२०८० फागुन ८, मङ्गलवार , ०७:४४:४२ बजे

Sajhamanch
'

खानेपानीको साधारण सभामा स्तम्भकार, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कृषक र उत्कृष्ट बुहारीलाइ जनही ५१ हजार रुपैयाँको पुरस्कार प्रदान

शनिवार, माघ २०, २०८०

कनकाई । भवानी—हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समिति कनकाई ६ को आज भएको साधारणसभामा एकजना स्तम्भकार, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कृषक र उत्कृष्ट बुहारीलाई जनही ५१ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको छ ।

कनकाई नगरपालिका वडा नं. ६ मा रहेको चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षय कोषबाट चारैजनालाई नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा स्तम्भकार एवम् कनकाई खबरका सल्लाहकार सम्पादक तीर्थराज खरेल, कनकाई मावि सुरुङ्गाबाट कक्षा १२ मा सर्वोच्च अंक ल्याउने छात्र सम्रेश भेट्वाल, कनकाई नगरका उत्कृष्ट कृषक कनकाई— ७ निवासी नरहरि शिवाकोटी र उत्कृष्ट बुहारीका रुपमा कनकाई— ६निवासी तारा रिजाल खतिवडा पुरस्कृत भएका हुन् ।

उनीहरु सबैजना आफ्नो कर्मक्षेत्रका उत्कृष्ट प्रतिभा भएको महसुस गरी सम्मान गरिएको पुरस्कृत व्यक्तित्व छनौट समितिका संयोजक चन्द्रमोहन उप्रेतीले जानकारी दिए ।

अक्षयकोष स्थापनाको उद्दश्य माथि प्रकाश पार्दै कोषका अध्यक्ष उप्रेतीले हरेक वर्ष भवानी—हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभाका दिन पुरस्कार वितरण गरिने जानकारी दिए । भवानी—हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी उप्रेतीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको संस्थाको सातौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार सहित चारवटा विधामा सम्मान गरिएको हो ।

सम्मानित सबै जनालाई संस्थाका अध्यक्ष उप्रेतीसहित नगर प्रमुख पोखरेलले जनही ५१ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।

भवानी—हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उप्रेतीसहितको परिवारले स्थापना गरेको कोषको ब्याजबाट उनीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै कोषका संरक्षक चिरञ्जीवी उप्रेतीले भिन्नाभिन्नै चारवटा विधामा पुरस्कार स्थापना गरेको र फरक–फरक विधाका व्यक्तिलाई सम्मान गरिएको बताए ।

साधारणमा सभामा अध्यक्ष उप्रेतीले आगामी योजनासहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष भरतकुमार थपलियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । साधारणसभामा लेखा समितिका संयोजक शम्भुप्रसाद पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।

संस्थाका सचिव जीवनकुमार श्रेष्ठ र सहसचिव अनुप ओलीले संयुक्तरुपमा संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कनकाई वडा नं.८ का वडाअध्यक्ष लीलावहादुर कटुवाल, सम्मानित व्यक्तित्व तीर्थराज खरेल, खानेपानी डिभिजन कार्यालय झापाका प्रमुखलगायतले मन्तव्य राखेका थिए ।