२०८० मंसिर २४, आइतवार , ०५:१०:३७ बजे

Sajhamanch
'

सिंहदेवीको स्वर्णमहोत्सव मंसीर ५ देखि तीन दिन चल्ने

शनिवार, मंसिर २, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ७ विष्णुकट्टास्थित सिंहदेवी आधारभूत विद्यालयले मंसीर ५ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ ।

विद्यालयको स्वर्णमहोत्सव मूल आयोजक समितिले आज विद्यालयमा पत्रकार सम्मेलन गरी यही मंसीर ५ गतेदेखि शुरु भई ७ गतेसम्म विभिन्न कार्यक्रम गरी स्वर्णमहोत्सव मनाउन तयारी गरेको जनाएको हो ।

स्वर्णमहोत्सव सम्पन्न गर्न सबै तयारी लगभग पूरा भएको आयोजक समितिका संयोजकसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ तिम्सिनाले बताए । उनले स्वर्णमहोत्सव सफल बनाउन मूल आयोजक समितिसहित विभिन्न उपसमितिहरुले धमाधम काम गरिरहेको बताए ।

पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक इन्दिरादेवी खनालले स्वर्णमहोत्सवका सन्दर्भमा विद्यालयले प्रकाशन गर्ने स्मारिका तथा विद्यालयको शैक्षिक विषयमा जानकारी गराएकी थिइन् ।

उनका अनुसार अंग्रेजी माध्यमबाट पठनपाठन हुने सो विद्यालयमा ३०० हाराहारी बालबालिकाहरु अध्ययनरत छन् । कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा ४ जना स्थायी शिक्षक, पालिकाबाट २ शिक्षक र थप ९ जना निजी स्रोतबाट शिक्षकहरु सेवारत छन् ।

सोही अवसरमा विद्यालयका व्यवस्थापन समितिका सदस्यसमेत रहेका स्वर्णमहोत्सव आर्थिक उपसमितिका संयोजक सन्तोष राईले स्वर्णमहोत्सव सफल बनाउन विभिन्न व्यक्तिहरुबाट प्राप्त सहयोगको विवरण सुनाएका थिए । हालसम्म उपसमितिमा ४ लाख १५ हजार रुपैयाँ सहयोग संकलन भएको उनको भनाई छ ।

व्रिटीस तथा भारतीय भुपु सैनिकहरुको पहलमा २०३० सालमा स्थापना भएको सो विद्यालय ५० वर्ष पुगेको उपलक्ष्यमा पहिलोपटक महोत्सव आयोजना गरेको उनले बताए ।

पालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा हुने स्वर्ण महोत्सव उद्घाटन समारोहमा दाताबाट निर्माण गरिएको स्वर्णमहोत्सव स्तंभको अनावरण, स्मारिका लोकापर्ण, खेलकुद, सम्मान लगायतका विविध कार्यक्रम गरिनेछ ।

महोत्सवको समापन पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको उपस्थितिमा मंसीर ७ गते औपचारिक रुपमा समापन गरिने अध्यक्ष तिम्सिनाले बताए ।

सम्बन्धित खबर