आज माघे संक्रान्ति,धार्मिक मान्यता अनुसार उत्तरायण शुरु हुने दिन, थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउँदै


काठमाडौं ,नेपालमा मनाइने विभिन्न धार्मिक चाडमध्ये मकर सङ्क्रान्ति पनि एक महत्त्वपूर्ण चाड हो । ज्योतिषशास्त्रअनुसार बाह्र राशीमध्ये मकर राशीमा सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा प्रवेश गर्छ ।

यो माघ महिनामा पर्छ । माघको पहिलो दिनलाई मकर सङ्क्रान्ति तथा अयन सङ्क्रान्ति पनि भनिन्छ । यस दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ ।

यो चाड हामीले भविष्य पुराणका आधारमा विष्णु भगवान्को वचन मानेर मान्दै आएका हौँ । मकर सङ्क्रान्तिलाई नेवारले ‘घ्योचाकु सन्हू’ तथा ‘हामो सन्हू’ भन्ने गर्छन् ।

मकर सङ्क्रान्तिको पुनीत दिनमा नेपालभरका पवित्र नदी, दोभान तथा त्रिवेणीमा स्नान तथा देवदेवीहरूको पूजापाठ गरिन्छ । घिउ, चाकु, तिलको लड्डु, खिचडी, पालुङ्गोको तरकारी, सखरखण्ड र तरुल आदि स्वादिष्ट परिकार खाई यो चाड मनाउने चलन छ ।

यी पदार्थले शिशिर ऋतुको चिसोबाट जोगाई मन तथा शरीरलाई स्फूर्ति प्रदान गर्छ । आयुर्वेद र चिकित्साशास्त्रअनुसार पनि यस दिन खाइने परम्परागत खाद्य पदार्थले शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायत तìवहरू प्रदान गरी रोगसित लड्ने क्षमता वृद्धि गर्छ ।

यस चाडमा काठमाडौँको पशुपति, टेकु, ललितपुरको शङ्खमूल, काभे्रको पनौती, सिन्धुपाल्चोकको दोलालघाट, तनहुँको देवघाट, नुवाकोटको देवीघाट, जनकपुरको गङ्गासागर, कोसी नदी, झापाको कन्काई, भारतको प्रयाग र गङ्गासागरलगायत अन्य पवित्र नदीमा स्नान गरी, दान आदि कार्य गर्नेहरूको ठूलो भीड लाग्छ ।

यस चाडमा गरिने स्नानले शारीरिक तथा मानसिक शुद्धिसमेत हुनेछ । हाम्रो धार्मिक संस्कृतिमा दानको निकै ठूलो महìव हुन्छ ।

भविष्य पुराण, विष्णु पुराण तथा धर्म सिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी विभिन्न वस्तु घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडा र दाउरा, मकल आदि सिधादान गरेमा विशेष फल पाइन्छ भनेर उल्लेख गरिएको छ ।

महाभारतकालदेखि नै गोयुद्धको परम्परा रहेकाले नुवाकोटमा मकर सङ्क्रान्तिका दिन गोरु जुधाउने परम्परा अझै छ । नेवारहरूमा दानधर्म, पूजापाठ गरिसकेपछि आमा वा ज्येष्ठ व्यक्तिले समस्त परिवारका सदस्यलाई टाउकोमा तेल लगाई दीर्घायुको कामना गर्दै आशिष वचन दिने चलन छ ।

घाममा बसेर शरीरमा तेल लगाइन्छ । यस्तै नयाँ दुलही आमा नबनेसम्म लोग्नेको घरमा घिउचाकु खानु हुँदैन भन्ने भनाइ पनि छ । त्यसैले आमा नबनेसम्म उनीहरू माइतीमै गएर यो चाड मनाउने चलन छ ।

मकर सङ्क्रान्ति हिन्दु र बौद्ध दुवै सम्प्रदायले उच्च सम्मानका साथ मनाउँछन् । प्राचीनकालमा यसै दिन भक्तपुरको तौमधि टोलमा तीलमाधव नारायणको उत्पत्ति भएको किंवदन्ती छ । त्यसैले यस दिन यहाँ ठूलो मेला लाग्छ ।

नारायणको मूर्तिमा घिउ घसी विधिवत् पूजा गरी एक मुरी गहुँ उसिनी गाईलाई ख्वाउने चलन अझै पनि छ । यस्तै बौद्धमार्गी थथुबहाल अगाडि पाँचवटा दीपङ्कर बुद्ध राखेर पाठ गर्छन् ।

यो चाड मनाउन गुठीको पनि स्थापना गरिएको छ । गुठीद्वारा पाँचवटा दीपङ्करलाई खीर भोजन र बाह्रवटा परिकार राखी चढाइन्छ ।

यस्तै काठमाडौँमा बाह्र वर्षको एक पटक उपत्यकाका सबै दीपङ्कर भगवान्को मूर्ति जम्मा गरी पौष मसान्तका दिन हनुमान ढोकामा प्रदर्शन गरी भोलिपल्ट अर्थात् मकर सङ्क्रान्तिका दिन स्वयम्भू, भुइँखेलमा सम्यक पूजा गरी महादान गरिन्छ । यस अवसरमा राष्ट्रपति पनि उपस्थित हुने चलन छ ।

मैथिली संस्कृतिमा तिला सङ्क्रान्तिको नामले यस चाडलाई चिनिन्छ । यस दिन घरका मुख्य व्यक्तिले बिहानै स्नान गरी आआफ्नो कुलदेवताको विधिवत् पूजा गरिन्छ ।

पूजा गर्दा कुलदेवतलाई तिलको लड्डु, कोही चिउरामा सख्खर मिसाई नैवद्य चढाउँछन् । पूजा समाप्त भएपछि सबै परिवार बसेर तिलसख्खर प्रसादस्वरूप खाई आमाबाबुले आआफ्नो सन्तानलाई आशीर्वाद दिने चलन छ ।

यसरी मैथिली संस्कृतिमा मकर सङ्क्रान्ति मानमर्यादा, आस्था र आध्यात्मिकता बोकेको चाडका रूपमा रहेको छ । यस्तै मध्य तथा सुदूरपश्चिम क्षेत्रका थारू जतिले मकर सङ्क्रान्तिका दिन माघी भनेर मनाउँछन् ।

यस दिन उनीहरूले सांस्कृतिक, आर्थिक तथा सामाजिक महìव दिई यो चाड मनाउँछन् । माघी चाडको सांस्कृतिक पक्ष भन्नाले देवीदेवताको पूजाआजा, स्नान, घरको सरसफाइ हो ।

यस्तै आर्थिक पक्ष भन्नाले आगामी वर्षका लागि खेती, ऋण, सापटीबारे छलफल तथा निर्णय गरिन्छ । सामाजिक रूपमा घरपरिवारका सदस्य तथा दाजुभाइबीच सम्बन्धित विषयमा छलफल गरिन्छ ।

तीन दिनसम्म मनाइने यो चाडमा सुँगुरको मासु खाने, नाचगान गर्ने, भैलो खेली अर्थ सङ्कलन गर्नेजस्ता कार्यक्रम गरिन्छ । २०५७ सालमा कमैया प्रथा खारेज हुनुअघि यस दिन जमिन्दारसँग कमैया बस्नेबारे छलफल गरिन्थ्यो ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ ।

महाभारतको युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।

          January 15, 2022 9:41 am | प्रदेश तह,मुख्य समाचार,राष्ट्रिय समाचार,विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: