क्यालेण्डरका नबोल्ने बा र मेरो मानस

September 6, 2022 8:49 am

हरेक बिहानी मेरो एउटा रुटिन छ, घरबाट एकाबिहानै उठेर मनकामना कलेज जाने र त्यहाँ २ घण्टी पढाएर त्यो बिहानीलाई आनन्द साथ पूरा गर्ने । कलेज पुग्दा साढे ६ बजे काटिसकेको हुन्छ । मेरो घण्टी ७ बजे सुरु हुन्छ । गेटको छेउमा क्यान्टिन छ, त्यहीँ एक कप चिया पिएपछि मात्र मनकामना पुगेको मलाई अनुभूति हुन्छ । जब घण्टी लाग्नै आँटेको हुन्छ, म स्टाफ रुममा पसेर झोला बिसाउँछु । स्टाफ रुमको पश्चिम पट्टिको बेन्चमा अघि नै सुधिरजी र श्रीकृष्ण दाहालजीहरु आइओरी पुराना भैसकेको देखिनुहुन्छ । मेरो ध्यान कोठाका भित्ताहरुमा दौडिँदै हुन्छ ।

उत्तरपट्टिको भित्तामा सेतो सूचना बोर्ड छ । प्रत्येक हिउँदमा त्यो सूचना बोर्डले आफ्ना छातीमा हिउँदे मादकता प्रकट गर्छ । प्रत्येक दिन सूचना फेर्दै सारा हामीसँग जिस्कँदै गर्छ । प्रत्येक दिन सूचना बोर्डले यौवनको उच्छाल प्रकट गरेझैँ गर्दछ । आज अब आउँदो १५ गते भुरुङ्गागा पिकनिक भन्छ, फेरि अर्को कुनै दिन भेलागुडी पिकनिक जाने भनेर ऐलान गर्छ । त्यो गते, बार आउने छेक फेरि सालबाढी झिल पिकनिक जाने भनेर उर्दी गर्छ । त्यसैले त्यो उत्तर भित्ताको ह्वाइट सूचना बोर्डलाई म सधै नपत्याउने कुरौटे जस्तो ठान्छु  । नपत्याई नपत्याई पनि हेर्ने गर्दछु ।

                 तारा ‘विविध’

स्टाफ रुमको दक्षिण भित्ताले भने मलाई भावुक र सम्वेदनशील तुल्याउने गर्दछ । दक्षिण भित्तामा सधैं–सधैं एउटा क्यालेण्डरमा मेरो आँखा पर्दछ । जसमा ठूल्ठूला अक्षरले लेखिएको छ ‘नबोल्ने बा स्मृति प्रतिष्ठान’ । अनि देबे्रपट्टि कुनामा उनै नबोल्ने बाको स–सानो तस्बीर अङ्कन गरिएको छ । ती नबोल्ने बालाई नक्सामा देखेपछि वास्तव मै नबोल्ने बाको सिङ्गो आकृति मेरो दिमागमा आएर सल्बलाउँछ र म भावुक पनि बन्ने गर्दछु । उनै नबोल्ने बा नातामा मेरो मामा हुनुहुन्छ ।

‘नबोल्ने बा’ स्मृति प्रतिष्ठानले क्यालेण्डर निकालेकोमा वा प्रतिष्ठान स्थापना गरेकोमा म उहाँहरुप्रति हार्दिक धन्यवाद अर्पण गर्दछु । एकजना वाक्शक्त्ति नभएका श्रवण शक्ति शून्य रहेका तर अद्भुत आत्मक्षमता र उच्च वौद्धिक चेत भएका व्यक्तिलाई चिनेर जुन मूल्याङ्कनका साथ स्मृति प्रतिष्ठान खडा गरियो । त्यो अहिलेको समाजका लागि ठूलो पाठ वा ज्ञान भएको छ भन्ने मलाई लागिरहेको छ । कलेजका भित्तामा टाँगिएको क्यालेण्डरका नबोल्ने बा वास्तव मै विचित्रको व्यक्ति हुनुहुन्थ्यो ।

उहिल्यै एकताक इलाम जिल्लाको इरौंटार पाखा गाउँ भन्ने ठाउँमा खतिवडाहरुको घना बस्ती थियो । त्यही ठाउँमा वि. सं. १९९२ साल वैशाख ४ गते उहाँको जन्म भएको थियो । पिता मधुसुदन र माता पवित्रा देवीको माइला सुपुत्रको रुपमा जन्मनु भएको नबोल्ने बाको नाम लोकनाथ खतिवडा हो । उहाँकी एउटी बहिनी थलाकुमारी पनि जन्मजात नै वाक्शक्ति नभएको नै हुनुहुन्थ्यो । यी दुवैलाई गाउँ समाजले कहिल्यै नामले पुकारेन र ‘नबोल्ने’ भनेर नै सम्बोधन गरिरह्यो ।

मधुसुदन खतिवडा (नबोल्ने दाजु/बहिनीका पिता) एउटा विचित्र खुबी भएका व्यक्त्ति हुनुहुन्थ्यो भनिन्छ । आफ्ना ती वाक्शक्त्ति र श्रवणशक्ति दुवै नभएका छोराछोरीलाई उहाँले सङ्केत वा इसारा कै माध्यमबाट गणित र अन्य व्यवहारिक ज्ञानमा निपूर्ण बनाउन सक्नुभयो । बाल जगतमा एउटा पारस्परिक होड हुन्छ अर्थात् कहिल्यै पनि एउटा बालक अर्को आफूजस्तै बालकसँग पछि पर्न चाहँदैन वा मान्दैन । सबल र सक्षम बालकको त्यो लक्ष्य हो । मधुसुदन यस कुरामा सचेत हुनुहुन्थ्यो रे ।

र, आफ्ना ती नबोल्ने, नसुन्ने दुवै बालकलाई जागृत गराउन सक्षम हुनुहुन्थ्यो भन्ने कुरा अग्रजहरुले भन्ने गर्नुहुन्छ । अरुजस्तै रुख चढ्न, कुद्न, घाँस काट्न तथा कुस्ती खेल्न पछि नपर्ने तौर तरिका मधुसुदन आफ्ना ती दुई छोरा र छोरीलाई सिकाउने गर्नुहुन्थ्यो भनिन्छ । पछिपछि त नबोल्ने बाले चढेका रुखहरु अरुले चिताउनै सक्दैनथे भनेर स्वयम् मेरै आमाले मलाई सुनाउने गर्नुहुन्छ ।

व्यावहारिक जीवनमा पनि नबोल्ने बाले धेरै माथिल्लो हैसियत प्राप्त गर्नु भएको थियो । वि. सं. २०२० साल पूर्व शान्तिनगरको गढीगाउँ भन्ने ठाउँमा राम्रा गतिला घरहरु छँदै थिएनन् । बाँसको टाटी र खरको छानोले छाएर बनाएका घरमा मान्छेहरु बस्तथे । घरका खम्बाहरु भने ठूला ठूला सखुवाका हुन्थे अरु सबै कुरा काम चलाउ हुन्थे । यस अवस्थामा नबोल्ने बालाई गढीगाउँ शान्तिनगरमा राम्रो घर बनाएर बस्ने विचार आएछ । त्यसको लागि एउटा गतिलो भरपर्दो काठ मिस्त्रीको खोजीमा उहाँ निस्कनु भएछ ।

त्यस्तो मिस्त्री खोज्दै जाँदा जिल्ला सदरमुकाम चन्द्रगढीमा धनीमानी मानिसहरुका घर बनाउने ठेक्का लिँदै काम पूरा गर्दैगर्ने आसामतिर स्थायी बसोबास भएको एक खतिवडा फेला परेछन् । उनको नाम रहेछ डम्मरु खतिवडा । उनैले बनाएको २/४ घरहरु पनि अवलोकन गरेपछि र चित्त बुझेपछि नबोल्ने बाले डम्मरु खतिवडालाई मनग्गे पैसा कुबलेर घर बनाउनका लागि चन्द्रगढीबाट साथमा लिएर आउनु भएछ । डम्मरुले शन्तिनगरमा २/४ महिना ढुक्क बसेर नबोल्ने बाको घर तयार गरिदिए । अब शान्तिनगरको गढीगाउँमा टिनको छानो भएको, तक्ताको बेरा भएको र झ्याल ढोका पनि डिजाइनदार भएको पहिलो घर त्यही हुनपुग्यो । त्यस घरमा लगाइएका टिनबारे फेरि अलग्गै रोचक कहानी छ । जसलाई तीन प्रकरण शीर्षक दिई उल्लेख गर्नु उचित ठान्दछु ।

नबोल्ने बाको तीन प्रकरण

१. बयलगाढा, अञ्चलाधीश र नबोल्ने बा

यता गढीगाउँ शान्तिनगरमा बन्दै गरेको नबोल्ने बाको घरमा प्रायः सबै कामहरु पूरा भइसकेका छन् । अब छानोमा टिन लगाउनु पर्ने मात्र बाँकी छ । यत्तिकैमा नबोल्ने बा ५÷६ हल गोरुगाडा (बयलगाढा) लिएर भद्रपुरबाट टिन ल्याउन भनी आउनु भयो । भद«पुर बजारमा करीब २० बण्डिल टिन खरिद गरेर गोरु गाडामा लोड गरी शान्तिनगरको लागि भद्रपुरबाट हिँडाउनु भयो । आफू चाहिँ बजारमा थप केही सौदा गर्ने उद्देश्यले केही समयलाई रोकिनु भयोे ।

बयलगाढा ढुवागढीको विचार्नी भन्ने ठाउँमा आइपुगे पछि त्यसबेलाका मेची अञ्चलाधीश ताराप्रसाद उपाध्याय सरकारी गाडीमा त्यही बाटो धुलाबारी गइरहेका रहेछन् । उनले एक्कैचोटी ५/६ वटा बयलगाढा टिनको लोड लिएर हिंडेको देखेपछि सोधेछन् । ‘यो ५/६ गाढी टिनको लोड कसको हो ?’ गाढी वालाहरुले भनेछन् नबोल्ने मालिकको । अञ्चलाधीशलाई गाढीवालले भनेको नबोल्ने मालिक शब्द अनौठो लागेछ । उनले फेरि सोधेछन्– कस्तो नबोल्ने मालिक ? गाढीवालले भनेछन् ‘बोल्नै नसक्ने छन् यी मालिक त !’

अञ्चलाधीश र बयल गाढीवालाको सम्वाद पूरा नहुँदै उताबाट बेतोडले घोडा दौडाउँदै नबोल्ने बा आइपुग्नु भएछ । बयल गाढीवालहरुले अञ्चलाधीशलाई ‘उहाँ नै हो नबोल्ने मालिक’ भनेर चिनाएछन् । अञ्चलाधीशले बयलगाढा वालालाई भनेछन्– ‘तिम्रा मालिकलाई भनी हेर त, यो मान्छेले तपार्इंले किनेको मूल्यमा अरु त्यति नै थपेर टिन लिइदिने रे भनेर !’ गाढीवालाले पनि नबोल्ने बालाई अञ्चलाधीशको कुरा सुनाई दिएछन् । नबोल्ने बाले भनेछन् ‘मेरो जम्मा २० बण्डिल टिन छ । प्रति बण्डिल ५ कोरी परेको हो, मलाई दामको दाम दिए पुग्छ लु पैसा गन्नुस भन त !’ भनेर गाढीवाललाई भन्नु भएछ । नबोल्ने बाले र तुरुन्त गाढालाई भद्रपुरतिरै फर्काउन लगाइहाल्नु भएछ ।

नबोल्ने बाको चाला देखेपछि अञ्चालाधीश पनि झस्किएछन् र भनेछन् ‘मैले त रेला पो गरेको त !’ यो कुरा बुझेपछि नबोल्ने बा आवेशमा आएर नाना भाँतीसँग आफ्नो आक्रोश व्यक्त गर्नुभएछ । मलाई तपार्इं जत्तिको ओहोदाको मान्छेले यसरी ओल्याउने ? पद र पहुँच तपाईंको मात्र छ ? पुलिस तपार्इंका शक्ति छन् भनेर सोझासिधालाई तर्साएको ? इत्यादिका भावमा उहाँ उत्रेपछि अञ्चालाधीशले १० औंला जोडेर माफी मागेको प्रसङ्ग आज पनि गाउँ समाजमा किम्बदन्त्तीका रुपमा छँदैछ ।

२. घर ग्वाली सबैतिर टिनको छानो, बुट्टेदार झ्याल ढोका

भद्रपुरबमाट टिन आइपुगेपछि घरमा टिन ठोकियो । घरमा मात्रै होइन भान्सा घर, ग्वाली घर सबैतिरको छानोमा टिन नै टिन भयो । राम्रा बुट्टेदार ढोका, झ्याल अनि उस्तै बुट्टेदार बरण्डाको रेलिङ्ग बनाइएको थियो । घरका फर्निचर पनि त्यही अनुसारका राखिए । डम्मरु खतिवडा आसाम कै सिपालु मिस्त्री, अझ उनले यता नेपालमा आफ्नो मार्केट बिस्तार गर्नु थियो । त्यसमाथि भएन नबोल्ने बा ले ‘काम राम्रो गर पैसाको फिक्री नलेउ’ भनेपछि डम्मरुलाई के थियो र ! सकेको सीप देखाए ।

नगदेबालीका रुपमा सुपारी खेती

घर निर्माणको पाटो पूरा भएपछि नबोल्ने बाको चाहाना घर वरिपरि गार्डेन निर्माणको थियो । उहाँले सुपारी खेती सुरु गर्नुभयो । धानमात्र नगदेबाली सम्झनेहरुलाई सुपारी खेती पनि आम्दानीको भरपर्दो स्रोत हो भनेर नबोल्ने बाले नै गढीगाउँ र शनिनगरमा चेतना प्रवाह गर्नु भएको थियो । सुपारी बाहेक परम्परागत रुपमा आँप, अम्बक, कटहर, केरा, नरिवल, किम्बु इत्यादि फलफूलले उहाँको घरबारी सुसञ्जित रहेको हुन्थ्यो । पुख्र्यौली जमिन र सम्पत्ती धेरै भएकोले धान खेतीको पनि उहाँमा कमी थिएन । गौपालन त पिता मधुसुदनको शौख नै थियो जसलाई नबोल्ने बाले पनि निरन्तरता दिनु भएको देखिन्थ्यो ।

अन्त्यमा, एक अद्भुत क्षमता सम्पन हुनुहुन्थ्यो नबोल्ने बा । जसलाई म सधैं आदरणीय मामाका रुपमा कदर गर्दथे । मृत्यु पश्चात आफ्ना आँखा दान दिने उनै मामाबाट जीवनको धेरै यस्ता पे्ररणा र ज्ञान पाएको अनुभव भइराख्छ । मनकामना कलेजको स्टाफ रुमको दक्षिण पट्टिको भित्तामा अडिराख्नु भएका नबोल्ने बा त्यहाँ पनि नबोलेर नै मलाई धेरै कुराहरु भनिराख्नु हुँदैछ जस्तो लागिरहन्छ । क्यालेण्डर देख्ने बित्तिकै म सधैं भावुक र सम्बेदनशील बन्दछु । आदर्श पुरुष नबोल्ने बाको कृत्यहरु सम्झँदै सोही पथमा हिंड्न सकेमा अवश्य जीवन सार्थक हुने रहेछु भन्ने कल्पना गरिरहन्छु ।

          September 6, 2022 8:49 am | मुख्य समाचार,विचार/ब्लग,समाज

प्रतिकृयाहरू :

समाचारहरु: