माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

August 16, 2022 5:09 pm

काठमाडौं । आज एकाएक दुई खबर सार्वजनिक भए । नेपाल समाजवादी पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री एवं नेकपा राष्ट्रिय एकता अभियानका नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतम माओवादी केन्द्रको चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने ।

औपचारिक रुपमा पार्टी एकता नगरे पनि अर्को दलको निर्वाचन चिह्नमा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका उनीहरुले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा भएको सुविधा उपयोग गर्नेछन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा बढी दलहरुले मोर्चाबन्दी गरेर एउटा निर्वाचन चिह्नबाट प्रतिस्पर्धा गर्न पाउने सुविधाको परिकल्पना छ । त्यसका लागि दुई वा त्योभन्दा बढी दलले निर्वाचन प्रयोजनका लागि संयुक्त रुपमा निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिनुपर्छ ।

निर्वाचन आयोग सम्वद्ध एक अधिकारीका अनुसार, यदि तीन दलले एकमुष्ट रुपमा मोर्चाबन्दी गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने हो भने तीनवटै दलको अलग अलग केन्द्रीय समितिको बैठकबाट त्यस सम्बन्धी निर्णय गरेको कागजात पेश गर्नुपर्छ । अनि भोलि उम्मेद्‍वारीको मनोनयन दर्ताका क्रममा कुन नेताको हस्ताक्षरयुक्त पत्रलाई आधिकारिक मान्यता दिने हो, त्योसमेत दल दर्ताको आवेदन दिने क्रममा नै खुलाउनु पर्नेछ ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समयसीमा आज मंगलबारसम्म तोकेको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४९ को सुविधा अनुसार मोर्चाबन्दी गरेर निर्वाचन लड्ने हो भने माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रिय एकता अभियानले संयुक्त रुपमा निर्वाचन आयोगमा आवेदन दिनुपर्छ । त्यसका लागि उनीहरुले आ–आफ्नो केन्द्रीय समितिबाट छुट्टाछुट्टै निर्णय गराउनु पर्नेछ ।

माओवादी केन्द्रले केही दिनअघि नै निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आवेदन दिइसकेको छ । नयाँ सहमित पछि माओवादी र नेपाल समाजवादी पार्टीले आज मंगलबार संयुक्त रुपमा अर्को आवेदन दिएका छन् ।

आयोगका एक अधिकारीका अनुसार, अब माओवादी केन्द्रको यस अघिको निवेदन रद्ध गरेर नयाँ दर्ता भएको संयुक्त आवेदनलाई अघि बढाइने छ ।

डा. बाबुराम भट्टराई र बामदेव गौतम माओवादी केन्द्रको निर्वाचन चिह्नबाट निर्वाचित भएमा उनीहरु पनि माओवादी केन्द्रको सदस्यको हैसियतमा सांसद हुनेछन् । नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रिय एकता अभियानबाट समानुपातिकमा निर्वाचित हुने सांसदहरु समेत माओवादी केन्द्रका सांसद मानिनेछन् ।

पछि उनीहरु मूल दलमा फर्किन खोजेमा दल त्यागको कारबाही आकर्षित हुन्छ । त्यस्तो अवस्थामा मूल पार्टी (माओवादी केन्द्र)ले उनीहरुलाई सांसदबाट हटाउन सभामुखलाई सिफारिस गर्ने सुविधा पाउनेछ ।

हामी पनि सत्ता गठबन्धनकै अंग हौं : डा. भट्टराई

यसैबीच, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बताएका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष भट्टराईले आफूहरु सत्तारुढ गठबन्धन बाहिर नरहेको बताए ।

‘एउटा भ्रम के नपरोस् भने नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो, भित्र बाहिर भन्ने बहस छ त्यो सत्य होइन, हामी भित्रै छौं’ उनले भने । उनले गठबन्धनले बनाउने तालेमलको मापदण्ड अनुसार अघि बढ्ने बताए ।

भट्टराईले अग्रगामी परिवर्तनका बाँकी काम पूरा गर्न एक्लाएक्लै भन्दा मिलेर अगाडि बढ्ने सहमति अनुसार माओवादी केन्द्रसँग एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न लागेको बताए ।

‘तत्काल त चुनावी प्रयोजनका निम्ति मात्रै हो । तर हाम्रो लक्ष्य नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्न हामी सबैले एक्ला एक्लै भन्दा मिलेर नयाँ ढंले नयाँ आधारमा एकतावद्ध भएर जानु मुलुकको ऐतिहासिक आवश्यकता हो । त्यो दिशातिर हामी जान्छौं ।’

उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीको गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्नेगरी निर्वाचन आयोगमा आवेदन दिएको बताए ।

सिट संख्याबारे छलफल गरेर टुंगो लगाउने बताउँदै उनले भने, ‘मुख्य कुरा राजनीतिक समझदारी र विश्वास नै हो, बाँकी कुरा छलफल गरेर टुंग्याउँछौं ।’

अध्यक्ष भट्टराईले नेसपा पनि गठबन्धनभित्रै भएकोले गठबन्धनले बनाउने मापदण्डअनुसार नै तालमेल गरेर अगाडि बढ्ने बताए ।

अनलाइनखबरबाट

          August 16, 2022 5:09 pm | मिडियाबाट साभार,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: