प्रचण्डको अभिव्यक्ति माथि विश्व हिन्दू परिषद नेपालको चेतावनी

September 18, 2022 2:22 pm

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दू धर्मलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणी प्रति विश्व हिन्दू परिषद नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिषदले आज विज्ञप्ती प्रकाशन गरेर बहुसंख्यक जनताको धार्मिक आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको उसको ठहर छ ।

प्रचण्डले मन्तब्यका क्रममा समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हिन्दू धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनालाई उपहास गरेको परिषदको ठहर छ । हजारौं नेपालीको हत्याको आरोप लागेका माओवादी अध्यक्ष प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिह्न लगाएकोमा पनि आपत्ती जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले हिन्दुत्व सुविचार ‘सन्तोषं परम् सुखं’ अर्थात मानिसलाई सन्तोष लिन सिकाउने कुराले समाज विकासमा अवरोध गरेको बताएर सन्तोषी हुनुपर्ने सामाजिक आधारलाई भत्काएर उत्तेजना फैलाई देशलाई फेरि द्वन्द्वतिर उन्मुख हुन दुरुत्साहित समेत गरेको परिषदले आरोप लगाएको छ ।

महासचिव जितेन्द्रकुमार सिंहले हस्ताक्षर गरी जारी प्रेस विज्ञप्तीमा हिन्दू धार्मिक आस्था अनुसार सृष्टिमा जीवनको उत्पत्तिबारे स्थापित दशावतारको मान्यतालाई खण्डित हुनेगरी बामपन्थी चिन्तक माक्सलाई जीवन विकासको अवधारणाबारे पहिलो दार्शनिक बताएर सनातन सांस्कृतिक आस्थालाई आघात पुर्याएको आरोप लगाइएको छ ।

यसैगरी नेपालको साहित्यिक जगतका प्रसिद्ध नाटककार बालकृष्ण समबारे कटाक्ष गर्दै ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांशका कारण देश र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताएर ऐतिहासिक भाषा–साहित्य बारे निकृष्ट टिप्पणी गरेको कुरालाई पनि परिषदले गलत ठहर गरेको जनाइएको छ ।

कथित राजनेता द्वारा पटक–पटक हिन्दू विरोधी वक्तव्य दिईनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको छ भन्दै विज्ञप्तीमा त्यस्ता धर्म संस्कृति विरोधी तत्वहरुलाई साथ दिने जुनसुकै राजनैतिक दलको राजनैतिक अस्तित्वसमेत समाप्त पार्न हिन्दू समाज एवं विश्व हिन्दू परिषद नेपाल लगयातका हिन्दू संगठनरू पछि पर्ने छैनन् भनी चेतावनी दिइएको छ ।

          September 18, 2022 2:22 pm | राजनीति,लोकप्रिय,समाज

प्रतिकृयाहरू :

समाचारहरु: