२०८० फागुन ९, बुधवार , ०८:५४:४० बजे

Sajhamanch
'

युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज

आइतवार, पौष २२, २०८०

काठमाडौँ । युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो। सरकारले यी दुवै देशका लागि अब अर्को सूचना नभएसम्म संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति रोकेको हो।

देशमा रोजगार नपाएका युवा विदेशी सेनामा पाए पनि जान नेपाली तयार छन्। त्यति मात्र होइन, देशमा जस्तोसुकै काम भए पनि छोडेर जाने प्रवृत्ति देखिएको छ। यसै क्रममा नेपाली युवाहरू अवैध रूपमा रुसी सेनामा भर्ना भएपछि सरकारले श्रम स्वीकृति रोकेको हो।

‘वैदेशिक रोजगार विभागले रुस र युक्रेनबिच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन रोक लगाएको हो,’ वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले भने, ‘पछिल्लो वर्ष युक्रेनमा भने संस्थागत रूपमा श्रम स्वीकृति लिएर गएका छैनन्। तर, पनि युक्रेननमा केही नेपाली रहेको तथ्य भेटिएकाले सिधै युक्रेनका लागि श्रम लिएर नगए पनि अर्को देशलाई ट्रान्जिट बनाएर युक्रेनमा पुग्ने गरेका देखियो।’

उनले भने, ‘यसरी युवाहरू अन्य देश हुुँदै वैदेशिक रोजगारीको खोजीमा रुसी सेनामा भर्ती भई रुस र युक्रेनबिच भएको युद्धमा अकालमै ज्यान गुमाउनुपरेको हुदाँ यी दुई देशमा श्रम स्वीकृति दिनमा बन्देज लगाएको हो।’

पछिल्लो समय रुस–युक्रेनबिचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीको ज्यान गएको खबर आइरहेको छ। विभागका अनुसार रुसी फौजमा भर्ना भएका दश नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ। ती देशमा एक सय नेपाली नागरिक सम्पर्कविहीन रहेका परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी गराएको छ।

‘नेपाली युवालाई भारत र युएईको बाटो हुँदै रुस पुग्ने गरेका छन्। उनीहरूलाई सेनामै लगिएको भन्ने देखिंदैन तर जानेहरूलाई सेनामै जाँदै छु भन्ने जानकारी भएकै हुन्छ,’ एक सरकारी अधिकारीले भने।

‘नेपाली भन्नेबित्तिकै वीर गोर्खाली भनेर संसारभर परिचय छ। सेनामा नेपाली युवालाई भर्ना लिने कारण यो पनि हो,’ उनले भने, ‘आँटिलो र साहसी नेपाली भएकैले सेनामा भर्ती लिने गरेको हो। रुसी सेनामै भर्ती हुने नेपाली युवालाई ३ लाखभन्दा बढी रूपैयाँ मासिक तलब हुने खुल्न आएको अधिकारीले बताए।

त्यस्तै २०७८ फागुन १२ देखि रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भइसकेको छ भने एकजना नेपाली युवा युक्रेनमा बन्धक छन्। परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। यसरी वैदेशिक रोजगारीमा खट्किएका नेपाली युवा रुसी सेनामा भर्ना हुन् लालायित रहेको र राज्यले युवालाई भरपर्दो रोजगारी दिन नसक्दा यस्ता समस्या आइरहेको अधकारीहरू बताउँछन्।

विभागका अनुसार गत आर्थिक वर्ष २०७९र८० मा रुसमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर ३ सय ८६ जना नेपाली त्यहाँ पुगेको देखिन्छ। जसमध्ये श्रम स्वीकृति लिनेमा १६ महिला छन्। यो तथ्यांकले उक्त वर्ष युक्रेन जानेको संख्या शून्य देखिन्छ।

चालु आर्थिक वर्षमा रुस जाने नेपाली युवाको संख्या ह्वात्तै बढ्नुको कारण जोखिम भए पनि रोजगारीको खोजी हो।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५र७६ देखि २०७९र८० बीच ७ सय ४४ नेपाली श्रम स्वीकृति लिई रुस पुगेका छन्। चालु आव सुरु भएसँगै रुस जाने युवाको संख्या अझै बढेको छ। पाँच वर्षमा रुस गएको संख्याभन्दा बढी गत वैशाखदेखि मंसिरसम्ममा पुगेको छ। यसबीच श्रम स्वीकृत लिएर ५ सय ७३ जना स पुगेका हुन्। अध्ययन, भ्रमण, रोजगारी र अन्य उद्देश्यले नेपाली युवा रुस पुगेका हुन्।

रुसमा पढ्न र रोजगारीका लागि नेपाली युवा रुस–युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेका थिए। युद्ध सुरु भएपछि झन् धेरै रुस जाने क्रम बढेको विभागको तथ्याकंले देखाएको छ।

वैदेशिक रोगजार विभागको तथ्यांकअनुसार यो वर्ष वैशाखमा १७ जनाले मात्रै रुसमा काम गर्न श्रमस्वीकृति लिएका थिए। तर, त्यो संख्या जेठमा आइपुग्दा ह्वात्तै बढेर १ सय ७९ पुगेको देखिन्छ। जेठको सुरुमा रुसी राष्ट्रपतिले त्यहाँको सेनामा एक वर्ष काम गर्ने विदेशी नागरिकलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति दिने योजना ल्याएको विवरण प्रकाशित भएको थियो। त्यसपछि जेठमा १ सय ७९ जना नेपाली नागरिक रुस गएको देखिन्छ।

साथै असारमा ३३, साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४० जना रहेका छन्।

‘विभागको तथ्यांकअनुसार पछिल्लो वर्षको तथ्यांकले रुसमा जाने संख्या कम थिए। तर, गत वैशाखबाट रुस जानेको संख्या उकालो लागेको छ। तर, रुस र युक्रेनबिच भएको युद्धमा धेरै युवा वैदेशिक रोजगारीको सुन्दर पारिश्रमिकको प्रलोभनमै परेर नेपालबाहिरैबाट प्रक्रिया मिलाएर विभिन्न देश हुँदै रुस गएका हाम्रो आकलन छ। युक्रेन र रुसीबिचको युद्धमा युवाको मृत्यु भएको संख्या बढ्दै गएको हुँदा यी दुई देश जान बन्देज गरिएको हो,’ सूचना अधिकारी उप्रेतीले भने।

युद्ध सुरु भएपछि रुसले एक वर्ष सेवा गर्ने सेनालाई आफ्नो नागरिकता नै दिने घोषणा गरेको छ। त्यति मात्र नभएर आकर्षक सुविधा दिलाउने वाचा गरेको पनि अधिकारी बताउँछन्। साथै बीचैमा सम्झौता तोडेर सेना छाड्न चाहने युवालाई भने उल्टै रकम उठाउनेजस्ता कडा सर्तहरू पनि समावेश छन्। तर सैन्य भर्तीबारे कुनै सम्झौता नेपाल सरकारसँग नभएको उनले बताए।

पढाइ वा भ्रमण जुनसुकै बहानामा विदेश जाने नेपालीको उद्देश्य काम र कमाइ भएको देखिन्छ। रुसी सेनामा भर्ती हुँदा केही वर्षमा कमाइने रकम केही महिनामै पाउने भएकाले पनि त्यसतर्फ आकर्षित भएका हुन सक्ने अनुमान विज्ञहरूको छ।

‘बेलायत र भारतबाहेक अरू देशमा नेपालबाट सैनिक भर्ना पठाउने व्यवस्था छैन,’ एक अधिकारीले भने, ‘तर फ्रान्स, रुस, अफगानिस्तान, युक्रेनलगायत अन्य देशमा नेपाली सैनिक छन्। अमेरिकामै पनि कतिपय यस्ता सैनिक छन्, जसमध्ये धेरैले ग्रिनकार्ड लिए पनि आफूसँग नेपाली नागरिकता साथै राखेका सूचनाहरू छन्।’

एक वर्षको सम्झौता पूरा भएपछि रुसी नागकिता, पासपोर्ट र परिवार नै रुस लैजान पाउने भन्दै धेरै युवा आकर्षित भएका छन्। तर, हाल रुसी सेनामा नेपाली युवा भर्ती हुन जानु सुरक्षा जोखिमसँगै कानुनविपरीत रहेको विज्ञहरूले औंल्याएका छन्।

नेपालले गत असोजमा मात्रै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो। युरोपेली देश रोमानिया र जर्मनी जान नेपालीले लाखौं रुपियाँ तिरेर ठगीमा पर्ने गरेका छन्। यस्ता समस्याको समाधान गर्न सुरक्षित गन्तव्यको खोजी गर्ने क्रममा नेपालले श्रम सम्झौता युरोपेली देश रोमानिया र जर्मनीसँग गरेको थियो। तर, त्यो कार्यान्वयनमा लागु हुन सकेको छैन्।

हालसम्म नेपालसँग श्रम सम्झौता भएका गन्तव्य मुलुक रोमानिया र जर्मनीसहित १२ पुगेका छन्। अब तत्कालै स्पेन, पोल्याण्ड र पोर्चुगलसँग पनि नेपालको श्रम सम्झौता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए।

सम्बन्धित खबर