२०८० फागुन १७, बिहिवार , ०१:४८:५१ बजे

Sajhamanch
'

अनेमसंघ अगुवाहरुले सुनाए आफ्नो गौरवपूर्ण बिगत

सोमवार, पौष २३, २०८०

झापा । अखिल नेपाल महिला संघ झापाका नेतृहरुले आफ्नो गौरवपूर्ण विगत नयाँ पुस्ताका कार्यकर्तालाई सुनाएका छन् । अनेमसंघ झापाले नेकपा एमालेको राजनीतिलाई भूमिगत कालदेखि अघि बढाउन योगदान पुर्याएका महिला अग्रज, संघका पूर्व अध्यक्ष र जनसंगठनका अगुवालाई आफ्नो क्रान्तिकारी विगत सुनाउन एउटै मञ्चमा उभ्याएको हो ।

अर्जुनधाराको सालबाडीस्थित सुखानी शहीद स्मृति पार्कमा शनिबार आयोजित कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले मुख्य वक्ता थिइन् । उनले भूमिगत कालमा पार्टी राजनीतिलाई जनताको माझमा लोकप्रिय बनाउन महिला नेतृहरुले पनि पुरुषहरुले झैं कठिन परिस्थितिको सामना गरेको अनुभूति सुनाइन् ।

विगतमा अनेमसंघको नेता र त्यसमा आवद्ध कार्यकर्ताहरु व्यक्तिगत लाभ र स्वार्थभन्दा टाढा रहने गरेको इतिहासबाट अहिलेका महिला कार्यकर्ताहरुले सिक्नुपर्ने उपाध्यक्ष काफ्लेले बताइन् । ज्यानको परवाह नगरी र परिवारको स्वार्थसमेत नहेरी पार्टी र क्रान्तिका लागि विगतमा पुर्याएको योगदान कहिल्यै भूल्न नहुने उनको सुझाव थियो ।

अहिले नेतृत्वमा बस्न तँछाड मछाड गर्ने तर जिम्मेवारी पाएपछि बेवास्ता गर्ने प्रवृत्ति मौलाएको गुनासो गर्दै उपाध्यक्ष काफ्लेले महिला प्रतिनिधित्व र अवसर दिने बेलामा मातृ पार्टीले अनेमसंघ र इमान्दार कार्यकर्ताहरुको धारणा लिनुपर्ने पनि सुझाइन् ।

अनेमसंघले २०४४ सालदेखि हालसम्म गरेका आन्दोलनको चर्चा गर्दै उनले पद र प्रतिष्ठाका लागि निष्ठाको राजनीति त्याग्न नहुने जिकिर गरिन् ।
अनेमसंघकी केन्द्रीय सदस्य टीका बस्नेत घिमिरेले अग्रजको इतिहासलाई नबिर्सन र सम्मान गर्न आग्रह गर्दै भनिन् विगतमा आफूले विभिन्न जिम्मेवारीमा रहेर काम गर्दा भोग्नु परेको समस्या र चुनौतीका बारेमा प्रकाश पारेकी थिइन् ।

आज व्यापक कार्यकर्ता र संगठनको ठूलो सञ्जालले गर्दा अनेमसंघ आफैंमा शक्तिशाली बनेको उल्लेख गर्दै उनले हिजो यो संगठनलाई झापामा विस्तार गर्दा थोरै महिलाहरुले आफ्नो जीवनको उर्वर समय खर्चिएको इतिहास स्मरण गराइन् ।

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य लीला कट्टेलले विगतमा आफूले भोगेको जेल जीवनको बारेमा बताएकी थिइन् । २०४६ सालको जनआन्दोलन सफल भएपछि खुला परिवेश आएको हुँदा राजनीति गर्न सजिलो भएको चर्चा गर्दै भूमिगत अवस्थामा महिलाहरुले प्रहरीको धरपकडबाट जोगिएर सेल्टरमा बस्नुपर्ने, आन्दोलनका मोर्चामा पुरुषसँगै सहभागी हुनुपर्ने र जेलका चिसो छिंडीमा चर्को यातना सहेर क्रान्तिलाई अघि बढाउनु पर्ने कार्य अहिले कथा जस्तो लाग्ने उनको भनाई थियो ।

अनेमसंघ झापाकी पूर्व अध्यक्ष तथा प्रदेशकी पूर्व राज्यमन्त्री जसमाया गजमेरले सरकार सञ्चालन गर्दा भोगेका अनुभव सुनाउँदै आफ्नो जिम्मेवारीको बारेमा जानकार भएमा पार्टीले सुम्पेको जुनसुकै भूमिका पनि सहज रुपमा सम्पादन गर्न सकिने दावी गरिन् ।

आफू सानो उमेरबाटै कम्युनिस्ट राजनीतिमा लागेको र क्रमशः जिम्मेवारी बढ्दै जाँदा मन्त्री पदको समेत जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उनले सुनाइन् । राजनीतिमा मिडियाको भूमिका महत्वपूर्ण हुने कुरा आफू अनेमसंघ झापाको अध्यक्ष र मन्त्री पदमा हुँदासमेत अनुभूति गरेको उनले चर्चा गरिन् ।

अनेमसंघ झापाकी इञ्चार्ज सुमित्रा भण्डारीले पार्टी र संगठनलाई चलायमान बनाउन पुरानो र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको औंल्याइन् । हिजो पार्टी र महिला आन्दोलनलाई यहाँसम्म ल्याउन भूमिका निर्वाह गर्ने अग्रजलाई विभिन्न बहानामा बिर्सन नहुने उनको धारणा थियो ।

अनेमसंघकी नेतृ लता प्रसाईले आफ्नो घरलाई तत्कालीन पार्टीका नेता कार्यकर्ताहरुले प्रमुख सेल्टर बनाएको स्मरण गरिन् । नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष एवम् पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र अमृत बोहोराले भूमिगत कालमा छोरीलाई हुर्काउन आफूलाई जिम्मा दिएको रोचक इतिहास उनले सुनाइन् ।

राजनीति गर्दा प्रहरी प्रशासनको नजरमा सधैं शंकाको घेरामा परिने गरेको र त्यस्ता अनेकन चुनौती छिचोल्दै आजको अवस्थामा अनेमसंघ र नेकपा एमालेलाई ल्याउन योगदान दिएको उनले बताइन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले विगतमा जस्तो अधिकारको लागि संघर्ष गर्दा अहिले थुनिनु पर्ने र जेल जानु अवस्था नरहेको बताए । नेकपा एमाले लोकतन्त्र, गणतन्त्र र सामाजिक परिवर्तनको बाहक रहेको बताउँदै नेता कार्कीले आधा आकाश ओगटेका महिलालाई संगठित गर्ने र राजनीतिक अभियानलाई सफल बनाउने कार्यमा अनेमसंघको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रमा महिला नेतृ विष्णु बरालले २०३८ सालदेखि हालसम्म अनेमसंघमा रहेर बिताएको क्षणका दुःख सुखको चर्चा गर्दै अनेमसंघ तानाशाही पञ्चायती शासन विरुद्ध लडेको र नारी मुक्तिको जागरण ल्याउने गौरवशाली संगठन भएको जिकिर गरिन् ।

अधिवक्ता एवम् अनेमसंघ कोशी प्रदेश कमिटीका सचिव हेमकला कट्टेलले राजनीतिलाई लगानी उठाउने थलोको रुपमा नबुझ्न सबैलाई आग्रह गरे । आफू पनि १० वर्षको उमेरदेखि पार्टीमा सहयोग गर्ने कार्यकर्ता रहेको स्मरण गर्दै अधिवक्ता कट्टेलले जिम्मेवारीमा रहँदा होस् या नरहँदा पार्टी र संगठनप्रति सँधै सकारात्मक र रचनात्मक रुपमा लाग्ने कार्यकर्ताको मूल्यांकन हुनुपर्ने धारणा राखिन् ।

युवा नेतृ नीता घतानीले अग्रजले देखाएको बाटोमा हिँड्न युवा पुस्ता तयार रहेको जनाउँदै हाम्रो पुरुषवादी समाजमा अझै पनि महिलालाई नेता नमान्ने प्रवृत्ति हावी रहेको बताइन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अम्बिका भण्डारी, चौतारी केन्द्रीय अनुशासन आयोगका सदस्य सावित्रा दाहालले नेकपा एमाले र अनेमसंघले गरेका राम्रो कामको प्रचार प्रसार कम भएको औंल्याएका थिए ।

अनेमसंघ झापाकी अध्यक्ष पवित्रा पाठकले जिल्लाबाट सुरुवात गरिएको यस्तो कार्यक्रमलाई तल्लो तहसम्म पुर्याउने बताउँदै अनेमसंघमा आवद्ध महिलालाई संगठित गर्ने, पुरानो नेताको सम्मान गर्ने र नयाँ पुस्ताको क्षमता अभिवृद्धिमा ध्यान दिइने जानकारी दिइन् ।

सम्बन्धित खबर