
बिर्तामोड । नेपाल दशनामी समाज झापाको आयोजनामा तीज मिलन कार्यक्रम गरिएको छ । नेपाली महिलाहरुको महान पर्व तीजको अवसर पारेर सोमबार झापाको बिर्तामोड–२ स्थित चारपानेमा तीज मिलन कार्यक्रम गरेको हो ।
तीज मिलन कार्यक्रमका संयोजक पार्वता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ महिला सदस्य मनमाया गिरीको प्रमुख आतिथ्य रहेको थियो । समाजका केन्द्रीय संरक्षक भरतलाल गिरीको विशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका लागि समाजका झापाका प्रत्येक पालिका, दशनामी बन्धुहरुको बाहुल्यता रहेको ऊ नमः शिवाय साकोस, जिल्ला समितिका पदाधिकारी तथा सदस्य साथै विभिन्न दशनामी बन्धुहरुले आर्थिक सहयोग गरेको तीज मिलन कार्यक्रमका संयोजक पार्वता गिरीले जानकारी दिइन् ।
कार्यक्रममा केन्द्रीय संरक्षण तथा कार्यक्रमका विशिष्ट अतिथि भरतलाल गिरी, झापा अध्यक्ष केदार गिरीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीले गरेका थिए ।
समाजका प्रदेश सदस्य सिता भारतीले शाब्दिक स्वागत गरेको कार्यक्रममा समाजका केन्द्रीय सह–कोषाध्यक्ष गोविन्द गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), कोशी प्रदेशका पूर्वअध्यक्ष चन्द्रप्रसाद गिरी, पूर्व झापा अध्यक्ष खिलबहादुर गिरी (राजु), समाजका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
दशनामी चेलीबेटीहरुले दर खाएर नाचगान गरेर सामुहिक तीज मिलन कार्यक्रम गरेका थिए ।