२०८० फागुन १९, शनिवार , १२:३५:५३ बजे

Sajhamanch
'

झापामा ९ महिनामा हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

मङ्गलवार, पौष २४, २०८०

झापा । पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा बढोत्तरी आएको छ। आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरू बताउँछन्।

जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग ९घाइते० भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। सोही अवधिमा छवटा हात्ती मारिएका छन्।

हात्ती आक्रमणका घटना अध्ययन गर्दा बिहानी पैदलयात्रा 9मर्निङ वाक) गर्ने, जङ्गल छेउछाउ घाँसदाउरा काट्ने र जङ्गलभित्र निगुरो र च्याउ टिप्न जाने मानिस निशानामा परेको देखिन् । कचनकबल–७ का ८२ वर्षीय वृखबहादुर राईको एक वर्षअघि हात्तीको आक्रमणमा दिनदहाडै मृत्यु भएको थियो। दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न जाँदा उनलाई हात्तीले आक्रमण गरेको थियो।

गत असारमा भद्रपुर–७ का ५३ वर्षीय गिरेन कर्मकारलाई बिहानको ४ बजेतिर देउनिया खोलाको बगरमा हात्तीले खेदाएर मार्‍यो। उनी हल्दिबारीको चिया बगानमा जङ्गली च्याउ खोज्न जाँदा हात्तीको आक्रमणमा परे। जिल्लाको उत्तरी चुरे भागबाट दक्षिणको जलथल प्राकृतिक वन क्षेत्र हात्तीको पुरानो विचरण क्षेत्र पर्दछ। यहाँ भारतको आसामबाट हात्तीको बथान बर्सेनि आउने गर्छन् भने डेढ दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका रैथाने हात्तीको बासस्थान नै यहीका जङ्गल भएको छ।

हात्तीसम्बन्धी अध्येता झापा र मोरङको धेरै भूभाग कैयन पुस्तादेखि हात्तीको विचरण क्षेत्र रहेको मान्छन्। हात्तीको पुरानो बासस्थान भनिएको उहिलेको जङ्गली ठाउँमा अहिले मानव बस्ती बाक्लिइसकेको छ। बितेको ६० वर्षमा जङ्गल मासिएर मान्छेको बस्तीले ढाकिसकेको अवस्था छ। तीक्ष्ण स्मरण शक्तियुक्त प्राणी भएको हुँदा हात्तीले आफ्नो पुर्खादेखिको विचरण स्थानमा स्वतन्त्रतापूर्वक डुलफिर गर्ने चाहना राख्ने गरेको हात्ती अध्येता शङ्कर लुइँटेल बताउँछन्।

‘पुरानो विचरण क्षेत्रमा अहिले मानव बस्तीले ढाकेको देखेर हात्तीमा क्रोध उत्पन्न हुन्छ,’ लुइँटेल भन्छन्, ‘यसकारण हात्तीले बस्ती पसेर घर भत्काउने गर्दै आएको छ।’

हात्तीले आफ्नो पुरानो विचरणस्थल अतिक्रमण भएकोमा भन्दा बढी आफ्नो आहारमा मानिसले अवरोध पुर्याएको ठान्दा हिंस्रक व्यवहार प्रदर्शन गर्ने उनी बताउँछन्। हात्ती आहारको खोजीमा गाउँ पसेको बेला मर्निङ वाकमा हिँडेका, निगुरो र च्याउ टिप्न गएकाहरु हिंस्रक आक्रमणको निशानामा पर्ने गरेका छन्।

हल्दिबारी–२ वडा कार्यालयका कर्मचारी पताल राजवंशीको यही पुसको पहिलो साता मर्निङ वाकमा हिँडेका बेला हात्तीको आक्रमणमा परेर मृत्यु भयो। हात्तीले एकान्तस्थलमा मारेपछि स्याउला र पत्करले छोपेर हिँडेको पाइएको थियो। शिवसताक्षी–११ का ४५ वर्षीय मेघराज राईको यही पुस १३ गते राति हात्तीले घरछेउमै आक्रमण गर्दा मृत्यु भयो। हात्ती घर भत्काउन थालेपछि ज्यान जोगाउन बाहिर निस्कँदा राई हात्तीको निशानामा परेका थिए।

हात्तीको क्षति न्यूनीकरणका लागि मानव–हात्ती सहअस्तित्वको नीति अख्तियार गर्न आवश्यक रहेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की बताउँछन्। जनप्रतिनिधि हुनुअघि विगत दुई दशकदेखि उहाँ हात्तीबाट मानिसको जनधनमा हुने क्षति न्यूनीकरणका लागि विभिन्न नयाँ अभ्यास भित्र्याउने अभियन्ताका रूपमा चिनिन्छन्।

‘हात्ती आफैंमा आक्रामक प्राणी होइन। उसको बासस्थान र आहारमा व्यवधान भएको महसुस भयो भने उसले आक्रामक व्यवहार देखाउँछ,’ वडाध्यक्ष कार्की भन्छन्, ‘मान्छे र हात्तीबीच द्वन्द्वको सबैभन्दा लामो इतिहास भएको बाहुनडाँगीमा हामीले सहअस्तित्वको नीतिलाई व्यवहारमा लागू गर्न थालेका छौं। यसले क्षति न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको छ।’

जिल्लामा हात्तीले पहिलोपल्ट चार दशकअघि बाहुनडाँगीमा मानिसलाई आक्रमण गरी मारेको थियो। बर्सेनि बाहुनडाँगीमा मानिसको मृत्यु हुने कारण हात्तीको आक्रमण भएको थियो। त्यहीकारण बाहुनडाँगी हात्तीपीडित क्षेत्रका रूपमा चिनिन पुग्यो। तर सहअस्तित्वको नीति व्यवहारमा लागू गर्न थालिएपछिको विगत पाँच वर्षमा बाहुनडाँगीमा एक जनाको पनि मृत्यु भएको छैन। हात्ती छेक्न सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएका कारण एक दशकदेखि भारतीय जङ्गलबाट आउने हात्तीको बथान मेचीको बगरमै रोकिने गरेका छन्।

बाहुनडाँगीमा हात्तीले बाली खाएमा क्षतिपूर्ति दिनका लागि बाली बीमा गर्न थालिएको कार्कीले बताए। हात्तीलाई तालिमप्राप्त युवा दस्ताले रातभर गस्ती गर्ने र बस्तीमा पस्न नदिने सुरक्षात्मक रणनीति पनि बाहुनडाँगीमा अपनाइएको छ। हात्ती गाउँतिर पसेको सङ्केत दिनका लागि साइरन जडान गरिएका छन्। मानिस विगतमा जस्तो हात्तीको पछाडि दगुरेर खेदाउने जोखिमपूर्ण कार्य गर्दैनन्।

‘हात्तीलाई नबिच्क्याउने र गाउँ पस्न पनि नदिने दोहोरो उपाय अपनाएका छौं,’ उनले भने, ‘यसको बाली खाइदिन्छ, हामी बीमामार्फत क्षतिपूर्ति दिलाउँछौं। यस्तो व्यवस्था भएपछि किसानले आफ्नो खाद्यबालीको सुरक्षाका लागि ज्यान माया मारेर हात्तीसँग भिड्न जानुपरेको छैन। हात्ती धपाउन तामिलप्राप्त युवा खटाएका छौं। गाउँले हाहाहुहु गरेर निस्कनु पर्दैन। यसकारण क्षति कम हुँदै गएको विज्ञहरूले विश्लेषण गर्नुभएको छ।’

झापा र मोरङमा हात्तीका कारण जनधनको क्षति हुनुमा मानव–हात्तीबीच अस्तित्वका लागि हुने द्वन्द्व मुख्य कारण रहेको हात्तीका विषयमा विद्यावारिधि गर्नुभएका दिनेश न्यौपानेले बताए। उनका अनुसार हात्तीलाई बिच्क्याउने प्रवृत्तिका कारण हात्ती अझ बढी हिंस्रक भएर मानिसमाथि जाइलाग्ने गर्दछ।

सम्बन्धित खबर