कर्णाली साकोसः एकजना सदस्यको उपचारमा १,३३,५०० रुपैयाँ सुविधा प्रदान

July 15, 2022 10:19 am

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर मोरङ र इलाममा पनि कार्यक्षेत्र बिस्तार गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको विशेष उपचार कोषमा आवद्ध सदस्यहरु लाभान्वित हुनेक्रम बढेको छ ।

संस्थाले यस्तो कोषको शुल्क एकपटक पाँच हजार रुपैयाँ बुझाएर वर्षेनी नविकरण गर्ने सदस्यहरुलाई १० लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने नीति बनाएको छ । कोषमा अपेक्षित रकम संकलन भइनसकेका कारण चालू आर्थिक वर्षसम्म ४० प्रतिशत उपचार राहत प्रदान गरिँदै आएको जनशक्ति विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईले जनाएका छन् ।

सोही कोषको सदस्यता लिएका मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारी बजारका सागर राजवंशी गत चैत ५ गते साँझ मोटरसाइकल दूर्घटनामा परेका थिए । उनको उपचार बिर्तामोडको एक अस्पतालमा भयो, जहाँ उनले तीन लाख ३३ हजार ७८७ रुपैयाँ खर्च गरेको बिल कर्णाली साकोसमा बुझाएका थिए ।

संस्थाले पनि अस्पतालले उपलब्ध गराएको बिल भौचरहरुको परीक्षण पछि सदस्यले संस्थासँग गरेको कारोबारहरु तथा विशेष कोषको सदस्यता नविकरणसमेत अध्ययन गरेर उपचार खर्च रकमको ४० प्रतिशत स्वीकृत गरेको थियो । उक्त रकम बिहीबार बिरामी सागर राजवंशीको निवासमा नै पुगेर हस्तान्तरण गरिएको हो ।

संस्थाका सञ्चालक समिति सदस्य जानुका ओली, जनशक्ति विभाग प्रमुख भट्टराई, धुलाबारी सेवा केन्द्र प्रमुख सुनिता राईसहितको टोलीले राजवंशीलाई एक लाख ३३ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा जनशक्ति विभाग प्रमुख भट्टराईले विशेष उपचार कोषका सम्बन्धमा प्रकाश पारेका थिए ।

चेक ग्रहण पछि राजवंशीले भने, ‘सहकारी संस्थाले यति ठूलो रकम सदस्यको उपचारमा खर्च गर्छ भन्ने कुरा विश्वासै लागेको थिएन । तर कर्णाली साकोसले यस्तो सुविधा दिने नीति बनाएर आपतमा परेका घाइते, रोगीहरुको उपचारमा राहत दिन थालेकोमा खुशी लागेको छ । आफू अन्य सहकारीको पनि सदस्य नबनेकोले अरुले के गर्छन् थाहा छैन तर कर्णालीको यो योजना मलाई मन पर्यो ।’

          July 15, 2022 10:19 am | अर्थतन्त्र,मुख्य समाचार,लोकप्रिय,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित