२०८० फागुन १०, बिहिवार , ०३:३८:२६ बजे

Sajhamanch
'

झापामा एमालेका नेता–कार्यकर्ताको परीक्षा लिइँदै

आइतवार, पौष २२, २०८०

बिर्तामोड । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्याङ्कन गर्ने भएको छ । जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मूल्याङ्कनको सुरुवात गरेको हो ।

आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको बैठकबाट उक्त अभियानको प्रारम्भ गरिएको संगठन विभाग प्रमुख शिव ढुङ्गेलले जानकारी दिए । उनले १७ वटा प्रश्न तयार गरेर विभागले तल्लो तहमा पठाउने तयारी गरेको जानकारी दिएका छन् ।

क्षेत्र नं. ३ को बैठकमा जिल्ला सदस्यहरुलाई पहिलो चरणमा प्रश्नहरु वितरण गरिएको जनाइएको छ । क्षेत्रीय संयोजक लक्ष्मण पाठकको अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख अतिथि प्रदेश कमिटीका सदस्य एवम् क्षेत्रीय इञ्चार्ज बसन्त बानियाँले स्वमूल्याङ्कनको अभियान पार्टी जीवनका लागि अत्यन्तै रचनात्मक भएको प्रतिक्रिया दिए ।

उनले भने, यो कामले जिम्मेवार नेता कार्यकर्ताहरुको समेत मूल्याङ्कन गर्न सहयोग गर्नेछ । बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा लामो समयसम्म योगदान गरेका तर अहिले जिम्मेवारीमा नभएका नेता कार्यकर्तालाई समेट्न संगठन विभागलाई सूझाव दिएका छन् ।

नेकपा एमाले झापाका सचिव ढुङ्गेलले जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र सबै जनवर्गीय संगठनहरु मार्फत मूल्याङ्कनको काम गरिने जानकारी दिए ।

पार्टीको तल्लो तहसम्मको अवस्थाको मूल्याङ्कन गर्ने, नेताहरुलाई जिम्मेवार बनाउन मद्दत गर्ने, कामको मूल्याङ्कन प्रणालीलाई व्यवस्थित गर्ने र कामको आधारमा जिम्मेवारी दिने, जिम्मेवारी पूरा गरेको आधारमा अवसरको वितरण गर्न अभियान प्रभावकारी हुने सचिव ढुङ्गेलको भनाई छ ।

ढुङगेलले भने – यो पार्टी जीवनका लागि एउटा परीक्षा पनि हो । यसले नेता कार्यकर्ता र पार्टी दुवैको हित गर्नेछ । माघ १५ सम्म संगठन विभागले मूल्याङ्कनका लागि तोकिएको सदस्य र कमिटीहरुबाट प्रतिवेदन संकलन सम्पन्न गर्ने जनाएको छ ।

उक्त प्रतिवेदन संकलन पछि पार्टी काम र नीति निर्माणका लागि सहयोगी सामग्री बनाइने संगठन विभागको तयारी छ । जिल्ला पार्टीले सदस्यहरुबाट संकलित र कमिटीहरुबाट संकलित प्रतिवेदनहरुको व्यवस्थित अभिलेख तयार गर्नेछ ।

संगठन विभागका प्रमुख ढुङ्गेल भन्छन्– यो सामग्रीलाई पार्टीको वेबसाइटमा समेत अध्ययन गर्न मिल्ने गरी तयार गरिनेछ ।

सचिव ढुङ्गेलका अनुसार जिल्ला कमिटीको लागि १७ प्रश्नहरु तयार गरिएको छ । सोही बमोजिम पालिका कमिटी, वडा कमिटी र जनसंगठनहरुलाई प्रश्न तयार गरेर पठाइने छ । प्रश्नहरु यस्ता छन्–

पार्टी जिल्ला कमिटीबाट तपाईले प्राप्त गर्नु भएको जिम्मेवारी के हो ?

तपाईले जिम्मेवारी प्राप्त गर्नु भएको विभाग÷फाँट भूगोलको बैठक बसेको विवरण उल्लेख गर्नुहोस् । प्राप्त जिम्मेवारी पूरा गर्न तपाईबाट गरिएका महत्वपूर्ण कामहरु के के हुन् ?

तपाई पार्टी कमिटीका कुन कुन बैठकमा सहभागी हुनुभयो ? सबै बैठकको विवरण उल्लेख गर्नुहोस् ।

यो कार्यकालमा तपाई पार्टीका कुन कुन कार्यक्रममा सहभागी हुनु भयो ? विवरण उल्लेख गर्नुहोस ।

यो कार्यकालमा तपाई पार्टीका कुन कुन भेला तथा प्रशिक्षणमा सहभागी हुनुभयो ? उल्लेख गर्नुहोस् ।

यो अवधिमा पार्टीले सञ्चालन गरेको अभियानहरु मिसन ग्रासरूट, सदस्यता नविकरण अभियानमा कहाँको जिम्मेवारी प्राप्त गर्नुभएको थियो र सो जिम्मेवारी कसरी बहन गर्नुभयो ?

यो अवधिममा आम निर्वाचन र स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । तपाई निर्वाचनमा कहाँ खटिनुभयो र तपाईको भूमिका कस्तो रह्यो ?

सामाजिक सम्बन्ध कस्तो राख्नु भएको छ ?

विभिन्न सामाजिक संघ–संस्था, स्थानीय तह सञ्चालन र जनसरोकारका सवालमा पार्टी कमिटीलाई सहयोग समर्थन र नेतृत्वको लागि केके गर्नुभएको छ ?

पार्टीले घोषणा गरेका अन्य कार्यक्रमहरुमा सहभागिता र नेतृत्व कसरी गर्नुभयो र पार्टी संगठन सञ्चालनमा समस्या देखा परेका छन् ?

चुस्तदुरुस्त ढंगले पार्टी सञ्चालन हुन सकेको छैन । पार्टी संगठन सञ्चालनमा देखा परेका समस्या र समाधानमा तपाईको सुझाव के छ ?

पार्टी जिल्ला कमिटीले तयार गरेको वार्षिक कार्ययोजना कार्यन्वयनका लागि के गर्दै हुनुहुन्छ ?

पार्टीमा तपाईले कति जना नयाँ सदस्य थप गर्नुभयो ?

सामाजिक सञ्जालमा तपाई के के प्रयोग गर्नुहुन्छ ?

पार्टीका गतिविधिलाई कसरी प्रचार गर्दै हुनुहुन्छ ?

जिल्ला कमिटीको बैठक र पार्टी जिल्लाले आयोजना गरेका कार्यक्रममा नियमित उपस्थित हुनु भएको छ ? उपस्थित नहुँदा कारणसहित नेतृत्वसँग विदा माग्ने गर्नुभएको छ कि छैन ?

पार्टी जिल्ला कमिटीलाई बुझाउनु पर्ने आर्थिक दायित्व, लेबी आदि नियमित बुझाउनु भएको छ ? बुझाउनु नभएको भए, किन नबुझाउनु भएको ?

अन्त्यमा, पार्टी जिल्ला कमिटीलाई तपाईको केही सुझाव भए दिनुहोस् ।

सम्बन्धित खबर