कृषि उत्पादनमा संरक्षण नीतिको खाँचो


नेपाली किसानले किन उत्पादनमा रुचि देखाएनन् ? नेपालमा नै सहजै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको आयातमा निरन्तर वृद्धि भएको छ । यस बारेमा अब पनि नसोच्ने हो भने हाम्रो अधोगति र यसबाट हुने दुर्घटनाको अवस्थाबाट देशलाई कसैले बचाउन सक्दैन । हाम्रो ढिकुटीमा भएको विदेशी मुद्राको संचितिमा परेको दबाव अझै बढ्दै गएमा दैनिकरुपमा चाहिने कुनै पनि खाद्य वस्तुसमेत आयात गर्न विदेशी मुद्रा नहुने अवस्था आउन अब धेरै समय लाग्ने छैन । देशमा उत्पादन हुने कृषिको संरक्षण नगर्ने, उत्पादन क्रमशः खुम्चिँदै जाने र आयातका लागि विदेशी मुद्रा पनि नहुने अवस्थाका बारेमा कसैको ध्यान जान्छ कि जाँदैन ? थाहा छैन । हामी अहिले जुन अप्ठ्यारो बाटोमा हिँडिरहेका छौं, त्यसले हामीलाई पुर्याउने भनेको थप सङ्कटको अवस्थामा नै हो । यसबारेमा बेलैमा ध्यान पुर्याउन सरकारले अलि कडा कदम चाल्नुपर्छ । जनताले थोरै महङ्गो तर स्वदेशी उत्पादन किन्न र उपभोग गर्न तयार हुनुपर्छ ।

रामचन्द्र उप्रेती

म एउटा सहकारीकर्मी र कृषिमा केही काम गरिरहेको मान्छेको अनुभवका आधारमा वर्तमानमा हिँडिरहेको बाटो गलत छ र यसलाई बदल्न शुरु गर्नुपर्छ भन्छु । यसमा एकैपटक सबै वस्तुमा बन्देज लगाउन नसकिएला । गर्नु हुँदैन पनि । तर हामीले देशमै उत्पादन गर्नसक्ने वस्तुको संरक्षणको नीति सरकारले अपनाउन ढिला गर्नु हुँदैन । २०७४/०७५ मा देशमा मिल्क होलिडे भयो । किसानले उत्पादन गरेको दूध बिक्री हुने अवस्था भएन । किसान यो पेशाबाट पलायन हुने अवस्था आयो । तत्कालिन नेकपाको सरकारले पाउडर दूध र झोल दूधको आयातमा प्रतिबन्ध लगाएर दूध उत्पादक किसानको संरक्षणको नीति लियो । त्यसपछि अहिलेसम्म मिल्क होलिडे गर्नुपरेको छैन । देशमा कच्चा दूधबाट धुलो दूध बनाउने कारखाना खोल्नेक्रम बढेको छ । दूधको उत्पादन र खपत दुवै बढेको छ । यसले उत्पादन र रोजगारी बढेको मात्रै होइन विदेशी मुद्रा खर्च हुनबाट जोगाएको पनि छ ।
यो अनुभवको फाइदालाई हेरेर पनि अबका दिनमा तरकारी, फलफूल, अन्न, माछामासु उत्पादक किसानलाई संरक्षण गर्न सरकारले निम्न वस्तुहरुमा केहीमा पूरै प्रतिबन्ध र केहीमा परिमाणात्मक बन्देज लगाउन ढिलो गर्नु हुँदैन ।

हरियो तरकारीः काँक्रा, करेला, फर्सी, सिमी, बोडी, काउली, ब्रोकाउली, टमाटर, बैगुन, खुर्सानी, मुला, गाँजर, भिण्डी, बन्दा, क्याप्सिकन, लौका, घिरौंला, चिचिण्डो, झिङ्नी पूरै बन्द गरिनुपर्छ ।

फलः आँप, खरबुजा, मेवा, किवी, सुन्तला (सन्तरी), नास्पाती, केरा पूरै बन्द गर्नुपर्छ । चल्तीको फल स्याउमा परिणात्मक बन्देज वा भन्सार महशुल बृद्धि गर्नुपर्छ ।

अन्नः चामल, चिउरा, भुजा (मुराई) आयातमा पूरौ प्रतिबन्ध गरिनुपर्छ । धान, मकै, गहुँ, जौ, फापर, कोदो, आलुको आयातमा परिमाणात्मक बन्देज वा आयातमा टेयाक्स बढाएर स्वदेशी उत्पादक किसान र उद्योगको संरक्षण गर्नुपर्छ ।

दलहन र तेलहनः तयारी दाल (सबै प्रकारको) र खाने तेलको आयातमा भन्सार शुल्क बढाउनु पर्छ । खानेतेल र दाल उत्पादनका लागि चाहिने कच्चा पदार्थ (तोरी, भटमास, सर्सिउँ गोटा दालको आयातमा परिमाणात्मक बन्देज लगाउनु पर्छ ।
माछामासुः जसरी कुखुरा र अण्डाको आयातमा प्रतिबन्ध छ त्यसैगरी माछा, खसी र पाडा (राँगा)को आयातमा रोक लगाउनु पर्छ ।

फूलः सयपत्री फूल र सयपत्री फूलको मालामा प्रतिबन्ध लगाउनु पर्छ ।

डेरीका उत्पादनः झोल दूध, दूध पाउडर, बटर, घिउ, आइसक्रिम, पनिर र चिजमा पूरै प्रतिबन्ध लगाउनु पर्छ ।

चिनी र सख्खरः चिनी उद्योग सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्छ । सख्खर आयातमा प्रतिबन्ध लगाएर देशमा सख्खर उद्योग सञ्चालनलाई प्रोत्साहन गर्नुपर्छ । यसले उखुको खपत बढाउनुका साथै चिनीको प्रयोगको सट्टामा सख्खरको प्रयोग बढाउँदा जनस्वास्थमा सकारात्मक प्रभाव पर्छ ।

मसलाः मेथी, ज्वानो, धनियाँ, सुकेको खुर्सानी, अदुवा, लसुन, प्याज, बेसार (सिम्टा र धुलो दुवै)मा भन्सार महशुलमा बृद्धि गरेर यहाँ हुने उत्पादनलाई संरक्षण गरिनु पर्छ ।

यदि सरकारले यी र यस्ता वस्तुको पहिचान गरेर स्वदेशी उत्पादनलाई संरक्षण गर्ने नीति लिने हो भने मात्रै देशमा कृषिको उत्पादन बढाउन सकिन्छ । कृषिको उत्पादनसँगै रोजगारी वृद्धि गर्न, विदेशी मुद्रामा हाल भइरहेको दवावलाई कम गर्न र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिन्छ ।

तीनवटै तहका सरकारले कृषि उत्पादन बढाउनका लागि बिउ, मल, सिंचाई, प्राविधिक सहायता, तालिम केन्द्र र बजारको व्यवस्थामा सघाउनु पर्छ । प्रत्येक पालिकामा किसान बजारको व्यवस्था गर्नुपर्छ । त्यहाँ किसानले उत्पादन गरेका आफ्ना उत्पादन वा तिनको नमूना लगेर बेच्न सकुन् । किसान र उपभोक्ताको सोझो सम्पर्क यस्ता किसान बजारमा हुनसक्छ । साथै व्यवसायिक खरिद बिक्रीका लागि पनि यस्ता किसान बजार उपयुक्त स्थान हुन सक्छन् । यस्ता किसान बजार नेपालको गाउँगाउँमा चलेका पुराना हाटबजारको नयाँ रुप हुन् । यसलाई व्यवस्थित गर्नसक्दा मात्रै पनि किसानका उत्पादनको नजिकमा बजार र व्यवसायी हुन्छन् । किसानको पहुँच बढ्छ ।

किसान भन्ने बित्तिकै जुन चित्र र अवस्था मानिसको दिमागमा आउँछ, त्यो बदल्न जरुरी छ । किसान यो देशका नायक हुन् । किसानले उत्पादन गर्छन् र नै हामीले खान पाएका छौं । किसान महान हुन् । किसान हुनु गौरवको कुरा हो भन्ने बोध समाजमा गराउन जरुरी छ । त्यसोहुँदा मात्रै युवा किसान बन्न तयार हुन्छन् । उत्पादन गर्न तयार हुन्छन् । किसान हुनुभन्दा विदेश जानु ठिक, विदेश जानुभन्दा व्यपारी हुनु ठिक र व्यपारी हुनुभन्दा कर्मचारी हुनु ठिक भन्ने सामाजिक मूल्य बदल्न जरुरी छ ।

          June 7, 2022 7:50 am | अर्थतन्त्र,मुख्य समाचार,लोकप्रिय,विचार/ब्लग,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: