२०८० फागुन १८, शुक्रवार , ०६:५४:३० बजे

Sajhamanch
'

चप्पलको चिरफार र चर्चा

बुधवार, जेठ २४, २०८०

कवि लक्की राशि युवा मनहरुका ढुकढुकी हुन् ।नयाँ जोश र जाँगरको बिम्ब हुन् उनी । उनको पहिलो तर नविन प्रयोग गरिएको कविता सङ्ग्रहको नाम हो ‘चप्पल’ । जिबीएलओको प्रकाशनमा बजारमा ल्याइएका छोटा कविताहरुको यस कृतिमा जम्मा ७७ वटा कविताहरु सङ्ग्रहीत छन् ।हाल उनी अमेरिका निवासी स्रष्टा हुन् तर हिजो भुटान र नेपालको बसाईंका क्रममा जीवन भोगाईका दुःख,पीडा,अभाव कवितामा चित्रण गरिएको छ ।

बदमास रुवाइ सङ्ग्रह वि.सं.२०६९मा प्रकाशीत गरि साहित्य यात्रामा इन्ट्रि गरेका राशिले आफूलाई साहित्य क्षेत्रमा स्थापित गर्दै वि.सं.२०७२ सालमा पुर्नबास गजल सङ्ग्रह प्रकाशन गरे ।कवि लक्कीले शरणार्थी जीवनलाई चप्पलसँग तुलना गरेर कविताहरुको सङ्गालो चप्पलको बिमोचन समेत शरणार्थी शिविर बेलडाँगीमा गरेका छन् ।

अहिलेका युवा कविहरुले लेख्ने कविताको विषयवस्तु भनेको नै विगत र वर्तमानका जीवनशैलीमा देखापरेका तीता,टर्रा,विकृति र विसङ्गति पक्षको साङ्केतिक टिप्पणी गर्दै उज्यालो भविष्यतिर उन्मुख हुन आग्रह हो,कविको अनुरोध हो ।सामाजिक यर्थाथको वस्तुपरक अभिव्यक्ति दिने क्रममा नेपाली ग्रामिण समाजका संस्कृतिलाई कविले कविताको विषय बनाएका छन् । कविले चप्पल शिर्ष कविताबाटै कविता सङ्ग्रहको थालनी गरेका छन् ।

चप्पलहरु त पैतालमुनि दबिने न हुन्,प्रयोग हुने न हुन् ,प्रयोग हुनेहरुलाई प्रयोग गर्नेले कहिल्यै वास्ता नगरेको यर्थाथ कवितामा छ ।चप्पल विभेदको प्रतिक हो ।चप्पलले मन्दिर,घर,अफिस आदि ठाँउहरुमा बाहिरै बस्नु पर्छ ।रछ्यानमै बस्नु पर्छ, ओछ्यान पस्ने अधिकार छैन ।चप्पल निरीह छ शरणार्थी झैं ।दोस्रो कविता बसिबियाँलो यस कवितामा माटोप्रतिको माया,देशप्रतिको मोह व्यक्त गरेका छन् कविले ।यसरी पोखिन्छन् कवि बसिबियाँलो कवितामा–
‘यति धेरै काम आफ्नै गाउँमा छन्
युवाजति सबै अरुकै ठाउँमा छन्
गरे भने त के हुदैन र
नेपाली माटोमा
अवसर छ जानेदेखि
हरेक बाटोमा ’ ।(बसिबियाँलो)

क्रमश शपथ ,कठै ,छिनेको चप्पल,ऐना, सृष्टि,पुर्पुरो आदि विभिन्न सरल विषय वस्तुमा कविका कविताहरु बगेका छन् ।सङ्ग्रहको अन्तिम कविता हो ‘थोत्रो झाडु लगाउँछु’ ।
कविले केही कवितमा शहरीया जीवनका सुख भन्दा ग्रामीण जीवनका दःखहरुलाई बढी प्राथमिकता दिएका छन् ।सामाजिक सांस्कृतिक परिघटनाहरु पनि कविले जीवन्त रुपमा उठाएका छन् ।

जस्को देश त हुन्छ तर उनीहरु त्यस देशका नागरिक भएर बस्न पाउँदैनन् यावत कारणले ।अनि कुनै देश या सिमामा बास माग्न या बस्न पुग्दछन् तब उनीहरुलाई शरणार्थी भनिन्छ । शरणार्थी चाहे जुनसुकै देशका हुन् तर उनीहरुले जति गरिबी,अभाव,भोकमारी,दुःख,जोखिम,उत्पीडन अनि बग्रेल्ती आँशुका ढिकाहरु शायदै अरुले खसाउलान ।कवि लक्की यसरी कवितामा शरणार्थाी भएर पोखिन्छन् ।

‘न जग्गा न जमिन
हरिबिजोग छ
अनागरिक बनिरहे
छोडेर सबथोक
अझै पनि
हात थापेर खान बाध्य छन् ।
इशाारा अरुकै चल्छ
जान बाध्य छन्’ । (अझै शरणार्थी जङ्गलमा )

समग्रमा यस कविता सङ्ग्रहभित्र संकलित कविताका माध्यमबाट लक्किले मातृभूमि,राष्ट्र र राष्ट्रियताप्रति अगाध श्रद्घाभाव,रोष र शरणार्थी जीवनप्रति व्यक्त गरेका छन् ।

कविले जस्तो भोगे,जस्तो देखे,जस्तो अनुभूति गरे त्यही अनुभूतिहरुका तीता र मीठा उपजहरुको दस्तावेज हो चप्पल कविता सङ्ग्रह ।
कविता सङ्ग्रहको मूल सार जातीयता र राष्ट्रप्रेमको भावना हो। जुन सुकै जाति शरणार्थी भएर जब अल्पसङ्ख्यक बन्न पुग्छ ।तब हरेकमा असुरक्षीत भाव पैदा हुन्छ ।त्यसैले पनि उनीहरुमा आफ्नो जातिप्रति गहिरो प्रेम र राष्ट्रप्रति श्रद्घा र भक्तिको भावना रहेको पाइन्छ ।

कविका केही कविताहरु सरल छन् भने केही मध्यम खालका र केही कविता लक्षणात्मक पनि छन्।सबै कविता छोटा छन्,मिठा छन् ।पुस्तकको आकार पनि गोजिमा अटाउँने खालको छ ।

कविता सङ्ग्रहको अर्को सवल पक्ष भाषा पनि हो ,जुन यस सङ्ग्रहमा भाषा सम्पादन भावेश भुमरीले कुशलतापूर्वक गरेका छन् ।
आगामी दिनमा उनका थुप्रै कृतिहरु यसरी नै प्रकाशन भइरहून् ।काम गर्नेको कमि कमजोरी हुन्छ । गल्ती हुन्छ ।खैर गल्ती र कमि कमजोरी नै सफलताको कडी हो यसैलाई मध्यनजर गर्दै कवि लक्की राशिका सृजना परिस्कृत हुनेछन् भन्नेमा म विश्वस्त छु ।।

कृति समीक्षा

सम्बन्धित खबर