कांँग्रेसमा विवेकी कार्यकर्ता छन् भने गुटको नेताले गरेको आत्मसमर्पणमा प्रश्न गर्नुपर्छ : डा. हरि शर्मा, अध्येता (अन्तर्वार्ता)

January 13, 2022 11:25 am

डा. हरि शर्मा नेपाली राजनीतिको गहिरो अध्येता हुन् । उनले गिरिजाप्रसाद कोइरालाको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरेका थिए । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको पनि प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरे ।

कांग्रेसको सदस्यता नलिए पनि कांग्रेस निकट भएर हुर्किएका र कांग्रेससँगै जोडिएर काम गरेका शर्मासँग हामीले यसअघि बीपीको राष्ट्रिय मेलमिलापको नीतिका सम्बन्धमा कुराकानी गरेका थियौँ । उनै शर्मासँग त्यसबेला कांग्रेस महाधिवेशन केन्द्रित कुराकानी पनि भएको थियो । कांग्रेसको महाधिवेशनले राजनीतिमा कस्तो तरंग छोड्न सक्यो ? यसले कांग्रेसलाई आममानिससँग जोड्न सक्यो कि सकेन ? पार्टीको भविष्यप्रति कतिको आशा जगाउन सक्यो ? लगायत विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :  

कांग्रेस महाधिवेशनलाई कसरी मूल्यांकन गर्नुभयो ? 

यति लामो इतिहास बोकेको पार्टीको महाधिवेशनमा विचारको बहस नै भएन । शेरबहादुरजीको दुईतिहाइ, तीनतिहाइ भन्दै मिडियामा आइरहेको छ । त्यो दुईतिहाइभन्दा बढी मत पाएको व्यक्तिसँग इलेक्सन जिताउने कन्फिडेन्ट कति छ त ?

किनभने, उनले इलेक्सन जिताउनका लागि सभापति बनेको हो भनेका छन् । म प्रेसिडेन्ट भइनँ भने सरकार ढल्छ, म प्रधानमन्त्री भइनँ भने निर्वाचन जित्न गाह्रो हुन्छ भनेका हुन् ।

आन्तरिक चुनावमा प्रचण्ड बहुमत ल्याएका उनले राष्ट्रिय र स्थानीय चुनाव जित्न हो भनेपछि यो सत्ताकेन्द्रित होइन ? राजनीतिशास्त्रको विभिन्न परिभाषामा राजनीतिक दल भनेको सत्ताप्राप्तिका लागि संयन्त्र हो भनिएको छ । त्यो पनि बुझेको छु । मैले यो भन्न खोजेको होइन कि राजनीतिक दलहरू खाली सत्ताकै लागि बनेका छन् ।

अमेरिकामा डेमोक्र्याटिक पार्टीको प्रेसिडेन्ट को हो भनेर तपाईं–हामीलाई थाहा छ ? थाहा हुँदैन नि ! परिवर्तन पनि भइरहन्छ । राष्ट्रपतिको उमेदवार पनि दुई वर्षअघि हुने प्राइमेरीबाट जसले बढी मत ल्याउँछ र उसले राष्ट्रपतिको चुनाव जिताउने सामर्थ्य पनि राख्दछ ऊ हुन्छ । त्यसकारण दलको आन्तरिक चुनावले निर्वाचनमा परिणाम ल्याउन सकेन भने त्यसको के अर्थ हुन्छ भन्ने हो ।

तर, नेपालको सन्दर्भमा दलहरू सत्ताका लागि मात्र बनेका होइनन् । सामाजिक रूपान्तरणका निम्ति पनि बनेका हुन् । नेपालमा लोकतन्त्रको आउने–जाने प्रक्रिया भइरहेको छ । लोकतन्त्र हरण हुने र आउने जो भइरहेको छ र अधिनायकवाद देखापर्ने गरेको छ, यस्तो अवस्थामा दलहरूको काम सत्ताप्राप्ति मात्र होइन । लोकतन्त्रको आधारभूत तत्वलाई, संरचनाहरूलाई र विचारलाई पनि संस्थागत गर्दै लिएर जानुपर्छ भन्ने हो ।

तर, विचारको बहस र लक्ष्य निर्धारणजस्ता अभ्यास त भएनन् होइन ? 

त्यो देखिएन । त्यही भएर त पार्टी हुनुको अर्थ के हो भन्दै प्रश्नहरू छन् । पार्टीमा लाग्ने मान्छे (अन्यथा अर्थ नलाउने हो भने) पार्टीमा आफू अनुकूलका मान्छेका पंक्ति खडा गरेर निर्वाचनमा जाने गर्छन् ।

निर्वाचन केका लागि भन्दा (विशेषगरी माओवादीसँगको विस्तृत शान्ति सम्झौता पछाडि) संघीयता, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, संवैधानिक विचार र अवयव (विचार भनेको यिनै कुराहरू र अवयव भनेको यी संस्थाहरूलाई व्यवस्थित गर्ने संयन्त्र)लाई नेपाली कांग्रेसजस्तो पार्टीले कसरी हेर्छ ? जुन पार्टी ७० वर्षदेखि अनवरत लोकतन्त्रका लागि लडिरहेको छ । यो पार्टीले आफ्नो १४औँ महाधिवेशनमा के भन्दियो कि नीतिको बहस नै हुँदैन ।

संविधान बनेर कार्यान्वयन भएको पाँच वर्ष भएको छ । त्यसको कार्यान्वयन कस्तो भइरहेको छ ? त्यसमा सुधार जरुरी छ कि छैन ? संविधान जनताको जीवनस्तरसँग जोडिन सकेको छ कि छैन ? यी विषयमा विमर्श जरुरी नै ठानेन कांग्रेसले ।

नेपाली कांग्रेसको संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता के हो ? त्यो जग जाहेर हुनुपर्थ्यो । संवैधानिक मर्मभावलाई जसरी प्रतिविम्बित हुनुपर्थ्यो, त्यसो हुन सकेन ।

पाँच वर्षसम्म हामी कहाँ चुक्यौँ भनेर भन्न सक्नुपर्थ्यो । त्यो अवसर गुमेको छ । जसरी भव्य घर बनाएपछि रहँदाबस्दा त्यो घरमा आउने परिवर्तन र तपाईंको सोचमा पनि परिवर्तन आउँछ, यतापट्टि झ्याल राखेको भए हुन्थ्यो, यहाँ घाम आएन, पछाडि ठाउँ राखेको भए हुन्थ्यो, अथवा बाथरुममा पानी लिक भएछ, त्यसरी चर्चा गदै सुधारका प्रयास हुन्छन् नि घरमा । त्यस्तो अनुभूति संविधान कार्यान्वयनका अभ्यासमा पनि भएका हुन्छन् र त्यसमा यी यी कुरा सुधार जरुरी देखियो र त्यसलाई यो विधिबाट सुधार गर्ने हो भनेर भन्न सक्नुपर्थ्यो ।

त्यो कमजोरी कांग्रेसले १४औँ महाधिवेशनबाट छोडेको छ । यस्ता विषयले पनि चर्चा नपाउनु लोकतान्त्रिक पार्टीका लागि समस्या हो । घर भत्काउनुस् अर्कै बनाउनुस् भनेको होइन । तर, तपाईंलाई त्यो घरले सन्तुष्टि दिन सक्यो कि सकेन ? सकेन भने त्यसमा कस्तो परिवर्तन गर्नुहुन्छ ? मान्छेले वास्तु समेत परिवर्तन गर्छ, झ्याल हटाउँछ, रङ परिवर्तन गर्छ । संविधान जारी भएको पाँच वर्ष भयो ।

हामीले देख्यौँ, जसले यो संविधान लागु गरे उनीहरू नै संविधानप्रति इमानदार छन् कि छैनन् ? यता संविधान निर्माण र ०६२/६३ को जनआन्दोलनको नेतृत्व गरेको पार्टीले समेत बहस गरेन ।

संविधान जारी गरियो । सम्झौताको दस्तावेज भनियो संविधानलाई, कांग्रेस, माओेवादी वा अरू कोहीले भनेजस्तो पनि भएन । प्रचण्डले एक अन्तरक्रियामा भन्नुभयो– संविधान त सम्झौता मात्रै हो । हाम्रो त प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै लक्ष्य हो । त्यसैले दलहरू आ–आफ्नो उद्देश्यमा लागेको देखिन्छ नि होइन ?

उसो भने त सी चिनफिङले सोचेजस्तो शासन व्यवस्था लागु गरे भइगो नि त । जीवनपर्यन्त राष्ट्रपति हुने भन्छ । कसैले उसप्रति प्रश्न उठाउँदैन । हामीले खोजेको त त्यो होइन नि । मत–मतान्तरको बीचमा प्रतिष्पर्धाबाट नेतृत्व खोज्ने हो नि त ।

सम्झौता गरिसकेपछि पनि सम्झौताप्रति इमानदारिता त चाहियो नि ! कि भन्नुपर्‍यो कति समयका लागि हो यो सम्झौता ? भन्न सक्नुपर्‍यो कि १० वर्षका लागि हो यो सम्झौता त्यसपछि समाप्त हुन्छ भनेर ।

गाडीमा तपाईंको विश्वास छैन भने तपाईंलाई यात्राको आनन्द आउँछ ? मनको भूतले यति खान्छ कि गन्तव्यसम्म तपाईं यात्राको आनन्द लिनै सक्नु हुन्न । फेरि, यो संविधान र व्यवस्थाप्रति आश्वस्त गर्न सकेन भने त्यो नेतृत्व त कमजोर नेतृत्व भयो । फेरि, यो सम्झौता भनेको दफा–उपदफामाथिको सम्झौता हो र ? तत्वहरूमाथि त सम्झौता गर्नै पाउनु हुन्न ।

जस्तो : दल खोल्न पाउने स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, आधारभूत मानवअधिकारको स्वतन्त्रता, द्वन्द्वका घाउ मेटाउन सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ताको खोजबिन गर्ने आयोगहरूको कामलाई पूर्णता, पीडितहरूको पीडामा मलमपट्टी लगाउनुपर्ने हो कि होइन ? ती कुरामा जुनै सरकार आओस् न, १७ हजार मानिस मारिएका छन्, चाहे त्यो राज्य पक्षबाट होस् चाहे विद्रोही पक्षबाट । तिनीहरूलाई चाहे प्रचण्डले खोजेजस्तो समाज आओस् चाहे शेरबहादुरले खोजेजस्तो समाज आओस् । ती मानिसहरूका लागि खोइ यिनीहरू बोलेको ? त्यत्रो मान्छे त यिनीहरूको अनुकूलताका लागि मारिएका रहेछन भन्ने भयो नि त अब त । कोही कसैको अनुकूलताको निम्ति किन मर्ने ? जनताको बलिदानको अपेक्षा नेतृत्वले किन गर्ने ? त्यसो भएर जवाफदेहिताको प्रश्न, प्रतिनिधित्वको प्रश्नको त उत्तर खोजिनुपर्‍यो नि ।

नेपालको वस्तुस्थितिलाई हेर्दा नेपालको संरचनात्मक विभेदहरू हामीले जो देखिरहेका छौँ । जातको कुरो, अल्पसंख्यकको कुरो अन्य कुरो छ, त्यो कुनै व्यवस्था आयो भने आजको भोलि मलियामेट भएर जान्छ त ? जाँदैन नि । भनेपछि राजनीतिलाई समाजको धरातलीय यथार्थले गभर्न (नियन्त्रण, निर्देशन) गर्छ नि त ।

उदाहरणका लागि नेपालको उत्तर र दक्षिणसँगको सम्बन्ध रातारात परिवर्तन हुन्छ त ? हामी को हौँ, हामी केका लागि राजनीतिक रूपमा संगठित भएका छौँ र हामी हुनुको अर्थ के हो भनेर सोधियो भने आजको भोलि यो धरातलीय यथार्थ परिवर्तन हुन्छ त ?

सम्झौताको दस्तावेज भन्दाभन्दै पनि विश्वासको कुरा पनि हो नि । हामीले निर्माण गरेको राजनीतिक सम्बन्धहरू, प्रणाली र हामीले निर्माण गरेका संयन्त्र र संस्थाहरू जनताका निम्ति हुन् कि होइनन् ? त्यसमा विश्वास त दिलाउनुपर्‍यो ।

म निरन्तर बहस गर्न सक्छु, नेपालमा संघीयता चाहिन्छ कि चाहिँदैन भनेर । तर, एउटा संविधान मान्छु भन्ने नागरिक भएको हैसियतले म को हुँ भन्ने परिभाषा संविधानले गरेको छ कि म यो देशको नागरिक हुँ ।

म अर्को कुनै देश पनि जान सक्छु । तर, के हो भने मेरो त्यो देशसँगको सम्बन्ध, राजनीतिक सम्बन्धले गर्न सक्छु । त्यो मानेमा म नेपाली हुँ, यो मेरो देश हो । हामीले निर्माण गरेका संस्थाहरू चलाएमान छन् । समयानुसार परिवर्तन हुँदै छन् । तर, यसको महत्त्वबारे हामी एक ठाउँ उभिएका छौँ त भन्नुपर्‍यो नि त ।

कांग्रेसको महाधिवेशन भयो । विगतमा के–के काम गरेको थियो, अहिले गर्नुपर्ने काम त्यस्तो छुटायो भन्ने कुराचाहिँ के छ ? 

यो संविधानलाई अरूले सम्झौताको दस्तावेज भने पनि मूलतः नेपाली कांग्रेसको नेतृत्वमा भएको शान्ति सम्झौता, नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलन र नेपाली कांग्रेसकै नेतृत्वमा निर्माण भएको संविधान । यो प्रमुख दायित्वबाट कांग्रेस कसरी पन्छिन सक्छ ?

जस्तो : यो पार्टीले आफ्नो आन्तरिक संरचनालाई संघीय लोकतान्त्रिक गणतन्त्रअनुरूप बनाउने भनेर अभ्यास गरेको छ । बनायो नि । हालाकि, त्यो कति महँगो छ, कति जटिल छ भन्ने कुरा निर्वाचन प्रणालीले नै देखायो । यसमा छुट्टै बहस होला । तर, त्योसम्म त गर्‍यो कांग्रेसले भनेर हामीले एप्रिसियट गर्नुपर्छ ।

आफ्नो आन्तरिक संगठनलाई मुलुकमा भएको राजनीतिक व्यवस्थाको प्रतिनिधित्व दिन, शरीरमा आत्मा भर्नको निम्ति यति लामो अभ्यास त गर्‍यो नि ।

मानिसलाई भन्नुपर्‍यो कि तलैबाट यति लामो निर्वाचन गर्ने प्रक्रिया किन रोज्यो ? कांग्रेसले भनेर खुला रूपमा जनतासँग संवाद गरेको खोइ त ? फलाना दाइ उठ्नुभा’छ, फलाना दिदी उठ्नुभा’छ भनेर भोट हाल्न आउनेबाहेक के भयो त ?

अझ सबैभन्दा विडम्बना त समावेशी भनिको कोटामा को आए ? आरक्षणको मर्मअनुसार हाम्रो प्रतिनिधित्व भएको छ भनेर सम्बन्धित पक्षले हेर्न सक्छ त ? उनीहरूलाई ऐना देखाउने कसले हो ? यसको विवेचना कसले गर्ने हो ? तिमीहरू लोभीपापी हौ भनेर कसले भनिदिने ?

मैले यसरी भनिरहँदा कुनै व्यक्तिविशेषलाई आक्षेप लाउन खोजेको होइन । नेपाली कांग्रेसलाई धन्यवाद दिन्छु । एमालेले पनि गगन (थापा)कै शब्द सापटी लिँदा ‘ओलीवेशन’मा केही गरेको छ । समावेशी कोटामा आएका मान्छे समावेशिताको मर्मअनुरूप नै आए त । को आए त्यो अनुहार मलाई मन परेन भनेर होइन । तर, त्यसले समावेशिताको भावनाको प्रतिनिधित्व गर्‍यो ? त्यो गर्‍यो वा गरेन भन्ने कुरा जसले भोट हाले तिनीहरूले नै भन्लान् । तर, हामी बाहिर बसेकाहरूले के भन्नुपर्‍यो भने समावेशिताको मर्म रिफ्लेक्ट भयो कि भएन न त ?

कांग्रेसले त चाँडै नीति अधिवेशन गर्ने भनेको छ नि ? 

धेरै मानिसले नेताहरूबाटै नीति आउने हो भने नि त । त्यसमा पनि मैले प्रश्न गरेँ । साथीहरूले प्रतिप्रश्न गरे कि हरि शर्मालाई अमुक नेता मन पर्दैन, त्यसकारण यस्तो भन्दै छ । तर, नेतालाई चिन्ने नै नीतिबाट हो त । नेतालाई चिन्ने उसको क्रियाकलापबाट हो ।

तपाईंले कुनै मान्छेको फोटो देखाउनुभयो भने त्यो मान्छे यो हो भनेर कसरी भन्ने त ? त्यो मान्छे सार्वजनिक जीवनमा रहिरहेको हुनुपर्छ, समाजिक जीवनमा हाम्रो स्मृतिमा रहने काम गरेको हुनुपर्छ । हाम्रो स्मृतिमा त्यो मान्छेको करनी र कथनी कतिको फरक छ त्यो आउनुपर्छ । र, तत्कालीन रूपमा के भनिरहेको छ त्यो आउनुपर्छ । कुनै पनि नेतृत्वको चयन उसको विश्वसनीयताका आधारमा हुन्छ । उसले भन्ने गर्ने र गरेको कामका आधारमा हुन्छ । उसको विगतको इतिहास र भविष्यप्रतिको आशा हेरेर चयन हुन्छ नि ।

त्यसरी हेर्दा पनि शेरबहादुर देउवालाई त कांग्रेसका महाधिवेशन प्रतिनिधिले दुईतिहाइ बढीको टिमसहित जिताएका छन् । किन जिताए होलान् जस्तो लाग्छ ? 

किन रुचाए होलान् भन्दाखेरी फेरि प्रस्ट भन्छु तितो होला, यो अधिवेशनको आर्किटेक्चर (संरचना) नै गुट–उपगुटको (गुट–उपगुट निर्वाचनका क्रममा हरेक ठाउँमा हुन्छ । तर, गुट–उपगुटको नाममा संरचना नै छ) भयो ।

तपाईंले नै समाचार लेख्नुभएको छ । डडेलधुरामा शेरबहादुरविरुद्ध अनशनमा बस्नेले विमलेन्द्रलाई सपोर्ट गरे र प्रकारान्तरले विमलेन्द्रले शेरबहादुरलाई सपोर्ट गरे । यो आर्किटेक्टर बुझ्नु जरुरी छ ।

संस्था भनेको के हो ? त्यहाँ कसको वर्चस्व छ ? साधन, स्रोतको, सत्ता, शक्तिको ? त्यसलाई कसरी परिचालन भयो भनेर पनि हेर्न सकिन्छ ।

भनेपछि कांग्रेसको नतिजा पूर्वअपेक्षा अनुरूप नै हो ? 

मान्छेले भनिरहेकै थिए त, अरूले सपोर्ट गरे शेखरले जित्छ, होइन भने जित्दैन भनिरहेकै थिए । त्यो किन भनिरहेका थिए त ?

समावेशिताको मर्म अहिले कांग्रेसको समावेशी अभ्यासले समात्यो ? 

नेपालको समाजिक परिवेशमा यसमा भएका संरचनात्मक विभेदका कारण जो मान्छेहरू दलको पहुँचभन्दा बाहिर छन्, उनीहरूलाई समेट्न समावेशी लोकतन्त्र अभ्यास गर्ने हो । लोकतन्त्रमा एउटा जटिल प्रश्न पनि छ । आवाजको प्रतिनिधित्व गर्ने कि संख्याको भनेर । मेरो त मान्यता के छ भने एउटा मान्छेले पनि दुःख छ भन्यो भने दुःखको निवारण हुँदैन । एउटा मान्छेले पनि बहिष्करणमा छु भन्छ भने त्यसले प्रतिनिधित्व सम्बोधन गरेको ठहरिँदैन ।

हाम्रोमा हेर्नुभयो भने जातजातिको नाममा ९० को दशकदेखि नै प्रतिनिधित्व र आरक्षणको कुरा हुँदा हुनेखाने वर्चश्वशाली समूह समावेशी गरिनुपर्छ भन्ने समूहभित्र पर्‍यो । जस्तो : मेडिकल डाक्टरका सिटहरू काठमाडौंका नेवारहरूले पाए, जो जनजातिको सिटको थियो । भनेपछि संरचनात्मक लाभ जसले लिइरहेका छन्, माइनोरिटिज पोलिटिक्समा उनीहरू नै वर्चस्वशाली हुन्छन् ।

माइनोरिटिजमा पनि संख्यात्मक रूपमा केही बलशाली छन् । दलितहरूको समूहमा हेरियो भने कुनै खास दलित समूह अरू दलित समूहभन्दा जहिले पनि अगाडि छ । संख्याका रूपमा केही व्यक्तिहरू शक्तिशाली छन् । जस्तो : चेपाङको आवाज कति सुनिन्छ, संख्या त धेरै छैन त ।

लोकतन्त्रमा हामी संख्याको कुरा गरिरहेका छौँ । संख्यात्मक रूपमा अधिवेशनमा चेपाङ आउन सक्ने ठाउँ त छैन । त्यसकारण लोकतन्त्रमा आवाजको प्रतिनिधित्व महत्त्वपूर्ण कुरा हो ।

हाम्रो देशमा दुई जात, एउटा मेजोरिटी र अर्को माइनोरिटी भन्ने त छैन । हाम्रोमा त धेरैवटा समुदाय अल्पसंख्यकको रूपमा छन् । केही समुदाय मात्र बहुसंख्यक छन् । हाम्रो शासन चलाउन र न्याय गर्ने सन्दर्भमा यो जटिल अवस्था हो । समाजशास्त्र र राजनीतिक दर्शनमा पनि आवाज ठूलो हुन्छ या संख्या ठूलो हुन्छ भन्ने सन्दर्भमा बडो द्वन्द्व छ ।

तर, हामीले केलाई महत्त्व दिने ? बीपीले वाणी थिचिएका जनताका लागि लोकतन्त्र हो भन्नुभएको छ । वाणी थिचिएकाहरूको प्रतिनिधित्व कसरी हुन्छ भन्ने नै समावेशी सिद्धान्त हो । पञ्चायतकालदेखि नै जुन समुदायको बहुमत छ, त्यो ठाउँमा उसैलाई टिकट दिएर जितेको त हामीले देखेकै छौँ त ।

०६२/६३ सालको जनआन्दोलनपछि संविधान बन्ने सन्दर्भमा समावेशिता पहिचानमा गयो । आर्थिक वर्ग सामाजिक पहिचानमा गयो– हुने र नहुने, गरिखाने र बुर्जुवा भनेर गएन ।

अहिले पनि गगनले सामाजिक लोकतन्त्रको कुरा गरेका छन् । उनले त्यसमा भनेका सामाजिकको बनोट के हो भन्ने कुरामा प्रस्ट्याउन जरुरी देखिएको छ । उनले सामाजिक लोकतन्त्रको परिकल्पना गर्दा नेपालको सामाजिकको बनोट के हो त ? हिमाल, पहाड, मधेस/तराई हो कि ? जातजाति भाषाभाषी हो कि ? के हो त सामाजिक बनोट ?

पश्चिमका सन्दर्भमा सामाजिक भनेको वर्किङ क्लास थियो । किनभने, औद्योगिक क्रान्तिपछि वर्किङ क्लासले इम्प्लोयरसँग नेगोसिएट गर्‍यो, स्टेटले त्यसमा मिडिएट गर्‍यो, त्यहाँ सोसल डेमोक्रेसी त्यसरी आयो । गगनले नयाँ कुरा गर्न खोजेको छन् । तर, त्यसलाई परिभाषित गर्ने चुनौती मैले देखेको छु ।

समावेशी लोकतन्त्र भनेर सुरुवातदेखि नै समावेशी कोटालाई मजाक बनाइयो । त्यही कुरा अहिले आएर कांग्रेसको समावेशी कोटामा देखियो । संविधानको स्वामित्व लिने पार्टीको अभ्यास हेरेपछि समावेशिता यस्तै रहेछ भनेर बुझ्ने ? 

त्यसमा चाहिँ के छ भने प्रेसले, नागरिक समाजले, पढेलेखेका मान्छेले र दलभित्रकै पनि प्रगतिशील पक्षले हामीले खोजेको समावेशिता यही हो त ? समावेशीकरणलाई टेक्निकल, मेकानिकल रूपमा सत्तारोहण र सत्ता मजुबदीकरणको साधन मात्र बनाउने कि साँच्चिकै सामाजिक रूपान्तरणका पक्षमा लिने भन्ने कुराको चुनौती छ । त्यही भएर विचारविमर्श र विनिमयको प्रोसेस हुनुपरूयो, पार्टीका अधिवेशनहरू र कार्यक्रमहरू पनि ।

एउटा सानो उदाहरण दिन्छु । अहिलेको महाधिवेशनबाट आएको नेतृत्वले यदि विचार अधिवेशनमा जाने हो भने भोलिदेखि त अहिलेको संविधानमा आएका क्षयीकरण र वर्तमान समाजको आवश्यकताका विषयमा उनीहरूको वडा समितिसम्म छलफल लिएर जानुपर्‍यो ।

छलफल गर्न सक्ने बौद्धिक क्षमता उनीहरूमा हुनुपर्‍यो । बाहिरबाट बोल्न ल्याएर एबीसीडीलाई बोल्न लाएर हुँदैन । पार्टीपंक्ति र नेतृत्व एकै ठाउँमा बसेर कुनै किसिमको पूर्वाग्रह, दुराग्रह नराखीकन छलफल गर्न सक्नुपर्छ । सिक्ने, सिकाउने अभ्यास हुनुपर्छ ।

नेपाली कांग्रेसमा मात्र होइन, यो अरू दलमा पनि लागु हुन्छ । उनीहरूले आफ्नो वैचारिक स्पष्टताका निम्ति दिमागको ढोका र झ्यालहरू कति खोल्छन् र मुलुकको परिस्थितिलाई उनीहरूले कसरी हेर्छन् भन्ने कुरा उनीहरूको विगतबाट त म आश्वस्त छैन । तर, बाध्यात्मक परिस्थिति आउँदै छ, उनीहरूमा परिवर्तन वा ताजगी वा पुनर्ताजगी पनि आउनैपर्ने हुन्छ ।

उनीहरूको विगतबाट यति निराश हुनुहुन्छ फेरि उनीहरूसँगै आशाचाहिँ राख्दै हुनुहुन्छ ? 

मलाई के लाग्छ भने यदि यिनीहरुले सकेनन् भने समय परिस्थिति र मानिसहरूमा जुन किसिमको विचार र शंकाहरू उब्जिरहेका छन् (शंका सधैँ नकारात्मक हुँदैन) । शंका भनेको प्रश्न पनि हो । प्रश्नले उत्तरहरूको खोजी गर्छ । उत्तर खोजी गर्दा मान्छे स्वतः चलायमान भएर जान्छ ।

इतिहास हेर्दा के देखिन्छ भने बडे–बडे साम्राज्यहरू, बडे–बडे संस्थाहरू धरासायी भएर नयाँ बनेका छन् । नेपालमा आजभन्दा ७० वर्ष अघि बनेको पार्टी र नेपालको प्रजातान्त्रिक आन्दोलनमा गौरवशाली इतिहास बनाए पनि नेपाली कांग्रेस अपरिहार्य होइन ।

हामीले देख्यौँ, भोग्यौँ, केही समय काम गर्‍यौँ, त्यस अर्थमा हामीलाई माया लाग्नु एउटा कुरा होला तर, यसले आफूलाई समयानुकूल परिमार्जन गर्न सकेन भने नेतृत्व जतिसुकै साधनस्रोत सम्पन्न भए पनि बडे–बडे पार्टीहरू, व्यक्तिहरू सिभिलाइजेनसँगै ढलेको हामीले देखेका छौँ । नेपाली कांग्रेस वा नेकपा एमालेले वा माओवादी केन्द्रले आफूलाई समयानुकूल बनाएनन् भने यिनीहरूको अस्तित्व संकटमा पर्छ ।

अहिले हेर्नुस् त प्रचण्डकै हालत के छ ? कुनै समय उनको नाम लिँदा पनि सारा मान्छे थर्कमान हुन्थे । सिक्लेसबाट एउटै कमिजमा प्रचण्ड र बाबुरामलाई कृष्ण सिटौलाले हेलिकोप्टरमा बालुवाटार उतार्दा उनको क्रेज कस्तो थियो ? अहिले कहाँ पुगेको छ ?

इतिहास बडा निर्मम हुन्छ । इतिहासको परीक्षा वर्तमानले लिन्छ । वर्तमानको गति भविश्यतर्फ भएन भने मलियामेट भएर जान्छ । यसकारण मलाई के लाग्छ भने विचार र नेतृत्वको सम्बन्ध अन्योन्यास्रित हुन्छ ।
त्यही भएर समावेसी भनिएको हो । विचारमा पनि समावेसी हुनुपर्‍यो । विचारलाई निषेध गर्‍यो भने अहिलेको समयमा कोही पनि मान्छे पर्खेर बस्दैन ।

कांग्रेसमै चाहिँ नयाँ नेतृत्वबाट कतिको आशा राख्न सकिन्छ ? 

मैले भनिहालेँ नि । यो नेतृत्वको विगत र वर्तमानलाई हेर्दा धेरै आशावादी हुने ठाउँ छैन । तर, यो गतिशील हुने हो भने यसलाई पनि अवसर चाहिँ छ । उनीहरूले आफूले भनेका कुराप्रति प्रतिवद्ध भएर दिमागको ढोका खोल्दै कांग्रेस कसरी अघि बढाउने भनेर विचारको विनिमय गर्नतर्फ लाग्न सक्छन् ।

त्यसैले विचारको प्रवाह कसरी गर्छ, मत मतान्तरको व्यवस्थापन कसरी गर्छ ?  मतान्तरलाई निषेध गर्छन् वा समायोजित गर्छन् ? एकोहोरो राग अलाप्छन् या सबै रागबाट सिम्फोनी क्रियट गर्छन् ? त्यसमा भर पर्छ ।

कांग्रेसमा गगन–विश्वको विजयले एउटा तरंग ल्याएको छ । यसले निर्वाचनमा पनि केही असर गर्ने देख्नुहुन्छ ? 

अब यो नेतृत्व कत्तिको खारिन्छ भन्नेमा भर पर्छ । स्थानीय निर्वाचन त अब वैशाखमा आइसक्यो  । त्यतिखेरसम्म नेपाली कांग्रेसले आफ्नो अधिवेशनमा सिर्जना गरेको जुनखाले पनि तरंग होस् वा १५ मिनेटको पहिलो बैठकको निर्णय होस्– साच्चै यसले मान्छेलाई मोटिभेट गर्छ त ? तरंगित बनाउँछ त ? त्यसमा भर पर्ने हो ।

यो नेतृत्वको परीक्षा एक वर्षसम्म कसरी जान्छ, आफूले भनेका विषयमा खरो उत्रिने कुरा त हेर्न बाँकी छ । तर, स्थानीय निर्वाचनले मर्निङ शोज द डे भनेजस्तै केही कुरा देखाउला ।

तर, फेरि पनि वैचारिक धरातलमा म जस्ता मान्छेका लागि ‘मेरा बाले भोट हाल्नुभएको थियो, मैले पनि हालेको थिएँ, अर्को ठाउँ पनि छैन भनेर जाने मानिसहरू छन् भने अर्को कुरा हो । होइन यिनीहरूलाई केका लागि भोट हाल्ने, यिनीहरू के का लागि बनेका हुन्, के गर्छन् ? भनेर एकछिन घोत्लिने मान्छे टक्क पोलिङ बुथ अगाडि गएर अडियो भने त समस्या हुन्छ ।

महाधिवेशनकै कुरा गर्दा उत्साह एकता रुपान्तरण भन्ने नारा बनाएको कांग्रेसको नेतृत्वले पहिलो चरणमा नसकेर दोस्रो चरणमा हराएको निकटतम प्रतिद्वन्द्वीलाई वरीयतामा निकै पछि पारिएको भनेर एक समूह असन्तुष्ट छ । यसले के संकेत गरेको छ ? 

यसमा धेरै कुरा भन्दिन । तपाईँले प्रश्न गर्नुभयो राख्नुस् । तर, यसैले देखाउँछ भविश्यको गति । विगत वर्तमान देखिएकै छ ।

यसैले भविश्य देखाउँछ । यति अनुदार हुने हो भने उदार हृदयले विचार विमर्श हुन सक्छ कि सक्दैन ? उनी किम इल सुङ हुन कि नेपालको प्रजातान्त्रिक इतिहासको झन्डा बोक्ने प्रतिनिधिमूलक पार्टीको नेतृत्व ?

जहाँ विचार विमर्श महत्वपूर्ण छ । त्यो पनि आजको सन्दर्भमा । हिजो बीपी कोइराला जस्तो नेतृत्व हुँदा पढालिखा मोडनिष्ट, इन्लाइटेन मानिसहरू थिए र उनले लेखेको कुरामा हामी सबै विश्वास गर्थ्यौँ ।

विगतमा के लेख्या छन्, के बोल्या छन् त हाम्रो अगाडि छ नि त । कुन चाहिँ विचार प्रतिपादन गरेका छन् यिनले ? कम्युनिष्ट पार्टीमा त देखाउनका निम्ति मात्र भए पनि नेतृत्वले विचार प्रस्तुत त गर्छ । त्यसको अपनत्व पनि लिन्छन् । नेपाली कांग्रेसको अहिलेको केन्द्रीय समितिमा कसले पार्टीको दस्तावेज तयार पारेको छ र विचारका लागि प्रस्तुत गरेको छ ? त्यही भएर मैले गगनको नाम लिएको हुँ । जसले एउटा विचार त अघि सार्‍यो । त्यो पूर्ण छ, अपूर्ण छ, त्यसलाई जनताले स्वीकार गर्छ, अस्वीकार गर्छ पछिको कुरा हो । पार्टीले स्वीकार गर्छ गर्दैन नगर्दासम्म त्यो गगन थापाको मात्रै विचार हो ।

गगनसँग चाहिँ आशा छ देशलाई ? 

होइन । तर, उनले बाटो त देखाउने प्रयत्न गरे । प्रतिकूल परिस्थितिमा पनि उभिए । गएको तीनवर्ष संसदमा कसको आवाज सुनियो ? उनै बोलेका होइनन् । हामी सबैले देखेको होइन त ? कोरोनाकालमा पनि सरकारका विषयमा सबैभन्दा बढी आवाज उठाउने उनै होइनन् । कसरी बोलिरहेका थिए, उनको ऊर्जा कहाँबाट आउँछ उनैले जानुन् तर, रेडियो खोल्दा, टेलिभिजन हेर्दा, पत्रपत्रिका पढ्दा त उनकै नाम आउँथ्यो नि । सरकारलाई निरन्तर प्रश्न गरिरहेका थिए, विपक्षीको त्यसबेला धर्म निर्वाह गर्ने अर्को को थियो त ?

एउटै विपक्षी देखिएको थियो संसद्मा पनि । अरु त सरकारसँग मिलेर संवैधानिक अंगमा नियुक्ति भागबण्डामा लागेका होइनन् र ? निरपेक्ष भएर भन्नुपर्छ । मलाई भन्लान् कि यसलाई पुराना कसैसँग काम गरेको थियो त्यसैले यो नेतृत्व यसलाई चित्त बुझेन भनेर । तर, सामान्य मान्छेलाई सोध्नुस् नेपाली कांग्रेसबाट संसद्मा को बोलिरहेको थियो ?

कोरोना महामारीका बेलामा सरकारलाई यसरी सम्बोधन गर्नुपर्छ भनेर सकारात्मक डकुमेन्ट लिएर गगन थापाले सार्वजनिक गरेका हुन् नि होइन र ? अरुको त मैले पढिन । तपाईँहरूले पढेको भए मलाई बताइदिनुस् ।

त्यसैले यत्तिको मान्छेले हाम्रा कुरा राख्छ भन्ने हो । मेरो कुरा होइन कि जनताले हाम्रा कुरा राख्छ भनेर विश्वास गर्ने अवस्था छ ।

शेरबहादुर देउवाका कारण कांग्रेस बर्बाद हुँदैछ भन्ने र केही वर्षदेखि शेरबहादुर देउवाकै कारण कांग्रेस बर्बाद भयो भन्दै आएकाहरूको पनि गठजोडबाट देउवा निर्वाचित भएका छन् । यसले कांग्रेसको प्रतिपक्षी विचारलाई उठन दिन्छ भन्ने लाग्छ ? 

तपाईंको प्रश्नले नै उत्तर बोलिसकेको छ । मेरो उत्तर हाल्नु जरुरी देख्दिन यसमा ।

देउवाका विरुद्ध केका लागि आन्तरिक निर्वाचनमा खडा भएका थिए ? कस्तो परिस्थिति आयो र फेरि एक हुन जानुपर्‍यो र परम्परा जोगाउने नाममा एकैठाउँ बस्नुपर्‍यो ? त्यो काम जो मानिसले गरे उनीहरू सार्वजनिक जीवनमै छन् । सबभन्दा पहिलो कार्यकर्ता पंक्तिले उनीहरूसँग जवाफ माग्नुपर्छ ।

हामीलाई आएर भन्नुभएको थियो कि वर्तमान सभापतिबाट अब केही हुँदैन मलाई भोट दिनुस् भनेर । तपाईं उठ्नु भएको पनि थियो । फेरि किन उहाँलाई नै समर्थन गर्नुभयो भनेर ?

यदि विवेकशील र जागरुक कार्यकर्ता छन् भने उनीहरूले गुटका नेताहरूलाई, उमेदवारी दिएर आत्मसमर्पण गर्नेहरूलाई प्रश्न गर्नुपर्छ । हामी बाहिर रहेकाहरूलाई त विश्मय मात्रै भएको छ । यो के भइरहेको छ र किन भइरहेको छ भन्ने मात्रै लागेको छ ।

यो भन्दा अगाडि बढेर हामी सार्वजनिक टिका टिप्पणी गर्ने मान्छेले यदि षडयन्त्रको साहरा लिनुपर्‍यो भने फलानाले यसो गर्‍यो कि बाहिरकाले भनिदिए कि ? भित्रकाले भनिदिएकि अकुत पैसाको चलखेल भयो कि भन्ने कुरालाई प्रमाणित गर्न सकिँदैन । विषयहरूमा टिकाटिप्पणी गर्दा हामीसँग यथेष्ठ प्रमाण हुनुपर्छ ।  त्यो मसँग छैन । किन गए, गठजोडको आधार के हो ?

बाह्रखरी अनलाइनबाट

          January 13, 2022 11:25 am | अन्तर्वार्ता,मिडियाबाट साभार

प्रतिकृयाहरू :

समाचारहरु: