
भद्रपुरका पुराना खाद्य उद्योगी गुप्ताको निधन

भद्रपुर । झापाको भद्रपुरमा ६ दशकअघि स्थापना भएको एउटा धान–चामल तथा तेल मिलका सञ्चालक रामचन्द्र गुप्ताको निधन भएको छ ।
नेपालबाट भारततर्फ धान–चामल निर्यात भइरहेको समयमा वि. सं २०२० सालमा स्थापना भएको गुप्ता राइस एण्ड आयल मिलका सञ्चालक गुप्ताको ८६ वर्षको उमेरमा शुक्रबार बेलुकी भद्रपुर ५ स्थित निवासमै निधन भएको हो । हिजो शनिबार बिहान स्थानीय मेची नदीमा विधिपूर्वक दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।
दाहसंस्कार स्थलमा सहभागी भएका जिल्लाका प्रतिष्ठित उद्योगी–व्यवसायीहरुले स्वर्गीय गुप्ताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । गुप्ता मुटुको बिरामी थिए । उपचारका लागि भारतको दिल्ली पुर्याइए पनि उपचार सम्भव नभएपछि घरमै आराम गरेर बसेको अवस्थामा निधन भएको बताइएको छ ।
गुप्ताकी धर्मपत्नी सुशीलादेवी गुप्ताको दुई वर्षअघि २०७६ कात्तिकमा निधन भएको थियो । पिता जंगलीराम र माता फूलवासीदेवीका छोरा गुप्ता भद्रपुर मिल्स एशोसिएसनका संस्थापक सदस्य हुन् । सो एशोसिएशन हाल झापा उद्योग संघमा रुपान्तरित भएको छ । कानु हलुवाइ कान्दु मध्यदेशीय समाज झापाको अध्यक्षसमेत रहेका गुप्ता सामाजिक तथा धार्मिक व्यक्तित्वका रुपमा पनि परिचित थिए ।
उनले मेची अस्पतालमा बिरामीका लागि एउटा क्याविन कोठा, मेची बहुमुखी क्याम्पसमा विद्यार्थी पढ्ने एउटा कक्षाकोठा बनाइदिएका छन् भने भद्रपुर ५ स्थित जगन्नाथ मन्दिर निर्माणमा सर्वाधिक योगदान पुरयाएका छन् । त्यस्तै, विभिन्न मठ–मन्दिर तथा सामाजिक संघ–संस्थामा सहयोग पुर्याएका छन् ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका आजीवन सदस्य गुप्ताका पाँच छोरा जयशंकरप्रसाद, विनोदकुमार, शिवकुमार, राजेश र सन्तोष छन् भने तीन छोरी सरिता, कविता र पुनम रहेका छन् ।
भद्रपुरको उद्योग–व्यवसाय क्षेत्रमा गुप्ता परिवारको उल्लेखनीय योगदान छ । गुप्ता परिवारको पेट्रोलियम, चामल, दाना र चिया उद्योगहरुमा लगानी रहेको छ । गुप्ताको निधनप्रति झापा उद्योग संघले दुःख प्रकट गरेको छ । संघले भद्रपुरको मात्र नभई जिल्लाकै पुराना अनुभवी उद्योगी गुप्ताको निधनले झापाको उद्योग क्षेत्रमा क्षति पुगेको उल्लेख गरेको छ । यसैगरी नेपाल चिया उत्पादक संघले पनि गुप्ताको निधनले उद्योग व्यवसाय क्षेत्रमा क्षति पुगेको जनाएको छ ।
स्व. गुप्ताका साहिँला छोरा शिवकुमार झापा उद्योग संघको वरिष्ठ उपाध्यक्ष, नेपाल चिया उत्पादक संघको महासचिव एवम् पेट्रोलियम डिलर्स एशोसिएशनको सदस्यका रुपमा क्रियाशील छन् ।
January 16, 2022 4:45 pm | अर्थतन्त्र,लोकप्रिय,समाजप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी

विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार विजयी

भोजपुरका सात पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख अनुपस्थित

रतुवामाईको मेयरमा काङ्ग्रेस, उपमेयरमा एमाले निर्वाचित

पोखराको मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा
