२०८० फागुन ८, मङ्गलवार , ०५:५३:३४ बजे

Sajhamanch
'

जापानमा भूकम्प गएकोे पाँच दिनपछि नौ दशक पार गरेकी वृद्धाको सकुशल उद्धार

आइतवार, पौष २२, २०८०

जापान । मध्यजापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ ।

सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ । तर, वर्षा र आँधीबेहरीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुन सक्ने बताएको छ ।

जापानमा जनवरी १ मा गएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिका परकम्पमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको र २२२ जना हराइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पको झड्का र त्यसपछिका परकम्पले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए ।

विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ । तर, सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिबार उद्धार गरिएको छ ।

उनलाई उपचारका निम्ति अस्पताल लगिएको छ । अस्पतालमा लैजानुअघि उनले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको प्रहरी फुटेजमा उद्धारकर्ताले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिईकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ ।

टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीले एक वृद्धाको उद्धार गरेको पुष्टि गरे पनि थप विवरण दिन चाहेनन् ।

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदाय क्षतिग्रस्त सडकले गर्दा राजमार्ग र सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका निम्ति पठाइएका यातायातका साधन पनि बाटोमा नै अलपत्र बनेका छन् ।

जापानको मुख्य होन्शु टापुको समुद्री तटमा रहेका प्रायद्वीपमा आइतबार दिउँसोसम्ममा चिसो वर्षाको सम्भावना रहेको बताइएको छ ।

सम्बन्धित खबर