२०८० फागुन १८, शुक्रवार , ०८:४६:३१ बजे

Sajhamanch
'

जैविक विविधता संरक्षणमा भद्रपुर नगरपालिका

बुधवार, मंसिर २०, २०८०

झापा । जलथल जंगलको जैविक विविधता कार्यक्रमअन्तर्गत प्रांगारिक मल उत्पादन र बेसार खेतीका लागि भद्रपुर नगरपालिकाले सहकार्य गर्ने भएको छ ।

भद्रपुर नगर क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरुसंग वनको दीगो पुनस्र्थापना र जैविक विविधता संरक्षणका लागि नगरपालिकाले सहकार्य गर्ने भएको हो । भद्रपुर नगरपालिकाभित्र विभिन्न सात वटा सामुदायिक वन रहेका छन् ।
दशरथपुर ,दियालो , बिशाल , कमलधाप , मायालु , कालीमन्दिर र चन्द्रगढी सामुदायिक वन रहेका छन् । ती वनहरुले करिव साढे ११ हेक्टर क्षेत्रफल ओगटेका छन् ।फरेष्टएक्सन नेपालको सहयोगमा विगत ४ वर्षदेखि जलथल जंगलमा जैविक विविधता व्यवस्थापन कार्यक्रम संचालित छ । त्यस कार्यक्रमअन्तर्गत वन समितिहरुले मिचाहा प्रजाति नष्ट गरी त्यसबाट प्रांगारिक मल उत्पादन गर्दै आएका छन् ।

बायो प्रोडक्टको रुपमा रहेको प्रांगारिक मल उत्पादनले स्थानीय उपभोक्ताहरुलाई रोजगार मिल्नुका साथै आयआर्जनमा टेवा पुगेको छ । त्योसंगै अर्गानिक खेतीलाई प्रोत्साहनसंगै माटो सुधार भएको छ । यसरी धेरै प्रकारले फाइदा पुग्ने प्रांगारिक मल उत्पादन कार्यक्रमप्रति नगरपालिका उत्साहित देखिएको हो ।

दियालो वनमा संचालित प्रांगारिक मल उत्पादन कार्यक्रमको नगरपालिकाको टीमले मंगलवार अवलोकन गरेको हो । त्यसक्रममा नगर प्रमुख गणेश पोखरेलले वनको दीगो पुनस्र्थापना र जैविक विविधता संरक्षणका लागि नगरपालिकाले कार्ययोजना बनाएर अघि बढ्ने बताए । उनले केही दिनभित्र नगरपालिकामा बैठक बसेर छलफल गर्ने र मिचाहा प्रजाति फाँडेर जंगललाई नयाँपन दिने अत्यन्त सान्दर्भिक सो कामको लागि कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिए ।
नगर प्रमुख पोखरेलसंगै प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वातावरण अधिकृत नेत्र पोखरेललगायतको नगरपालिकाको टीम अवलोकनका लागि गएको थियो । सोही अवलोकनमा डिभिजन वन कार्यालयका प्रमुख मेघराज राई पनि सहभागी थिए । उनले जैविक विविधताले भरिपूर्ण जलथल जंगलको संरक्षणमा जोड दिए । उनले मिचाहा प्रजातिलाई नियन्त्रण गरी वन पुनरुत्पादनमा सबै लाग्नुपर्ने बताए ।

सामुदायिक वनहरुले मिचाहा प्रजाति मास्नकै लागि गरिरहेको बेसार खेतीलाई अल्पकालीन रुपमा प्रोत्साहन गर्ने कुरामा पनि नगरपालिकाको टीम सकारात्मक देखिएको छ । मसलाजन्य खेतीका लागि छुट्याएको बजेटबाट बेसार खेतीलाई सहयोग गर्न सकिने नगर प्रमुख पोखरेलले बताए ।

बिशाल , दियालो र दशरथपुर वनले बेसार खेती लगाएका छन् । कार्यक्रममा फरेष्टएक्सन नेपालका लिलानाथ शर्माले वनको जैविक विविधता संरक्षणमा भइरहेको प्रयासका बारेमा जानकारी दिँदै स्थानीय सरकारको सहकार्य आबश्यक भएको बताएका थिए । कार्यक्रममा दियालो सामुदायिक वनका अध्यक्ष देउकुमार राईले प्रांगारिक मलको उत्पादन र त्यसको फाइदाबारे जानकारी दिएका थिए ।

बुधवार, मंसिर २०, २०८० | समाज

सम्बन्धित खबर