‘घिमिरेकी छोरीले छरेको धानको बिउ उम्रिँदैन !!’


बाल सहयोगी कार्यकर्ता तालिम झापाको बिर्तामोडमा केही दिन अगाडि सम्पन्न भयो । जहाँ झापाका १५ वटै स्थानीय तहबाट नयाँ बाल सहयोगी सहजकर्ता आउनु पर्ने थियो । महिलालाई नै प्राथमिकता दिइएको तालिममा विभिन्न विद्यालयबाट छनोटमा परेर सहभागी हुन सबैजसो महिलाहरु नै आइपुग्नु भयो ।

सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक हुँदै हाम्रो समय व्यतित भइरहेको छ । हामी उमेरले जतिनै ठूला भएपनि कहिले काहिँ बाल्यवस्थाका ती दिनहरुलाई सम्झेर बेलाखबत खुसी हुन्छौ कि त भावुक । कति पलहरु सम्झिँदा ओठमा हाँसो छाउँछ त कति पल सम्झिँदा आँशु आउँछ । चाहे जे सुकै होस्, हामी सबैले कहिले काहिँ पछाडि फर्केर ती बच्चा बेलाका दिन सम्झन्छौ । अनि भन्छौं, कास ती दिन फेरि फर्किए त …….

सेतो गुराँसको आयोजना र विश्व बैंकको सहयोगमा विभिन्न चरणका आवासीय तालिमहरु मध्ये यो चाहिँ तीन दिनको तालिम थियो । कसैको लागि बिर्तामोड शहर सुनेको धेरै भए पनि पाइला टेकेको पहिलोपटक थियो । यो सुन्दा मलाई पनि नराम्रो लाग्यो । गाउँघरका कति महिलाहरु छन् होला– जो घर, परिवार, छोराछोरी, काम धन्दा भन्दाभन्दै घरमै सिमित हुन्छन् । अनि शहर भनेको कस्तो हुन्छ देख्नै नपाई संसारबाटै विदा भए होला ! यस्तै लाग्यो उहाँको कुरा सुनेर ।

पहिलो दिनको सेसन शुरु हुन्छ । सहभागी सबैलाई ‘तपाईंले विगत ८ वर्षमा अनुभव गरेको सबैभन्दा खुशीको क्षण र दुःखको क्षण चित्रमा प्रस्तुत गर्नुस्’ भनी निश्चित समय दिइन्छ । सबैका आ–आफ्नै भोगाई आए । धेरैको साईकल कुदाउँदाको अनुभव मन र मष्तिस्कमा रहेको रहेछ । कोही एकलाई वातावरण मन पर्ने रहेछ । उहाँ प्रकृतिपे्रमी भएकाले बोटबिरुवा रोप्न पाउँदा खुशी लाग्ने । तर किन रोपेको भनेर साथीले उखेलेर फालिदिँदा दुःखी भएको र रोएको कुरा पनि अनुभूति पस्किएको पायौं । आमाले बजारमा लगेर आफूलाई लुगा किनिदिनु भएको थियो । घर आउने बित्तिकै त्यही नयाँ लुगा लगाएर देखाउन दगुरेर साथीको घर गएको खुशीको क्षण कसैको भोगाई सुनियो ।

तालिममा सहभागीहरुमध्ये एकजना सहभागीको अनुभूतिले म पनि भावुक बनेँ । उहाँ गौरीगञ्जबाट आउनु भएको थियो । दुई छाक खान र एकसरो लगाउन अर्काकै घरमा, खेतमा काम गर्नुपर्ने उहाँको परिवारको बाध्यता रहेछ । हाम्रो परिवारमा बाबा, आमा अनि हामी दुई छोरीहरु र घरको हजुरआमा थियौं । आमा दिउँसोभरि काम गरेर आउनुहुथ्यो । घर आएर भात पकाएर दुई चार गाँस तातो भात छोराछोरीलाई खुवाएर आफू पनि खाएर आराम गर्न चाहानु हुन्थ्यो । थाकेको आमाको शरीरले अहिले सम्झिँदा यस्तै लाग्छ । तर बिचरा मेरो आमा, रक्सीले मातेर आएको मेरो बुबाको हातको कुटाई नखाई कहाँ आराम गर्न पाउनुहुथ्यो र ? यो सब मेरो आमाको दिनचर्या थियो ।

उहाँको बाल्यकालको नमिठो भोगाई यस्तो रहेछः
यतिबेला वर्षातको समय छ । अहिलेमात्र होइन, वर्षातको समय र वर्षात सुरु हुने बित्तिकै मलाई त्यही नमिठो भोगाई स्मृतिमा छाउन थाल्छ । बाबा, आमा अनि हामी दुई छोरीहरु र घरको हजुरआमा हाम्रो परिवार । जेठ महिना थियो, पहाडबाट मावलको हजुरआमाको मृत्युको खबर आएपछि बाबा र आमा मावल जानुभयो । अहिलेको जस्तो भएको भए एकै दिनमा पुगिन्थ्यो होला तर त्यतिखेरको समयमा पातलो गाडी चल्ने अनि बर्खायामको बाटो भएकाले छिटो आउजाउ हुँदैनथ्यो ।

गाउँघरमा बस्ने हामीहरु प्रायः सबैले खेतीपाती नै गर्ने गरिन्थ्यो । जेठ महिनामा छरछिमेकी सबैले धानको बिउ राखिसकेका थिए । हाम्रो खेतमा पनि बिउ राख्नुपर्ने थियो । गोठमा हल गोरु त थिए, तर खेत जोत्ने लोग्ने मान्छे घरमा कोही थिएनन् । छरछिमेकमा बिउ राखिदिन आग्रह गरियो तर कसैले भ्याउँछु भनेनन् । आफू पनि बच्चा नै थिएँ । उमेर बच्चा नै भए पनि अहिले धानको बिउ छरिएन भने पछि के रोप्ने, अनि धान नरोपेमा के फल्छ र वर्षभरि खाने होला ! भन्ने दिमागमा आयो । कसैले सहयोग नगरेपछि अब आफैंले गर्नुपर्छ भन्ने लाग्यो ।

आठ–नौ वर्षको त्यो कलिलो उमेरमा मैले हलो जोत्ने साहस जुटाएर हजुर आमालाई सघाउन आग्रह गरें । तपाईं सघाउनु, म जोत्छु अनि विउ छरौंला ल हजुरआमा भनें । नभन्दै हजुरआमाको सहयोगमा मैले हल गोरु नारेँ, हलो जोतेर धानको ब्याड राख्ने माटो बनाएँ, अनि बिउ पनि छरें । छोरी मान्छे, त्यो पनि फुच्चीले आँट गरेर केही त गरी है भनेर हौसला दिनु पर्नेमा समाजका कतिपय मान्छे सधैं नकारात्मक नै पोखिनुपर्ने ! घिमिरेकी छोरीले छरेको धानको विउ उम्रिँदैन भन्ने समाजको एउटा पक्ष फेरि त्यहीँ निस्कियो ।

‘अहिले छोरी मान्छेले हलो जोत्नु ठूलो कुरा नहोला, तर त्यो सानो उमेरमा बाध्यताले हलो जोत्नु मेरो लागि धेरै ठूलो कुरा थियो । त्यतिखेर मलाई लाग्यो कि हाम्रो घरमा पनि छोरा भएको भए सायद यो सब सुन्नु त पर्ने थिएन । यस्ता दिन थिए, जुन दिन मैले बिताएँ’ भनिरहँदा गौरादह निवासी गीता घिमिरे बोल्न सकिनन्, उनी भक्कानिइन् ।

सहभागी सबैका आँखा रसाएका थिए । हल एकछिन स्तब्ध एवम् संवेगमय बन्यो । म आयोजक टिमबाट थिएँ । यत्तिकैमा म पनि बाल्यकालका तीता अनि मिठा पललाई सम्झिँदै सिपी पार्टी प्यालेसको हलबाट बाहिरिएँ ।

          July 8, 2022 9:01 am | लोकप्रिय,विचार/ब्लग,समाज,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित