विराटनगर विमानस्थल पीडितद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

June 13, 2022 8:23 pm

विराटनगर । विराटनगर– ४ का विमानस्थल प्रभावित साढे तीन सय परिवार मुआब्जा वा जग्गा फुकुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री कार्यलय अगाडि केहीबेर धर्ना दिएर सडक आन्दोलन गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री राजेन्द्र राई र प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाललाई ज्ञापनपत्र बुझाउँदै एकसाता भित्रमा मुआब्जाको व्यवस्था वा घर जग्गा फुकुवा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विमानस्थलको स्तरोन्नति गर्ने भन्दै सरकारले आसपासका साढे तीनसय परिवारको १२६ विघा जमिन र घर दुई वर्षदेखि रोक्का गरेर मुआब्जा दाबी गर्न बोलाएको थियो । तर सरकारले मुआब्जाका लागि दुई वर्षसम्म बजेटको व्यवस्था नगरेपछि उनीहरु सडकमा उत्रिएका हुन् ।

‘दुई वर्षभन्दा बढी समय घर जग्गा रोक्का हुँदा आर्थिक संकटका बेला वित्तीय संस्थामा राखेर कारोबार गर्न पनि पाइएन’ विमानस्थल संघर्ष समितिका अध्यक्ष वेदराज पौडेलले भने, ‘हामीले आफ्नै जग्गाको मुआब्जा वा फुकुवाको माग मात्र गरेका हौं । जग्गा बेचविखन र अंशबण्डा समेत गर्न पाएका छैनौं ।’

‘घरको जस्ता पाताको छानो प्वाल परेको छ । पानी परेपछि चुहिएर बसिनसक्नु छ’ अर्की पिडित सविना मगरले भनिन्, ‘रकम खर्चेर छानो फेरौं कुन दिन उठाउला भन्ने चिन्ता छ । नफेरौं पानी चुहिएर बर्खा कसरी कटाउने तनाव छ ।’

२०७७ साल असोजमा मन्त्रिपरिषद्ले यो विमानस्थललाई क्षेत्रीय स्तरको बनाएर सार्क राष्ट्रमा हवाई उडान गर्ने भन्दै नागरिक उड्ययन कार्यालयलाई १२६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणले अघिल्लो चैतमा सर्वसाधारणको घर र जग्गा रोक्का गरेर तीन पुस्ते विवरणसहित मुआब्जा दाबी गर्न आह्वान गरेको थियो । घर जग्गा रोक्कामा परेका परिवारले तीन पुस्ते विवरणसहित आवश्यक कागजपत्र पनि बुझाएका थिए ।

संघर्ष समितिका अध्यक्ष पौडेलले भने ‘सरकारले पनि मुआब्जा निर्धारण समिति गठन गरेर गरेको थियो । तर दुई वर्ष बित्दा पनि मुआब्जाका लागि सरकारले बजेटको प्रबन्ध नगरेपछि मुआब्जा वा घर जग्गा फुकुवाको माग गर्दै पीडितहरु सडकमा उत्रिन बाध्य भएका हौं ।’

कान्तिपुरबाट

          June 13, 2022 8:23 pm | प्रदेश तह,मिडियाबाट साभार,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: