२०८० फागुन २०, आइतवार , १२:३१:४० बजे

Sajhamanch
'

भारतसँग हारेसँगै विश्वकपमा नेपालको यात्रा समाप्त

शनिवार, माघ २०, २०८०

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतसँग १३२ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा भएको खेलमा भारतले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो ।


भारतविरुद्ध नेपालका कुनै पनि ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । नेपाली टिमको खातामा कप्तान देव खनालले ३३ रन बनाए । उनले ५३ बलमा दुई चौका प्रहार गरे ।

अर्जुन कुमालले २६, दीपक बोहराले २२, दुर्गेश यादवले २९ र आकाश चन्दले १८ रन थपे । यी दुईले अन्तिम विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । यसबाहेक, नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न भारतका सौमी पान्डेले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन फ्याक्दै २९ रनमात्र खर्चिए । अर्सिन कुलकर्णीले दुई विकेट लिँदा राज लिम्बानी, आरध्य शुक्ला र मुरुगन अभिषेकले समान एक विकेट लिए ।

टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।
भारतका सचिनले ११६ रन बनाए । उनले १०१ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । ६२–३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका सचिनले कप्तान उदयसँग २१५ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्‍याए ।

युवा विश्वकपमा भारतले चौथो विकेटका लागि बनाएको यो नै अहिलेसम्मकै उच्च साझेदारी हो ।

सचिनसँगै शतक बनाएका कप्तान उदयले १०० रन बनाए । उनले १०७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक, आदर्श सिंहले २१, प्रियान्सु मोलियाले १९ र अर्सिन कुलकर्णीले १८ रन बनाए ।

नेपालका गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । आकाश चन्दले एक विकेट लिँदा नेपालले अर्को एक विकेट भने रनआउटबाट निकालेको थियो ।
यसअघि सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

सम्बन्धित खबर