खुम्चिएको अर्थतन्त्र, सहकारीको जोखिम र समाधान


नेपालको सहकारी अभियानसमेत यो बेला जोखिममा छ भन्दा अत्युक्ति हुँदैन । किनकि नेपालको समग्र आर्थिक अवस्था नै जोखिममा भएको समयमा सहकारी क्षेत्रमा कुनै नकारात्मक प्रभाव परेको छैन भनेर ढाकछोप गर्न आवश्यक छैन भन्ने मेरो बुझाई हो ।

समग्र अर्थतन्त्रका सुचाङ्कहरु नकारात्मक छन् । एक वर्ष पहिले झण्डै १४ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति थियो । त्यो घटेर अहिले ७ महिनाभन्दा कमको आयात धान्न सक्ने अवस्थामा खुम्चिएको बताइन्छ । इन्धनको मूल्य इतिहासकै सबैभन्दा बढी भएको छ । यसको असर सबै क्षेत्रमा परेको छ । अत्यावश्यक र दैनिक उपभोग्य बस्तुको मूल्य आकासिएको छ । देशमा नै उत्पादन गर्न सकिने औधोगिक माल बस्तुको उत्पादन लागत बढेको छ ।

आयातमुखी अर्थतन्त्र भएका कारण विदेशबाट आयात गरिने बस्तु तथा सेवाको लागि पर्याप्त विदेशी मुद्रा जुटाउन हम्मे पर्न थालेको छ । सरकार आयात नियन्त्रण गर्ने अवस्थामा पुगेको छ । बस्तु आयातमा दवाव पर्दा भन्सार राजश्वमा असर पर्ने देखिँदैछ । आर्थिक वर्षका आठ महिना बित्ता सरकारको विकास खर्च २० प्रतिशतको हाराहारी मात्रै छ । सरकारको अवस्था : न खर्च गर्न सक्ने क्षमता नै छ न खर्च गर्ने पैसा नै छ । कतिपय निर्माण सम्पन्न भएका र हुने क्रममा रहेका निर्माण कार्यको पैसा सरकारले भुक्तानी गर्न सकेको छैन ।

बैंक तथा वित्तीय संस्थालेले कर्जा लगानी गर्न छाडेको चार महिना (मंसिर–फागुन) बित्यो । यसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । यो अवस्था अझै कति दिन वा महिना रहने हो कसैले भन्न सक्ने अवस्था छैन । नयाँ रोजगारीका अवसर त थपिएनन् भएका अवसर पनि गुम्ने खतरा बढ्दैछ । गुमिरहेका छन् । त्यसको असर विदेश जाने युवाको बढेको भिडमा देखिन थालेको छ ।

यो अवस्था आउनुका अनेक काराण होलान्, त्यसको समग्र चर्चा यो लेखमा सम्भव छैन । तर यति भन्न सकिन्छ कि कोभिड–१९ को प्रभाव मुख्य हो । कोभिडको प्रभाव संसारभरि पर्यो । तर सक्षम राष्ट्रहरुले यसको नकारात्मक प्रभावबाट मुक्त हुन अनेक उपाय अवलम्बन गरे र उनीहरु सफल हुँदैछन् । हाम्रोजस्तो कमजोर सुशासन र कमजोर अर्थतन्त्र भएको मुलुकमा यसको असर धेरै समयसम्म रहने देखिन्छ । हालको अवस्था अभै खराब हुन गएमा हामीलाई कसैले आएर उद्धार गर्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।

देशको अर्थतन्त्र सङ्कुचनमा पर्दा त्यसको सबैभन्दा पहिला र प्रत्यक्ष असर देशका बैंक तथा वित्तीय संस्थाहरुमा पर्नेगर्छ । त्यो देखिएको छ । त्यसैको परिणाम हो बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न सकेको छैन, मात्रै होइन भएको निक्षेप निरन्तर घट्ने क्रममा छ । भएको निक्षेप टिकाउन व्याजदर बढाउनु पर्ने र त्यसको सोझो असर कर्जाको व्याजदरमा पर्न जान्छ । नयाँ कर्जा नपाउने, भएको कर्जाको पनि व्याज बढेपछि उद्योग र व्यवसाय थप सङ्कटमा धकेलिन्छन् । कति टिक्छन् कति सकिन्छन् भन्न सकिँदैन । यसको असर बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा पर्छ, परिरहको छ । यही अवस्था अरु चार छ महिना लम्बिए बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा गम्भिर समस्या देखिनेछ । यसको शुरुवात भएको छ । त्यसको असर निक्षेप फिर्तामा पर्न सक्छ ।

समग्र वित्तीय कारोबारको झण्डै २० प्रतिशतको हाराहारीमा कारोबार गर्ने सहकारी सङ्घ–संस्थामा त्यसको असर कस्तो पर्ला ? यसबारेमा हामीले अनुमान गर्न र सामना गर्न तयार हुनुपर्छ । प्रकृतिको नियम हो प्रतिकुलताको असर जहिले पनि कमजोरलाई धेरै पर्छ । अनुमान गरौं अहिलेको सङ्कट लम्बिँदै गयो भने त्यसको पहिलो असर सहकारी क्षेत्रमा कमजोर सुशासन भएका संस्थाहरुमा पर्नेछ । जसरी हावाहुरी आउँदा सबै रुखहरु मेलै लागेर ढल्दैनन् पहिला जुनजुन कमजोर छन्, ती ढल्न शुरु गर्छन् ।

जुन सहकारीमा सञ्चालक र वरिष्ठ कर्मचारी मिलेर स्वार्थवस लगानी गर्छन्, थोरै व्यक्तिमा धेरै लगानी केन्द्रित भएको हुन्छ । त्यस्ता सहकारी सबैभन्दा पहिला ढल्न शुरु हुन्छन् । योक्रम त्यतिमै सिमित हुँदैन, त्यसपछि अलिकति बलियाहरु हल्लिन र ढल्न थाल्छन् । त्यसको असर क्रमशः बलिया भनिएकाहरुतिर पनि पर्नेछ । किनकि निक्षेपकर्ता (सदस्य कम र निक्षेपकर्ता बढी हुने भएकाले)मा भय (डर) उत्पन्न हुन शुरु भयो र सबै निक्षेपकर्ताएकै पटक पैसा फिर्ता माग्न आएमा संसारका कुनै पनि बैंक तथा वित्तीय संस्थाले फिर्ता दिन सक्दैन् भन्ने नै सत्य हो । यो सत्य यहाँ पनि लागू हुन्छ । सन् २००८ मा शुरु भएको विश्वव्यापी आर्थिक सङ्कटको समयमा अमेरिकामा भएका ठूला भनिएका बैंकहरु नै धराशायी भएका थिए । त्यसपछि क्रमशः अरुमा असर पर्दैगयो ।

सन् २००८ मा आएको विश्वव्यापी आर्थिक सङ्कटमा विश्वमा सहकारीले चलाएका कुनै पनि ठूला व्यवसायमा त्यो सङ्कटको खासै असर परेन । त्यसको कारण भनेको ती सङ्घ संस्था सदस्य केन्द्रित आर्थिक कारोबार र पूर्ण सुशासनमा चलेका थिए । त्यो बेला विश्वका ठूला सहकारीमा आर्थिक सङ्कटको असर नपर्नुको कारणबारे संयुक्त राष्ट्रसङ्घले नै अध्ययन गराएको थियो । नेपालमा भएका सहकारीको अवस्था त्यति सन्तोषजनक छैन । यहाँ वित्तीय कारोबार गर्ने सहकारीहरु नै धेरै छन् । तर तिनको सुशासन कस्तो छ भन्ने बारेमा सबैले ढुक्क भएर भन्न र भरपर्न सकिने अवस्था छैन । वित्तीय कारोबार गर्ने संस्था सङ्कटमा पर्दा जोगाउन र काँध हाल्न अघिसर्ने कोही हुँदैनन् । त्यसैले वर्तमान आर्थिक सङ्कट लम्बिँदै गएमा आइपर्ने समस्या समाधान गर्ने उपाय खोज्न हामी आफैंले कम्मर कस्नुपर्ने हुन्छ ।

निक्षेपकर्ता सदस्यलाई विश्वासमा लिनु, भएको कर्जा लगानीलाई सुरक्षित बनाउनु, असुलीमा जोड दिनु, सञ्चालन खर्च कम गर्नु, स्थिर सम्पतिमा लगानी रोक्नु, नयाँ व्यावसाय र लगानीलाई स्थगित गर्नु आवश्यक हुन्छ । संस्थाको वित्तीय अवस्थाका बारेमा सदस्यलाई बारम्बार जानकारी दिएर विश्वासमा लिन आवश्यक हुन्छ । यो अलि अप्ठ्यारो र सङ्कटको समयलाई अवसरमा बदल्न कोशिस गरौं । यदि यो सङ्कटमा सदस्यको विश्वास जित्न र सदस्यलाई सेवा दिन सकियो भने सहकारी प्रतिको जनविश्वास बढ्नेछ । यो समयमा सबैभन्दा धेरै हामी सहकारी अभियानमा लागेका मानिसले आफूलाई र आफ्नो सहकारीलाई व्यवस्थित गर्न जरुरी छ । आफ्ना गलत सोच र गलत व्यवहारलाई परिवर्तन नगरी सहकारी सङ्घ संस्थामा देखिएका समस्या समाधान हुने छैनन् ।

सहकारी दिवस मनाउने दिनमा तामझाम गरेर, ठूला र्याली, गोष्ठी र भाषणले मात्रै सहकारीमा देखिएका समस्या समाधान हुँदैनन् । यो खालका कार्यक्रमसँगै अनुभवको आदान प्रदान गर्ने, सफल अभ्यासबाट सिक्ने, एकले अर्कोलाई सहयोग गर्ने संस्कारको विकास गर्न आवश्यक छ । वर्तमानमा देखिएको अघोषित प्रतिष्पर्धाले अभियानलाई सहयायोग पुग्दैन । सहकारीकर्मीले आफूलाई अभैm परिस्किृत गर्ने र आफू आवद्ध सङ्घ संस्थालाई आन्तरिक तवरबाटै सुधारको बाटोमा ठोस कदम चालेर अगाडि बढेमा सहकारीमा आउने सङ्कटलाई समाधान गर्न सहज हुन्छ । समय छँदै पहल गरौं, अन्यथा समय बितेपछिको कोशिस आगलागी पछिको कुवा खनाई हुनसक्छ ।

          April 5, 2022 9:19 pm | अर्थतन्त्र,मुख्य समाचार,विचार/ब्लग,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: