२०८० फागुन १०, बिहिवार , ०१:३९:२८ बजे

Sajhamanch
'

पूर्वी युक्रेनमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या २८ पुग्यो : रूसी उद्धारकर्ता

आइतवार, माघ २१, २०८०

मस्को । युक्रेनको पूर्वी सहर लिसिचान्स्कस्थित एक बेकरीमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या २८ पुगेको रूसी उद्धारकर्ताले आइतबार बताएका छन् । आक्रमणमा एक बालकको पनि मृत्यु भएको थियो ।

कब्जापछि उक्त क्षेत्रलाई हेर्दै आएको मस्कोको सेनाले शनिबार भनेको छ, “रूसले युक्रेनविरुद्ध आक्रमण गरेको लगभग दुई वर्षपछि पुग्नै लाग्दा गत साताको अन्त्यमा युक्रेनले बेकरीलाई निशाना बनाएको थियो ।

पूर्वी युक्रेनको मोर्चा केही महिनायता मुस्किलले अघि बढेको छ तर युद्ध अझै रक्तपातपूर्ण छ र पछिल्ला हप्ताहरूमा दुवै पक्षबाट आक्रमण तीव्र भएको छ ।

“बेकरीस्थलमा खोजी कार्य जारी छ । एक बच्चासहित २८ जनाको मृत्यु भएको पुष्टि भएको छ,” रूसी आपतकालीन व्यवस्था मन्त्रालयले टेलिग्राममा भनेको छ ।

उद्धारकर्ताले अहिलेसम्म १० जनालाई भग्नावशेषबाट बचाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघि आपतकालीन कर्मचारीले अँध्यारोमा भग्नावशेष खोतल्दै गरेको भिडियो सार्वजनिक गरेको थियो । उक्त स्थानबाट उद्धारकर्ताहरूले एक मृतक र एक घाइते महिलालाई स्ट्रेचरमा राखेर बाहिर निकालिएको देखेका थिए ।

मस्कोस्थित अधिकारीहरूले एक घाइतेको अवस्था गम्भीर रहेको र उनलाई लुगान्स्क सहरको एक अस्पतालमा लगिएको बताएका छन् ।

रुसको विदेश मन्त्रालयले आक्रमणमा पश्चिमा हतियारको प्रयोग भएको र अन्तर्राष्ट्रिय संगठनबाट यस घटनाको ‘तत्काल निन्दा’ हुने अपेक्षा गरिएको जनाएको छ ।

मस्कोको आक्रमणअघि करिब एक लाख १० हजार जनसंख्या भएको लुगान्स्क क्षेत्रको एक सहर लिसिचान्स्क सन् २०२२ को ग्रीष्मऋतुमा भएको व्यापक युद्धपछि रूसी सेनाको कब्जामा परेको थियो ।

सम्बन्धित खबर