२०८० फागुन १८, शुक्रवार , ०२:५१:३४ बजे

Sajhamanch
'

त्रिवि सुधारः प्रमको वास्तविक छलाङ

सोमवार, पौष १६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल निरन्तरतामा क्रमभंग गर्ने कुरा गर्छन्। उनले राजनीतिक जीवनको सुरुवातदेखि विभिन्न कालखण्डमा गरेका जे जति काम छन् तिनलाई क्रमभंगता र छलाङको नामले रंगाउने गरेका छन्।

एक वर्षअगाडि बूढानीलकण्ठबाट उछिट्टिएर बालकोट पुग्नु र बालकोटबाट उछिट्टिएर फेरि बूढानीलकण्ठ पुग्नु शायद उनका लागि छलाङ नै थियो। त्यसपछि देशमा सुशासन कायम गर्ने, विकासका काममा तीव्रता दिने, युवाहरूको विदेश पलायनलाई कम गर्ने, आफू र आफ्नो पार्टी रूपान्तरण हुने सम्बन्धमा छलाङ त हानेकै छन् तर कुन दिशामा भन्ने कुरा त जगजाहेर नै छ।

यतिबेला दाहालले वास्तविक छलाङ हान्ने बेला आएको छ। केही समययता सीमित प्राध्यापक, केही पूर्वउपकुलपति, स्वतन्त्र व्यक्ति, केही मिडिया तथा सामाजिक सञ्जालहरूमा विश्वविद्यालयको शैक्षिक सुधारका लागि सबैभन्दा पहिला त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा राजनीतिक भागबन्डाभन्दा विपरित स्वतन्त्र र सक्षम शैक्षिक व्यक्तित्वलाई नियुतm गरी सुरु गर्नुपर्ने कुरा जोडदाररूपले उठेका छन्।

हालै सम्पन्न त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह र सरकारले एक वर्ष पूरा गरेको अवसरमा भएको सम्बोधनमा प्रधानमन्त्री स्वयंले त्यस्ता व्यक्तिलाई उपकुलपतिमा नियुक्त गर्ने कुरा बताएका छन्।

केही समयअगाडि धुलिखेलमा सम्पन्न उपकुलपतिहरूको सम्मेलनमा नेपालका विश्वविद्यालयहरू सुधारका लागि कुलपति प्रधानमन्त्री रहने व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने बताएका थिए। यो कुरा सार्वजनिक खपतका लागि मात्र थिएन भने काम गरेर देखाउने बेला आएको छ।

यति गर्न सके वास्तवमै उनले भन्ने गरेको निरन्तरतामा क्रमभंगता र छलाङ नै हुनेछ। त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको समय भएको हुँदा यो बेला यस्तो निर्णय लिने उपयुक्त बेला पनि हो।

वास्तवमा प्राज्ञिक निष्ठा भएको, स्वतन्त्र र सक्षम व्यवस्थापकीय क्षमता भएको शैक्षिक व्यक्तिको उपकुलपतिमा नियुक्ति विश्वविद्यालयको सुधारको पहिलो खुड्किलो हो। त्यसका लागि अन्तर्राष्ट्रिय प्रचलनअनुसार ‘बोर्ड अफ ट्रस्टी’ बनाइ अगाडि बढ्न सकिन्छ।

नेपालमा यस्तो प्रचलनको सुरुवात पनि भएको छ। त्यहाँसम्म पुग्न तत्काल संभव छैन भने विज्ञहरूको समूह बनाइ उनीहरूको सुझावअनुसार अगाडि बढ्न सकिन्छ। त्यस्तो विज्ञ समूहले स्वतन्त्र र सक्षम शैक्षिक व्यक्तिको खोजी गरी विश्वविद्यालय सुधारको स्पष्ट दूरदृष्टि भएको व्यक्तिलाई उपकुलपतिमा नियुक्तिको सिफारिस गर्न सक्छ।

त्यस्ता व्यक्तिको उपकुलपतिमा नियुक्तिपश्चात आवश्यक स्रोतसाधनको व्यवस्थाका साथै अन्य पदाधिकारीमा उनले नियुक्त गर्ने व्यक्तिहरूसमेतको टिमले तत्काल सुधारको गुञ्जायस दिनेछ।

यो पहिलो खुड्किलोसँगै परिमार्जित पाठ्यक्रम र अध्ययन अनुसन्धानको वातावरण, सेवा आयोगमार्फत निश्पष्क्ष रूपमा शैक्षिक तथा प्रशासनिक जनशक्तिको व्यवस्था र आवश्यक भौतिक संरचना निमार्णका साथै सरोकारवालासँगको निरन्तरको छलफल तथा अन्तरक्रिया र उनीहरूका गुनासा र सुझाव सुन्ने परिपाटी बसाए केही वर्षमै देखिने गरी सुधार गर्न सकिन्छ।

यस्ता सुझाव लिएर शायदै उनको गठबन्धन समर्थित प्राध्यापक संघ÷संगठनका मान्छे उनकोमा पुगेका होलान्। उनीहरू शायद प्रचण्डको उपकुलपति चयनको पछिल्लो अभिव्यतिmले झस्केका होलान् किनकि उनीहरूलाई आफ्नो स्वार्थ पूरा नहुने कुराले चिन्तित तुल्याएको हुनुपर्दछ।

विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा उपकुलपतिलगायतका पदाधिकारीको नियुक्ति हुँदा त्यसको असर समग्र शैक्षिक वातावरणमा परेको जगजाहेर नै छ। त्यस्तो प्रक्रियाबाट आउने मान्छेमा केही गरौँ भन्ने हुटहुटी त हुन्छ होला तर शायद आत्मविश्वास र नैतिक बल हुँदैन र केही गर्नै सक्दैनन्।

राजनीतिकरणले गर्दा विश्वविद्यालयमा तालाबन्दी, हड्ताल, तोडफोड हुँदै व्यक्तिगत आक्रमणका घटनाले विश्वविद्यालयको छविमा क्षति पुगिसकेको छ। केन्द्रीय विभागहरू र विभिन्न क्याम्पसका भवन, प्रयोगशाला, क्यान्टिनलगायतका भौतिक संरचनाको स्थिति नाजुक छ। प्लस टुपछि विश्वविद्यालय प्रवेश गर्ने विद्यार्थीको संख्या घट्दो छ। विश्वविद्यालयमा प्रवेश गरेका विद्यार्थीको उल्लास र जोस जाँगर पनि घट्दो छ।

यसै क्रममा एकथरि मान्छे त्रिभुवन विश्वविद्यालयको छवि थप खराब देखाउन दत्तचित्त भएर लागेका भान हुन्छ। उनीहरूको निहीत स्वार्थ देखिन्छ। दिनहुँ विश्वविद्यालयसँग सम्बन्धित केही न केही नकारात्मक समाचार आइरहेकै हुन्छन्। सकारात्मक कुरा नभएका होइनन् तर ती सब नकारात्मक कुराले ओझेलमा छन्। त्रिभुवन विश्वविद्यालयमा सब ठीकठाक छ भन्न खोजिएको होइन तर सब बर्बादै छ भन्ने पनि होइन।

विश्वविद्यालयबाट विज्ञान, मेडिसिन, इन्जिनियरिङलगायतका विषयमा दीक्षित विद्यार्थीहरू विदेशी विश्वविद्यालयहरूमा थप अध्ययनका लागि जसरी गइराखेका छन् त्यसले पनि के देखाउँछ भने हाम्रो विश्वविद्यालयको शैक्षिक गुणस्तर त्यति खराबै भने छैन। तर सुधारको आवश्यकता अवश्य छ।

स्वदेशमै किन हाम्रा विद्यार्थी खपत हुन सकिराखेका छैनन् भन्ने कुरा त समग्र राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थामा भर पर्ने कुरा भयो।

सीमित स्रोतसाधनका बाबजुद यहाँका प्राध्यापकहरूले अन्तर्राष्ट्रिय स्तरका राम्रा जर्नलमा निरन्तर लेख प्रकाशित गर्दै आएका पनि छन्। उनीहरूलाई शैक्षिक वातावरण, प्रोत्साहन र थप साधनस्रोत आवश्यकता छ। विश्वविद्यालयमा समस्या भएर नै यो सब बहस भइराखेको छ। त्यसकारण यो बुझ्न जरुरी छ कि उच्च शिक्षाको सुधार भनेको त्रिभुवन विश्वविद्यालयको सुधार हो।

प्रधानमन्त्रीले हालै उपकुलपतिहरूको सम्मेलनमा र त्यसपछि दीक्षान्त समारोहमा गरेको भाषण र हालै राष्ट्रको नाममा गरेको सम्बोधनले वास्तवमै केही आशा सञ्चार गराएको छ। उनीसम्म यी कुरा पुग्न जरुरी छ कि वास्तवमै त्यस्तो सक्षम उपकुलपतिको स्वागत गर्न अधिकांश विद्यार्थी, प्राध्यापक र कर्मचारी आतुर छन्।

प्रधानमन्त्रीले अधोगति लागेको छविलाई अलिकति सुधार्नु छ, युवाहरूमा भविष्यप्रति आशा जगाउनु छ र प्राप्त अन्तिम अवसर सदुपयोग गरी केही असल काम गरेर नायक हुने हुटहुटी बाँकी नै छ भने त्रिभुवन विश्वविद्यालय सुधारको बाटो हुँदै सम्पूर्ण शैक्षिक क्षेत्र सुधारको दिशामा अघि बढ्नु नै अहिलेको वास्तविक क्रमभंगता र छलाङ हो।

सम्बन्धित खबर