२०८० फागुन १६, बुधवार , ०७:३३:४० बजे

Sajhamanch
'

देशकै ठूलो विलिभर्स चर्च बिर्तामोडमा, शुक्रबार सार्वजनिकीकरण

आइतवार, माघ २१, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकामा नेपालकै ठूलो चर्च निर्माण गरिएको छ । वडा नम्बर ४ मा नवनिर्मित सन्त पावल विलिभर्स ईष्टर्न चर्च भौतिक संरचना र क्षेत्रफलको हिसाबले नेपालकै ठूलो, ब्यवस्थित र नमूनाको रुपमा रहेको बताइएको हो ।

करिव तीन करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको सो सेवा भवनको निर्माण कार्य तीन वर्षअघि शुरु भएको थियो । पूर्वीय परम्परागत नियम तथा विधि अनुसार संचालन गरिने हुनाले यसको संरचना त्यही अनुसार निर्माण गरिएको जनाइएको छ ।

साढे नौ कठ्ठा क्षेत्रफलमा फैलिएको सेवा भवनमा एक हजार सहभागी अट्ने क्षमता छ । आकर्षक पार्क, चमेना गृह निर्माण गरिएको सो चर्चलाई अवलोकन गर्न आउनेहरुले सेल्फी तथा फोटो, भिडियो खिच्न रुचाउने गरेको पाइएको चर्चका सेवक वीरु दर्नालले बताए ।

बाँसको टाटी र छानोमा २०५१ सालमा २ जनाबाट सुरु गरिएको चर्च आजसम्म ७ सयबढीको संख्यामा पुगेको छ । यो चर्च तत्कालीन पास्टर हाल विशप डीबी तामाङले सुरु गरेका थिए ।

सन्त पावल विलिभर्स ईष्टर्न चर्च बिर्तामोडको नवनिर्मित सेवा भवनको धार्मिक विधिअनुसार शुक्रबार अर्पण कार्य सम्पन्न भएको छ । साथै शनिबार एक कार्यक्रमका बीच सार्वजनिकीकरण गरिएको छ ।

दिल्ली आर्क डायोसिसका आर्क विशप हिज ग्रेस जाने आईरेनियस एपिस्कोपाले धार्मिक विधि अनुसार शुक्रबार सेवा भवनको अर्पण कार्य सम्पन्न गरेका हुन् ।

नमूनाको रुपमा हेरिएको उक्त सेवा भवन अर्पण कार्यक्रममा छिमेकी मुलुक भारतका सिक्किम, दार्जीलिङ, सिलगडीलगायत नेपालका विभिन्न जिल्लाबाट विश्वासीजनहरुको ठूलो संख्यामा सहभागिता थियो । शुक्रबार सम्पन्न अर्पण कार्यक्रममा एक हजार बढी विश्वासीजनको सहभागिता रहेको चर्चका डिकन फादर समर वाग्लेले बताए ।

यस्तै यस सेवा भवनबारे स्थानीय राजनीतिक दल, समाजसेवी, संचारकर्मी तथा स्थानीय छरछिमेकीलाई जानकारी दिने उद्देश्यले एक कार्यक्रमका बीच सार्वजनिकीकरण गरिएको डिकन फादर राजु खडियाले बताए ।

चर्चका रेभरेन फादर भिखार जनरल चित्रकुमार रुपाचाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको औचित्य तथा सेवा भवन निर्माणबारे काठमाडौ आर्क डायोसिसका आर्क विशप टाइटेस मोर ओस्थाथियोस एपिस्कोपाले जानकारी दिएका थिए ।

चर्चका जिल्ला फादर तथा भद्रपुर मण्डलीका फादर जगत वाग्लेको संचालन र डिकन फादर समर वाग्लेले स्वागत मन्तव्य गरेको कार्यक्रममा कोशी प्रदेशका निवर्तमान मन्त्री तथा झापा क्षेत्र नं. २ (क) का सांसद एकराज कार्की, बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतारा प्रसाईं, नेकपा (एमाले) झापाका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरी, माओवादी केन्द्र जिल्ला अध्यक्ष राजु आचार्य, बिर्तामोड खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले धर्म निरपेक्ष राष्ट्रमा सबै धर्मले आफ्नो काम र सेवा स्वतन्त्र ढंगले गर्न पाउनु पर्नेमा जोड दिए । बिर्तामोड नगरकै गौरवको रुपमा निर्माण भएको सो चर्च भवन र यसका अनुयायीहरुको संरक्षण, सुरक्षा एवम् सवलीकरणमा स्थानीय सरकारले साथ दिने उनीहरुको भनाई थियो ।

कार्यक्रममा बिर्तामोड वडा नम्बर ४ का वडा अध्यक्ष राहुल शर्मा, मेची आँखा अस्पताल समितिका सचिव गणेश पोखरेल, एमाले नगर अध्यक्ष सुवास भट्टराई, माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बा तथा सचिव गणेश कालिकोटे, नगर कार्यपालिका सदस्य निर्मला गजमेर, सहकारीकर्मी भानु दंगाल, माओवादी नेता शिवराज भण्डारी, किवी कृषक तथा अग्रज विश्वासी तारमणि खतिवडा, अग्रज विश्वासी टिकाराम शिवा, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख, प्रहरी नायव उपरीक्षक सुरज कार्कीलगायतको आतिथ्य थियो ।

सम्बन्धित खबर