए । छलफलपछि विवाद समाधानका निम्ति उनले संगठन विभागलाई निर्देशन दिएको एमाले वाग्मती प्रदेश कमिटीका सचिव नवराज सिलवालले जानकारी दिए ।

प्रदेश इन्चार्ज गुरु बराल, वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, सचिव सिलवाल, धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठी, धादिङ अधिवेशनका अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटालगायत नेता बालकोट पुगेका थिए । त्यसक्रममा अधिवेशन पुनः सञ्चालन गर्न पार्टीको केन्द्रीय संगठन विभागबाट दुई प्रतिनिधि धादिङमा पठाउने निर्णय भएको छ । केन्द्रबाट दुई प्रतिनिधि गई वस्तुस्थिति बुझेर विवाद समाधान गर्दै भोलि (मंगलबार) अधिवेशनको बन्दसत्र अगाडि बढाउने तयारी छ ।

अध्यक्ष ओलीको सो निर्देशनपछि संगठन विभागका पदाधिकारीसित आफूहरूको छलफल हुन लागेको सिलवालले जानकारी दिए । छलफलबाट धादिङमा जाने दुई प्रतिनिधिको नाम टुंगो लगाइने उनले बताए ।

“विवाद समाधान गरेर भोलिदेखि अधिवेशन सुचारु गर्ने निर्णय भएको छ,” उनले भने, “आज संगठन विभागले धादिङ पठाइने दुई प्रतिनिधिको छनोट गर्नेछ । त्यसका लागि हामी छलफल गर्दै छौँ ।”

यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि आज बिहान ८ बजेसम्मका निम्ति बैठक स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए ।

सम्बन्धित खबर