अब लाहुरे लागुऔषधविरुद्धको अभियानमा

June 18, 2022 10:40 am

भापा । युवा माझ लोकप्रिय कलाकार हुन् र्‍यापर लाहुरे अर्थात् आशिष राना । उनलाई कास्की प्रहरीले केही महिना अगाडि लागुऔषध प्रयोग गर्दै गर्दा पक्राउ गर्‍यो । उनी ५६ दिन जेलमा बसेर छुटेका छन् । उनै लाहुरे अब भने लागुऔषधविरुद्धको अभियानमा निस्कने तरखरमा छन् ।

नजिकै आउन लागेको अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा लाहुरे अभियानमा अगाडि बढ्ने भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने कार्यक्रममा उनी अभियन्ताका रूपमा अगाडि देखिने छन् । असार ६ गतेदेखि पोखरामा विभिन्न ठाउँमा अभियान सञ्चालन हुनेछ ।

अहिले पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लागुऔषधविरुद्ध मुद्दाका धेरैजसो कारोबारी नै भएका कास्की प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रमेश थापाले बताए । लागुऔषध कारोबारीलाई हदैसम्म कारबाही र अन्जानमा फसेकालाई परामर्शबाट सुधार गर्ने प्रयासअनुसार नै कार्यक्रम गर्न लागेको उनको भनाइ छ । आशिष राना पनि यसको एक उदाहरण भएको उनले बताए ।

गएको पुस १४ गते लागुऔषध सेवनको अभियोगमा लाहुरे पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा लागुऔषधको दुर्व्यसनबाट मुक्त हुने वातावरण पाएको उनको भनाइ छ । दुर्व्यसनले क्षणिक आनन्द दिए पनि त्योभन्दा धेरै दुःख, कष्ट दिने गरको लाहुरेले बताए । ‘शरीर र मन दुवै नियन्त्रण गरे दुर्व्यसन छोड्न सकिन्छ । शारीरिक रूपमा एकरदुई महिना गाह्रो भए पनि मेन्टल्ली भने जिन्दगीभरि नै कन्ट्रोल गरेर बस्नुपर्छ’, उनले भने ।

किशोर बेलामा मन चन्चले हुने र विद्यार्थीहरू नराम्रो बाटोतिर लाग्ने लाहुरेको अनुभव छ । यो समयमा अविभावकहरूले आफ्ना छोराछोरीलाई धेरै सयम दिएर ख्याल राख्नुपर्ने उनी बताउँछन् ।

सप्ताहव्यापी कार्यक्रम असार ६ गते पोखरा सभा गृहमा साङ्गीतिक कार्यक्रमका साथ सुरु हुनेछ । असार ७ गते कास्कीमा रहेका पुनर्स्थापना केन्द्रहरूसँग अन्तर्क्रिया, ८ गते औषधि बिक्रेतासँग छलफल, ९ गते विभिन्न स्कुल र कलेजमा विद्यार्थीसँग सचेतना, १० गते सञ्चारमाध्यमका विज्ञसँग छलफल, ११ गते समुदायमा भेटघाट र १२ गते अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा पोखरामा साइकल र्‍याली गरी समापन हुनेछ ।

          June 18, 2022 10:40 am | गीत/संगीत/मनोरञ्जन,समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: